नेपालगन्ज : बाँके प्रहरीले दुई महिनामै एक करोड बढि जरिवाना असुल गरेकोछ । जिल्लामा भन्सार छलि, चोरी निकासी पैठारी गर्ने मानिस तथा सवारी साधन पक्राउ गर्दै उक्त जरिवाना असुल गरेको हो ।
बाँके प्रहरीमा हालै सरुवा भइ आएका बाँके प्रहरी प्रमुख ओमबहादुर रानाको दुई महिना ३ दिनको कार्यकालमा यो उपलब्धी प्राप्त भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाको दुई महिने कार्यकाल प्रतिबेदनमा उक्त कुरा उल्लेख गरिएकोछ ।
यो दुई महिनामा बाँके प्रहरीले जिल्लामा भन्सार छलि, चोरी निकासी पैठारी गर्ने मानिस ५७ जना, उनीहरुले प्रयोग गरेको २८ वटा मोटरसाईकल, २ वटा बोलेरो भ्यान, २ वटा अटो रिक्सा नियन्त्रयणमा लिएर कारबाही गरेकोछ । भने चोरी निकासीमा २८ बोरा अवैध सुर्ति र १ गाडी बरामद गरेको बाँके प्रहरीले जनाएकोछ ।
यस्तै यो दुई महिनाको अवधिमा बिभिन्न शीर्षकहरुमा भएको जरिवाना तथा कारवाहीहरुमा तस्कर नियन्त्रणबाट ७१ लाख ९० हजार ७ सय ३३ रुपैयाँ, ट्राफिक कारवाही तथा जरिवानाबाट २१ लाख ८९ हजार रुपैयाँ, फरार अभियुक्तबाट एक लाख ८ हजार ५ सय ३८ रुपैयाँ, जुवाबाट ३ लाख ४९ हजार ४ सय ५० रुपैयाँ, मास्क प्रयोग नगर्नेबाट २ लाख एक हजार ३ सय रुपैयाँ र प्राकृतिक स्रोतको दोहनबाट १ लाख ९५ हजार रुपैयाँ गरि कुल एक करोड २ लाख ३४ हजार २१ रुपैयाँ राजस्व संकलन गरिएको बाँके प्रहरीले जानकारी दिएकोछ ।
यसमध्ये सबै भन्दा बढि तस्कर नियन्त्रणबाट ७१ लाख ९० हजार ७ सय ३३ रुपैयाँ र ट्राफिक कारवाही तथा जरिवानाबाट २१ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन भएकोछ ।