बर्दिया : महिला दिदीबहिनी तीजको रमझममा रहेका बेला बर्दियामा एक ११ वर्षिय बालिका बलात्कृत भएकी छिन । बर्दियाको बारबर्दिया नगरपालिका वाडा नम्बर–८ भगतपुर निवासी २१ वर्षिय चन्द्रमान बिकले ११ वर्षिया बालिकालाई खेतमा लगी जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए ।
घरमा सुतिरहेको बेला ती बालिकालाई हिजो (बिहीबार) बिहान २ देखि ३ बजेको बिचमा बलात्कार गरेको प्रहरीले बताएकोछ । घरबाटै लिएर नजिकैको खेतमा लगी बिकले जबरजस्ती करणी गरेको खुल्न आएको बर्दियाका प्रहरी उपरीक्षक केदारले जानकारी दिए ।
बिहीबार भएको घटना भएपनि स्थानीय प्रहरीले गोप्य राख्ने प्रयास गरेका कारण घटना ढिलो गरी बाहिर आएको हो । स्थानीय बासीका अनुसार गर्मी भएको र पटक–पटक बत्ति जाने गरेका कारण आफनै हजुरआमासंग बाहिर खाटमा सुतेकी ती ११ वर्षिया बालिकालाई चन्द्रमान विकले काँधमा बोकी लगेका थिए । काँधमा बोकी लिएर जाँदैगर्दा बालिका बिउँझिएपछि कराउँदा आफु भुत भएको भन्दै नजिकैको खेतमा लगी जबरजस्ती करणी गरी त्यहाँबाट भागेको बताएका छन् ।
बालिका कराएपछि ब्युँझिएकी बालिकाकी हजुरआमाले हो–हल्ला गरेपछि घटना सार्वजनिक भएको एक स्थानीय बासीले जानकारी दिए ।
बारबर्दिया नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष हरिप्रसाद भुषालले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेपछि बिकलाई उनकै घरबाट पक्राउ गरिएको बताए ।
घटना घटेको २ दिन भैसकेता पनि स्थानीय निकाय तथा महिला अधिकारकर्मी यस विषयमा अहिलेसम्म बोल्न सकेका छैनन् । प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा बिकलाई पक्राउ गरि घटनाको अनुसन्धान थालेकोछ । यता जिल्ला अस्पताल बर्दियाले पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकोछ ।