के महिलाहरू स्वतन्त्र छन् ?
के उनीहरूको स्थिति राम्रो छ ?
म महिला रे,
बाबा आमाले भनेको,
समाजले मानेको,
समाजको डरले पछाडी धकेलिएको
पुजापाठ गर्न सबैले छानेको,
दुःख गरेर पढ्दा पनी
पढाई भन्दा दाईजोमा धकेलिएको ।।
महिला र पुरुष एकै समाजका समान सदस्य हुन् । मानव सृष्टि र समाजको गतीशिलताका लागि यिनीहरुको समान तथा अनिवार्य योगदान छ । एउटाको अस्तित्व विना मानव संरचना नै असम्भव छ । महिला र पुरुषबीच जैविक भिन्नता बाहेक कुनै असमानता छैन । सामाजिक विभेद, समाजिक भूमिका, व्यवहार, संस्कृति र परम्पराका कारण असमानता, विभेद, बहिष्करण विद्यमान रहेको छ । महिलामाथि विभेद हुनुमा पित्तृसत्तात्मक सामाजिक बनावट, अशिक्षा, अज्ञानता, परम्परागत हानिकारक अभ्यास, मूल्य मान्यता तथा महिलालाई कमजोर वर्गको रुपमा हेरिने लैङ्गिक भूमिका तथा दृष्टिकोणको ठूलो भूमिका रहेको छ ।
महिला वा स्त्री वा नारी (अङ्ग्रेजी Woman, वोमन) मानव को स्त्रीलिंग जाती हो । जस्को व्यवहार पनि स्त्रीकै हुन्छ । यो शब्द सम्पूर्ण स्त्री वर्गलाई दर्शाउनको लागि प्रयोग गरिन्छ, जस्तै : नारी–अधिकार ।
मलाई महिला हुनुमा गर्व छ । तर, मलाई मेरो देशका हजारौं भ्रष्टाचारी राजनीतिज्ञहरू भएको देशमा बस्न गर्व छैन । महिनामा हजारौँ र लाखौं लाख तलब खाने राजनीतिज्ञहरू देशप्रतिको जिम्मेवारी समेत पुरा गर्न नसकेको अवस्थामा हाम्रो देश नेपाल पुगेको छ । महिला, महिलाका अधिकार भन्दै ठुलोठुला गफगाफ दिने हाम्री राष्ट्रपतिसँग महिलामा भइरहेका हजारौं महिला हिँसा, हजारौं “ब्अष्म ब्ततबअप“ को जवाफ छैन् ।
परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । घरेलु हिंसाका कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू वञ्चित छन् । आफ्ना अधिकारकालागि अहिलेसम्म महिलाहरू आफैँसँग लडिरहेका छन् । एकातिर हाम्रो सपना सुन्दर देशको, एकातिर हामी महिलामा भइरहेको हिँसा, र असुरक्षाको लडाईं ।
महिलालाई शिक्षा दिलाउन सामाज र समाजका हरेक मानवले सोच्नु पर्ने कुरा हो । नारी समानता र स्वतन्त्रताबारे यहाँ चर्को स्वरमा भाषण हुन्छन् । महिलाअधिकारका विषयमा ठूला होटलमा सेमिनार हुन्छन् । यस्ता कार्यक्रमका सुझाव, निष्कर्ष र प्रतिवेदन कहिल्यै कार्यान्वयन हुँदैनन् । महिला सहभागिताका प्रसंग धेरै ठाउँमा उठिरहेका छन् ।
नेपाली नारीको भोलिको अनुहार कति हँसिलो हुन्छ, हेर्न बाँकी नै छ । कतिपय घरहरूमा छोरा कम्प्युटर, मोबाइल, किताबमा बेस्त हुन्छ । भने छोरी भान्सा– कोठा, कुचो लाउन र पुजापाठ गर्न धकेलिएको हुन्छन् । समय परिवर्तनशील र गतीशील छ । समयको परिवर्तनशीलता र गतीशीलता संगसंगै मानव समाज र सभ्यताहरूको परिवर्तन हुंदै आएका छन् । तर, अहिलेसम्म महिलाप्रतिको सोँच न त, पुरूषहरूको परिवर्तन भयो न त समाजको, न त स्वयम महिलाकै अनि देश त अझैं ठुलो कुरा भयो । समाजका हरेक क्षेत्रमा अघि बढ्न खोजीरहेकी महिलालाई ‘शिक्षा, अधिकार र सम्मान’ आफ्नै परिवारले दिएको छैन् ।
नेपालको सन्दर्भमा महिला अधिकारबारे चर्चा गर्दा विगतको तुलनामा कानूनी रूपमा महिला केही सशक्त पक्कै भएका छन् । कानूनले नै ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेको छ । सम्पत्तिमा छोरासरह छोरीको पनि हक सुनिश्चित गरिएको छ । सन्तानलाई नागरिकता दिलाउने विषयमा पनि महिलालाई कानूनले अधिकार दिएको छ । तर, व्यवहारमा भने यसलाई कति उतारिएको छ, त्यसलाई खोज्न टाढा जानु पर्दैन । नारीलाई अबला र कमजोर ठानिन्छ । नारीलाई केबल बच्चा जन्माउने यन्त्र मात्र ठान्ने अनि कुवाको भ्यागुतोजस्तो बनाएर सधैँ चुलो चौकोमा मात्र सीमित राख्ने प्रवृत्ति अझै विद्यमान छ ।
एउटै घरपरिवारमा पनि दाजुभाइ झोला बोकेर विद्यालय जाने र दिदी बहिनी अँध्यारो मुख लगाउँदै डोको र नाम्लोसित जङ्गलतर्फ जानुपर्ने पक्षपातपूर्ण व्यवहार एउटै गर्भबाट जन्मिएका आमाबुबाका सन्तानका लागि भए गरेको देखिन्छ । जुन मानवका लागि अशोभनीय कुरा हो । अभिसाप हो । अर्काको घरमा जान, अर्काको नासो भन्दै छोरीलाई विद्यालय नपठाएर नारी शिक्षाबाट विमुख बनाउँदा आमा बुबाको मुटु पनि चसक्क हुनुपर्ने हो । तर, त्यसो हुदैन । समाजमा व्याप्त यो विडम्बना हटाउन नारीलाई आत्मानिर्भर तुल्याउने शिक्षा दिनु आवश्यक छ ।
यस अर्थ श्रीमानले श्रीमतीलाई, परिवारले छोरीलाई, सासूले बुहारी वा बुहारीले सासूलाई विभेद गर्दा त्यहाँ भएको हिंसाले सो परिवारलाई कमजोर बनाउँछ । परिवार कमजोर हुँदा समाज हुँदै देश मन्दविषको सिकार हुन पुग्छ । यही कुरा कुनै परिवारमा पुरुषमाथि पनि महिलाहरूले गरिरहेका हुन्छन् । क्षणिक आनन्द वा आवेगलाई शान्त बनाउन हिंसा गर्दा सबैलाई घाटा पुगिरहेको हुन्छ । यही कुरा अहिले नेपालमा जन्मने सबै नेपालीले बुझ्नुपर्छ, हृदयबाट नै हिंसामुक्त व्यक्ति बन्न सक्ने जागरण चलाउनुपर्छ अनि मात्र समतामूलक समाज निर्माण हुन सक्छ । यस्तो समाज निर्माण भएमा देशले उल्लेख्य प्रगति गर्न सक्छ । जनता हर्ष, उमंग, सुखसयलका साथ जीवनयापन गर्न सक्छन् । मुलुकको समृद्धिका लागि हिंसामुक्त समाज अपरिहार्य छ ।
हिंसा हुन नदिनका लागि सबैले आफूबाटै शुरूवात गर्नुपर्छ । आफ्नो स्वतन्त्रताको प्रयोग राम्रा अवसर प्राप्त गर्नका लागि हुनुपर्छ । नयाँ–नयाँ कुरा सिक्न तथा त्यसलाई अवलम्बन गर्नका लागि हुनुपर्छ । विस्तारै महिलाहरूले आफ्नो स्थान प्राप्त गर्दैछन् । आत्मनिर्भर बन्दै छन् । आत्मनिर्भरताको प्रयोग राम्रोसँग गर्नुपर्छ । आर्थिक तथा मानसिक आत्मनिर्भरताको प्रयोग उचित तरिकाले गर्नुपर्छ हाम्रा कतिपय सामाजिक परम्परा छन् जसको कुनै तुक छैन त्यस्ता परम्परालाई निर्मूल गर्दै जानुपर्छ ।
आजैबाट हामी महिलाहरूले आवाज उठाउन सक्ने हो भने, हामीले हाम्रो देश नेपाललाई सुन्दर, शान्त व्यवस्थित देश बनाउन सक्छौं ।
सदाबहार सकरात्मक सोँचको बिकास गरी देश बिकासको अभियानमा महिलाहरू आजै देखि सहभागी बनौं । अरूले गरिहाल्नु हुन्छ भनेर नबस्नु, हामी सबैले मिलेर गर्नुपर्छ भनेर आगडि बढौँ । महिलाले पनि देश हाँक्न सक्छन् भनेर देखाउनु पर्छ हामीले अब ।
अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ।
सत्यको जित होस् । जय देश ।
-स्नेहा शर्मा, नेपालगन्ज