बर्दिया : मृतक ब्यक्तिको दाहसंस्कार गरिसकेपछि कोरोना भाइरस संक्रमित पुष्टि भएपछि यतिबेला बर्दियामा मलामी खोजी कार्य जारी छ ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–९ का ७८ वर्षिय एक बृद्धको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । मंगलवार विहान मृत्यु भएका व्यक्तिको शव अस्पतालले घर पठाईदिएको थियो । घर गए लगत्तै स्थानीय कुसुम्वा घाटमा दाहसंस्कार गरी फर्किएपछि मृतकको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
निमोनिया र मधुमेहका विरामी रहेका ति व्यक्ति सोमबार उपचारका लागी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा मृत्यु हुनु भन्दा अगाडि पीसीआर टेस्ट गरिएको थियो । त्यसको रिपोर्ट नआउँदै उनका आफन्तलाई सामाजिक दूरी कायम गरी दाहसंस्कार गर्नु भनि अस्पतालले मंगलबार दिउसो करिब १ बजेतिर शव लैजान भनेपछि शव ल्यायर स्थानीय बबई नदिको कुसुम्मा घाटमा दाहसस्कार गरिएको थियो ।
उनको दाहसस्कारमा सयौंको संख्यामा मलामी उपस्थित रहेका थिए । मंगलबार बेलुकी ४ बजेको मृतक व्यक्तिको रिपोर्ट पोजेटिभ आएपछि यतिबेला स्थानीयमा त्रास छाएको छ भने बर्दिया प्रहरीले मलामी खोजीरहेकोछ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले मलामी गएका १ सय जना भन्दा बढिलाई स्थानीय विद्यालयमा क्वारेन्टिन बनाएर राखिएको बताए ।
कोरोना संक्रमित पोजेटिभ पाइएपछि यतिबेला सो वडालाई सील गरिएको छ । मृतकको मलामि गएकाहरुले घाटबाट फर्किदै गर्दा कोरोना पोजेटिभ भएको खबर पाएका बताएकाछन । केही मलामी जिल्लाका विभिन्न स्थानका रहेकाले उनीहरु आ–आफ्नो घर पुगिसकेको स्थानीयबासी बताउँछन् ।