कोरोना कहर

माछो–माछो भ्यागुतो, यसपालीको तीज...


माछो–माछो भ्यागुतो, यसपालीको तीज...

File Photo

हेर बुढी मसंग दाम छैन,

दाम नभएसी तीजमा

काम छैन, एउटा फोटो खिच,

माछो–माछो भ्यागुतो, यसपालीको तीज....

Kanti Aarogya Hospital Nepalgunj

बाच्नुपर्छ कोरोना जितेर,

लाउला सारी पोहोर कै झिकेर,

एउटा फोटो खिच

माछो–माछो भ्यागुतो यसपालीको तीज...

दुर्गेश थापाले तीज गित बिच्च बिच्च–२ मा गाएको गितको बोल हो यो । अहिले सम्म ९ लाख ७२ हजारबढीले हेरिसकेकाछन्, भने ७६३ के सबस्क्राइभ भइसकेको गित हो यो ।

यो गितमा उठाइएको शब्दले यसवर्षको तीजको यथार्थतालाई चित्रण गरेकोछ । यतिबेला हामी कोरोना संक्रमण महामारीमा छौं । यसले सबै कुरा अस्तब्यस्त बनाएकोछ । पहिलेको जस्तो सामान्य अवस्था छैन ।

तीजका अवसरमा अघिल्ला वर्षमा एक महिना अघिदेखि शहरबजारदेखि गाउँघरसम्म तीजको गीत घन्किन्थ्यो । गाउँ–गाउँमा मादलको तालमा नाचगान गरेको देखिन्थ्यो, सुनिन्थ्यो । अझ तीजका अवसरमा एकमहिना अघिदेखि शहरबजारका होटल, रेष्टूराँ, पार्टी प्यालेस भरिभराउ हुन्थे । दरखाने महिलाहरु रंगीचंगी लुगा लगाएर आफ्नो नृत्य प्रस्तुत गर्दथे । शहरका गलीअनि टोलमा तीजकै गित गुञ्जयमान हुने गर्दथ्यो । रातो पहिरनमा सजिएका किसोरी, युवती र महिलाहरुको दृष्यले देख्दा तीजले छपक्कै छोएको अनुभूती हुन्थ्यो ।

अझ तीज गितको भाकामा नाचगान भएको देख्दा रमाइलो अनुभूती हुन्थ्यो । गाउँघर नै रमाइलो अनि आनन्दमयी हुन्थ्यो । तर, यस वर्ष कोरोना भाइरस संक्रमणले यो सबै खुसी लुटेकोछ । सबैलाई घरभित्रै थुनेकोछ । घरका परिवार सदस्यमा मात्र सिमित तुल्याएको छ तीज अनि अन्य चाडपर्व ।

हामी कोरोना माहामारी न्यून हुन्छ, सकिन्छ भन्ने आशामा थियौं तर सरकारले साउन ७ गतेदेखि देशभर लगाएको लकडाउन खोलेसगैं अवस्था असामान्य बन्यो । झन कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लाग्यो । मृत्युको दर बढ्यो । यसले आम नागरिकमा त्रास फैलाएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ की पार्वती शाहीलाई कोरोना माहामारीकाबीच यसपटक तीज आएको जस्तो भएकोछैन । तीज सुरु हुनुअगावै टोलमा जमा भएर दिदीबहिनी नाचेको देखिएन । नाच्न पनि सकिएन । उनी भन्छिन तीज सामुहिकरुपमा जमा भएर मनाइने पर्व हो । न त मन्दिर जान पाइयो न त सामुहिक रुपमै दर खान पाइयो ।

उनले तीज भित्रिए पनि गाउँघर सुनसान भएको बताइन् । कोरोनाका कारण प्रहरी प्रशासनले भेला हुन नदिएपछि सामुहिक रुपमा दरखान नपाएको बताइन् ।

तीजको नाचगान सामुहिक रुपमा गर्ने भएकोले यसबर्ष गाउँघरमा नाचगान समेत भएन । तीजका मुखमा गाउँघर सुनसान छ । ‘तीज आए पनि नआएको जस्तो लागेको छ,’ उनले भनिन्, ‘समुहमा रहेर नाचगान गर्न पाए पो तीज आएको जस्तो लाग्ने थियो । यस्तो जोखिमका बेला आफ्नै ज्यान बचाँउन मुस्किल छ कसरी मनाउनु ।’

यस्तै बाँके कोहलपुरकी अस्मिता ढकाल तीज सुरुहुनु १०–१५ दिन अगावैबाट साथीसंगीकोमा भेला भइ दर खाने र तीजमा छमछमी नाच्ने गरिन्थ्यो । यसपटक त्यो पनि हुन पाएन । बाहिर निस्कौं कोरोनाको डर छ । ननिस्कौं वर्षदिनको पर्व । यसपटक मनमा उल्लास छैन । उनले आफ्नो अनुभव सुनाइन ।

पछिल्ला दिनहरुमा शताब्दीऔंदेखि महिलाहरुको शौभाग्यका लागि बसिने यो तीजका आयामहरु समयसँगैै आधूनिक हुँदै गएको छ । महिना अगाडिदेखि दरखाने चलन, तडकभडक र सामाजिकिकरणको नाममा अतिरञ्जीत गर्दै भड्किलो संस्कार र चलन बढ्दै गएको छ । यो चलन गाउँघरमा पनि पुगेको छ । तर, यो वर्ष तीज घरमै आइपुग्दा समेत आएको जस्तो अनुभूती नभएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब १२ की शोभा पौडल बताउँछिन् ।

उनले अघिल्ला वर्षमा महिना अघिदेखि तीजको नाचगान गरेको बताइन् । यस वर्ष टोलमा नाचगान भएन । कोरोनाका कारण चिसापानी माइत समेत जान नपाएको उनले आफ्नो दुखोसो पोखिन् ।

यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बैजापुरकी सोनिया खड्काले यस वर्षको तीजका लागि नयाँ लुगा समेत किन्न नपाएको बताइन् । उनले भनिन्– ‘नेपालगन्ज गएर नयाँ लुगा समेत किन्न पाएन । गत वर्षको लुगा नै लगाउनु पर्यो ।’

तीज कसरी मनाइरहुनुभएको छ ? भन्ने सेतोखरीको जिज्ञासामा उनले भनिन् ‘गाउँमा नाचगान गर्न खोज्यो, प्रहरी आएर भेला नहुनुस् भन्छन् । तीजमा एक्लै नाच्ने कुरा भएन । घरकै दैलोमा सीमित छौं । यस वर्ष त तीज आएको जस्तो लागेको छैन ।’

यसअघिका दिनमा तीजका अवसरमा नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका स्थानमा ठूलै भीडभाड लाग्ने गर्दथ्यो । सामुहिक दरखाने कार्यक्रमसगैं विभिन्न संघसस्थाका साँस्कृतिक कार्यक्रम हुन्थे तर, यसपटक भएका छैनन् ।

अघिल्ला वर्षहरुमा भरिभराउ हुने होटल, कटेज, प्यालेस पनि खाली छन् । बजार सुनसान छ । सोँचे जस्तो ब्यापार हुन सकेकोछैन । नेपालगन्ज न्यूरोडका ब्यापारी दीपक गुप्ताले भने । उनले अघिल्ला वर्षमा तीजका अवसरमा पसल भरिभराउ हुनेगर्दथ्यो तर, यसबर्ष झिनो मात्र ब्यापार भएकोछ ।

सामाजिक सञ्जालबाटै मनाउदै तीज

कोरोनाका कारण यतिबेला सबैजना आआफ्नै घरमा थन्किएकाछन् । घरपरिवारमै सिमित भएको तीजमा आम नागरिकले सामाजिक सञ्जालबाटै तीज मनाइरहेकाछन् ।

सामाजिक सञ्जालमा फोटो, लाइभ भिडियो शेर गर्दै उनीहरुले यसपटकको तीज यसरी मनाइयो । कोरोनाका कारण माइत जान पाइएन । छिमेकीलाई बोलाउन पाइएन भन्दै स्टाटस शेर गरेकाछन् ।

कोरोनाले गर्दा तीजमा न त डिजे सिस्टम बज्यो । न त मादलुको आवाज । न त रातो सारीमा सजिएका चेलीको हुल नै देखियो । सुनसान तीज, सुनसान गाउँघर अनि शहरबजार । पापी कोरोना तेरो सत्यानाश होस् । अब अर्को साल यो पापी कोरोनालाई जितेर तीजमा नाच्ने नै हो । यो वर्षलाई मैले त बाइ गरे है । भन्दै बाँके खजुराका ऋषी पोखरेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै तीजको शुभकामना दिए ।

यस्तै विदेशमा रहेकी सञ्चारकर्मी लक्ष्मी पाण्डेले एक भिडियो शेर गर्दै यसपटकको तीज कोरोनाले विथुल्यो । अर्को वर्ष रमाइलोसगं मनाउनला भनेकीछन् । उनले तीजमा घरमै बस्न र कोरोनाबाट बच्न सबैलाई आग्रह गरेकीछन् ।

नेपालगन्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत शोभा शाहले घरमै तीज मनाउन आग्रह गर्दै परिवारसगं तीज मनाएको फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट शेर गरेकी छन् ।

लामो समयदेखि अष्ट्रेलियमा बस्दै आएकी सञ्चारकर्मी सन्ध्या शाहले सामाजिक सञ्जा फेसबुकबाट हरितालिका तीजको शुभकामना दिएकी छन् । उनले देश तथा बिदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरुलाई सु–स्वास्थ्य तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्र गर्दै आफु, आफ्नो परिवार र समाजलाई कोभिड–१९ बाट सुरक्षित रहन आवश्यक नियम पालना गर्न समेत अपील गरेकीछन् ।

सुनसान बागेश्वरी

तीजका दिन खुट्टै राख्न ठाउँ नहुने नेपालगन्जको बागेश्वरी मन्दिर सुनसान देखियो । रातो साडीमा सजिएका महिलाहरुको भीड । तीजका गितले गुञ्जयमानसगैं अगरबत्तीको धुवाँको मुस्लोमा हराई हराई पुजापाठ गरेको दृष्य कोरोनाभाइरसको कहरका कारण बदलिएको छ । भीड नै नियन्त्रण गर्न हम्मेहम्मे पर्ने बागेश्वरी मन्दिर सुनसान छ । मनौँ, आज तीज नै होइन । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै धार्मिक स्थलहरुमा भिडभाडलाई प्रतिबन्ध गरेको छ ।

घरमै तीज मनाउ, कोरोनाबाट बचौं : उपप्रमुख मगर

कोरोना भाइरस संक्रमणका बीच घरमै सुरक्षितरुपमा तीज मनाउन नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले आग्रह गरेकीछन् । उनले तीजको शुभकामना ब्यक्त गर्दै कोरोनाबाट आफू बच्न र अरुलाई पनि बचाउन घरमै तीज मनाउन आग्रह गरेकीहुन् ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज–२०७७ लाई सुरक्षित भएर मनाउन अपील गर्दै उपप्रमुख थापाले यस वर्ष कोभिड–१९ को महामारीका कारण हरेक वर्ष झैं तीजको अवसरमा गरिने जमघट, भेला र पुजाआजा घर भित्र नै सुरक्षित भएर मनाउन सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु । उनीद्वारा जारी शुभकामनामा उल्लेखछ ।

तीज एउटा संस्कार मात्र नभई सभ्यता हो, परम्परा र पहिचानका साथै महिला दिदीबहिनीहरुका लागि वर्ष दिनको दुःख बिसाउने पर्व पनि हो , उपप्रमुख थापाले भनेकीछन्, यो महत्वपूर्ण अवसरलाई धुमधामसंग मनाउने हाम्रो ईच्छा, चाहना हुँदाहुँदै पनि यस वर्ष विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण मनाउन नसकिने यो विषम परिस्थितीमा हामि दिदीबिहीनीको संयमता, साथ र सहयोग एकदमै जरुरी छ । तपाई हामी बाँचे आउने वर्षहरुमा यो पर्वलाई धुमधामसंग मनाउने अवसर हामीले पाउने नै छौ ।

यो वर्ष आफ्नो घर परिवारको बिचमा रहि यो पर्व रमाईलो गरि मनाउन अनुरोध गर्दै भौतिक दूरी, अनिवार्य मास्कको प्रयोग र पटक–पटक साबुन पानीले हात धुने लगायतका कार्यलाई आफुले पनि पालना गर्ने र अरुलाई पनि पालना गर्न सिकाउने कार्यमा सहयोग गर्नका लागि अनुरोध गर्दै हरितालिका तीजको शुभकामना व्यक्त गरेकीछन् ।