संक्रमितलाई उपचारका लागि नर्सिङ्गहोम, भेरी अस्पताल, आर्मी अस्पताल हुदैँ कोहलपुर मेडिकल कलेज पुर्याइयो
बर्दिया : दाहसंस्कारपछि मृृतक व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएपछि बर्दियामा संन्त्रास छाएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–९ का ७८ वर्षिय जेष्ठ नागरिक एक व्यक्तिको दाहसंस्कार गरिसकेपछि कोरोना भाईरस पोजेटिभ आएपछि यतिबेला बर्दियामा डर र संन्त्रास छाएकोछ । अस्पताल वा स्थानीय प्रशासन कसको लापरबाही हो ? कसको दवावमा कोरोनाको रिपोर्ट नआउँदै शव आफन्तलाई बुझाइयो भन्ने विषय झन पेचिलो बन्दै गएको छ ।
मृतक व्यक्तिको नजिक रहेका र सम्पर्कमा आएका अहिले सोहि वडाको नेपाल राष्ट्रिय माविमा १३ जनालाई क्वारेन्टिनमा राखिएको छ भने ९६ जना होम क्वारेन्टिनमा रहेका छन् । त्यसैगरी ७ जना मृतकका आफन्त तथा किरिया पुत्रीलाई एकै स्थानमा राखिएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले कोरोनाबाट मृत्यु भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेकालाई ५ दिनपछि स्वाव परीक्षण गरिने त्यसपछि बाँकि प्रकृया अगाडि बढाइने बताए । साथै उनले मृतकको कोरोनाको रिपोर्ट नआउँदै शव आफन्तलाई बुझाउनु भनि मेडिकल कलेजलाई कुनै किसिमको दवाव नदिएको जानकारी दिएका छन् ।
यद्यपी जिल्ला प्रशासन कार्यालय बर्दियाले स्वाव परीक्षणको रिपोर्ट नआउँदै कसरी आफन्तलाई शव बुझाइएको हो सो विवरण खुलाउन भन्दै मेडिकल कलेज कोहलपुरलाई पत्र पठाइएकोछ । उक्त पत्र भदौ २ गते नै पठाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । यता मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्रीले रिपोर्ट नआउँदै अस्पताल प्रशासनलाई दवाव दिएर आफन्तलाई शव दिन दवाव नदिएको बताएका छन् ।
कोरोना रिर्पोट नआउँदै आफन्तलाई शव जिम्मा लगाउने विषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले आफूलाई जानकारी नभएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकार कुरुम्वाङले यो बर्दिया जिल्लाको विषय भएको हुँदा आफुलाई यस विषयमा केहि थाह नभएको स्पष्ट पारे ।
कुनै किसिमको दवाव दिइएन, दिने कुरा पनि भएन बर्दियाको मानिसको मत्यु भएको हुँदा यो बर्दिया प्रशासनको नै चासोको विषय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले प्रतिकृया दिएकाछन् ।
यस विषयमा बुझ्दा मेडिकल कलेज कोहलपुरका कोरोना फोकल पर्सन डाक्टर दिनेश श्रेष्ठले स्थानीय तह, जनस्वास्थ्य कार्यालय र प्रशासन कार्यालयबाट आफुलाई शव आफन्तलाई हस्तान्तरण गर्न दवाव दिएपछि आफुले कागज गराई सामाजिक दूरी कायम गरी र स्वास्थ्य मापदण्ड भित्र रहि शवको दाहसंस्कार गर्न भनि मृतकका आफन्तसंग सम्झौता भई सकेपछि शव आफन्तलाई जिम्मा दिइएको बताए ।
भदौ १ गते अचानक अस्वस्थ भएका ति व्यक्तिलाई विहान उनका छोरा र नातिले रेडक्रसको एम्बुलेन्समा मार्फत नेपालगन्ज लगेका थिए । शुरुमा नेपालगन्ज नर्सिङ्घ होममा लगिएको थियो त्यहाँ भेन्टिलेटर खाली नभएपछि भेरी अस्पताल लगिएको थियो त्यहाँ पनि खाली नभएपछि राझाँमा रहेको आर्मीको अस्पतालमा लगिएको थियो । त्यहाँ पनि भर्ना नलिएपछि एम्बुलेन्सले विरामी र आफन्तलाई त्यहि छोडेर बर्दिया फर्किएको थियो ।
राझाँबाट सानो गाडिमा राखेर कोहलपुर मेडिकल कलेज लगिएको थियो । त्यहाँ भर्ना भएका ति बिरामीको बेलुकी ४ बजेतिर कोरोना भाइरस परीक्षणका लागी स्वाव लिइएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएका उनको राती १ बजेतिर मृत्यु भएको थियो । भदौ २ गते विहान आफन्तले शव घर लैजाने भनेपछि केहि प्रक्रृया मिलाउनुपर्छ भन्दै अस्पतालले शव आफन्तलाई बुझाएको थिएन ।
मृतक व्यक्तिको शव उनको आफ्नै घर बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–९ मा भदौ २ गते करिब दिउँसो २ बजे लगिएको थियो । धार्मिक विधि अनुसार कार्य अपनाउँदा करिब ३ बजेपछि मृतकको शवलाई अन्तिम संस्कारका लागी स्थानीय ववई नदिको कुसुम्बा घाट तर्फ लगिएको स्थानीय तथा अहिले होम क्वारेन्टिनमा बसेका छविलाल ओलीले बताए ।
घाटतर्फ लैजादै गर्दा करिब ३ सय देखि ४ सय सम्म मलामि गएका थिए । शवलाई घाटमा राखेर दागवत्ति दिइरहँदा मृतक कोरोना पोजेटिभ भएको रिपोर्ट करिब ४ बजेतिर आएको थियो । त्यसपछि मलामिहरुको भागाभाग भएको थियो । रिपोर्ट नआउँदै शव आफन्तलाई किन र कसरी बुझाइ भन्ने विषय यतिखेर पेचिलो बन्दै गएकोछ । यसले गर्दा समाजमा असहज स्थिति पैदा भएको मलामि गएका स्थानीय हर्क बस्नेत बताउँछन् । मलामि गएका आफु अहिले होम क्वारेन्टिनमा बसेको बस्नेतले जानकारी दिए ।
मृतक व्यक्ति कोरोना भाइरस पाजेटिभ भएको भन्ने खवर आगो सरी फैलिएपछि गुलरियाबाट प्रहरी र प्रशासनको टिम उक्त स्थानमा पुगेको थियो । अहिले मधुवन नगरपालिका वडा नम्बर–९ लाई पुर्ण रुपमा सिल गरिएको छ । भने त्यससंग सीमा जोडिएको गुलरिया नगरपालिका वडा नम्बर–१ का दुइवटा गाँउलाई पनि सील गरिएको छ ।
कोरोना पोजेटिभ ब्यक्तिको शव दाहसँस्कारका लागि परिवारलाई दिइएको प्रति आपत्ती जनाउदै नेपाली काँग्रेस बर्दियाका जिल्ला सचिव जिवन मल्लले यसका दोषीहरुलाई कानूनी कारबाही गरिनुपर्ने बताउकाछन् । कसको लापरबाहि हो यो छानविन हुनुपर्नेपर्छ, कोरोना जस्तो विषयमा लापरबाही गरि थुप्रै ब्यक्ति संक्रमण गराउने खेल खेल्न जोसुकै भएपनि कानूनी कारबाही गरिनुपर्ने उनले बताए ।
यस विषयमा नेपाली काँग्रेस बर्दियाले बिहिबार प्रेस विज्ञप्ती निकाल्दै नागरिकलाई त्रासमा राख्ने कामको छानविन हुनपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने बताएकोछ ।