आमाले मलाई गल्ती गरिस् भनेर पिट्नै लाग्दा,
फेरि यस्तो कहिल्यै गर्दैनिन् छोरीले भनेर सधैं बचाइदिँदा पनि,
बाबालाई माया देखाउनै आउँदैन कसरी भनूँ म,
अनि बाबालाई नै मेरो पहिलो प्रेम किन नभनूँ म ?
आफूले काम भनेसी रातको ९, बिहानको ५ नदेख्ने
तर, मेरो चाहिँ निद्रा बिग्रिन्छ कि भनेर ११ बजेसम्म पनि केही नभनी सूत्त नदिने,
मलाई भने दशैं आउन भन्दा ३ महिना अघिदेखि नै यसपाली के किन्छउ भनि सोध्ने,
अनि आफूले चाहिँ नयाँ छ अझै भनि पोहोर कै कपडा लगाको देख्दा–देख्दै पनि,
बाबालाई माया देखाउनै आउँदैन कसरी भनूँ म,
अनि बाबालाई नै मेरो पहिलो प्रेम किन नभनूँ म ?
आफ्ना बालापनका सम्पूर्ण व्यथा मलाई कथा सरह सुनाउनुहुन्छ,
भारतमा बितेको बाल्यकालको दुःख, सुखका सबै पलहरु मुस्कुराउँदै बताउनुहुन्छ,
परिस्थिति र समयले गर्दा कति रहर र सपनाहरु त अधूरा नै रहे भन्नुहुन्छ,
अनि प्रत्येक गर्मीको साँझ बाबाको कपडा पसिनाले निथ्रुक्क भिजेको देख्दादेख्दै पनि,
बाबालाई माया देखाउनै आउँदैन कसरी भनूँ म,
अनि बाबालाई नै मेरो पहिलो प्रेम किन नभनूँ म ?
आमाले गरेका दुःख र सहेका पीडा त सायद सबैका मुखबाट सुनेँ,
तर, बाबाको बलिदान र त्याग चाहिँ बाध्य भएरै भएपनि आफैंले बुझें,
बाबाको बढ्दो उमेरसँगै सेता भइसकेका कपाल र चाउरी पर्न थालेको गाला देखेँ,
अनि मेरो अस्तित्व नहुँदा देखि आजसम्म मेरो भार बोकेको बुझ्दा बुझ्दै पनि,
बाबालाई माया देखाउनै आउँदैन कसरी भनूँ म,
अनि बाबालाई नै मेरो पहिलो प्रेम किन नभनूँ म ?
म प्रत्यक पाइलामा हार मानेर फेरि उठ्न डर मान्दा,
बाबाले पटक–पटक नानु मिहिनेत गर्दै गर, सफलता अवस्य नै हात पर्छ भनि नथाक्दा पनि,
बाबालाई माया देखाउनै आउँदैन कसरी भनूँ म,
अनि बाबालाई नै मेरो पहिलो प्रेम किन नभनूँ म ?
-स्वीकृती शर्मा, नेपालगन्ज