बर्दिया : सामुदायिक वनको कार्ययोजनामा नभएको र नविकरण नगरिएको सामुदायिक वन उपभोक्ता समितिमा बारबर्दिया नगरपालिकाले पर्यटन प्रर्बद्धनको नाममा लाखौँ रुपैयाँ खर्च गरेको पाइएको छ । पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागी बनाइँदै गरिएको भनिएको सो स्थानमा अहिलेसम्म भौतिक निर्माणका लागी ५० लाख भन्दा बढि रकम खर्च भैसकेको छ । तर, सामान्य तारजाली बाहेक अन्य काम भएको पाइएको छैन ।
पर्यटन मन्त्रालयले शिव मन्दिर व्यवस्थापन भनेर पठाएको बजेट नगरपालिकाले अन्यत्रै खर्च गरिरहेकोछ । जसले गर्दा बबई नदिको किनारमा सामुदायिक वनको जमिनमा अहिलेसम्म शिव मन्दिर बन्न सकेको छैन । तर, बारबर्दिया नगरपालिका वडा नम्बर–२ मा एउटा मात्रै शिव मन्दिर छ त्यो पनि निर्माणाधिन अवस्थामा । जुन मन्दिर स्थानीयबासी आफैले बनाएका हुन् अहिले त्यो जिर्ण अवस्थामा छ ।
पहिले उपभोक्ता मार्फत गरिएको काम गएको वर्ष टेण्डर मार्फत गरिएको हो । चालु आर्थिक वर्षमा पनि थप २५ लाख रुपैया छुट्याइएको छ । पाँच वर्षे रणनीति अनुसार काम भैरहेको भएपनि प्रत्येक वर्ष आउने २५ लाख रुपैयाँ नगरपालिकाको मातहतमा रहने र नगरपालिकाले आफ्नै हिसाबले काम गरिरहेको हो ।
यसरी पर्यटन मन्त्रालयबाट शिव मन्दिर ब्यवस्थापनका लागि भनि पठाइएको रकम सिधै बारबर्दिया नगरपालिकाको खातामा आउनेगर्छ । र नगरपालिकाले सो रकम दुरुपयोग गरिरहेकोछ । पहिले उपभोक्ता मार्फत गरिएको काम गएको वर्ष टेण्डर मार्फत गरिएको हो । चालु आर्थिक वर्षमा पनि थप २५ लाख रुपैया छुट्याइएको छ । पाँच वर्षे रणनीति अनुसार काम भैरहेको भएपनि प्रत्येक वर्ष आउने २५ लाख रुपैयाँ नगरपालिकाको मातहतमा रहने र नगरपालिकाले आफ्नै हिसाबले काम गरिरहेको हो ।
२०७५ सालबाट निर्माण गर्न लागिएको सो पार्क बर्दिया क्षेत्र नम्बर– २ का सांसद सन्तकुमार थारुको अगुवाईमा निर्माण गर्न लागिएको हो । उनकै पहलमा अहिले पनि वार्षिक रुपमा बजेट आउने गरेको छ । हाल संघीय सांसद समेत रहेका सन्तकुमार थारुले थारु समुदायको संस्कृति झल्किने उद्देश्यका साथ सो पार्क निर्माण गर्न लागिएको बताए ।
धार्मिक हिसाबले थारु समुदायका राजा दङ्घी शरणको सम्झनामा सो पार्क निर्माण गर्न लागिएको यसबाट स्थानीय स्तरको आर्थिक सामाजिक स्तरमा बृद्धि हुने विश्वास लिएको थारुको भनाई रहेको छ ।
यता श्रीहरीयाली सामुदायिक वन भित्र निर्माण गर्न लागिएको सो पार्क निर्माणका लागी स्थानीय तहले जमिन खोज्ने क्रममा सो सामुदायिक वनको जग्गामा पार्क बनाउन पर्छ भनेपछि पार्क निर्माण कार्य थालिन भएको हरीयाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मनोजकुमार चौधरी बताउँछन् । उनले उपभोक्ता समुहबाट निर्णय गराएर काम थालनी गरिएको तर, यो विषयमा डिभिजन वन कार्यालयलाई जानकारी नगराएको र कार्ययोजना पनि नबनाएको प्रष्ट पारे ।
यस विषयमा बुझ्दा बारबर्दिया नगरपालिकाले मन्त्रालयबाट आएको बजेटलाई सदुपयोग गर्दै स्थानीय वन भित्र पर्यटन प्रबद्र्धनका लागी पार्क निर्माण गर्न लागिएको जनाएको छ । सामुदायिक वनको जग्गा भएका कारण उपभोक्ता समुहबाट निर्णय गराएर नै उक्त स्थानमा पार्क बनाउन लागिएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु कबिरले बताए ।
उनले पार्क बनिरहेको छ, कसैले पनि हटाउन नसक्ने बताउँदै सामुदायिक वन भित्र पार्क बनाउँदा कसैको अनुमति लिइरहनु पर्ने आवश्यक नभएको थारुले दावि गरे । तर, नगरपालिकाले पर्यटन प्रर्बद्धनका लागि आएको बजेटमा आफुखुसी खर्च गर्दै आइरहेको हो । सामुदायिक वन भित्र भौतिक संरचना तथा पार्क लगायतका कार्य गर्दा भविष्यमा गरिने कार्यका विषयमा कार्ययोजना बनाउनु पर्दछ । कार्ययोजना बनाइसकेपछि डिभिजन वन कार्यालयबाट अनुमति लियर मात्रै यस्ता खालका काम गर्न पाइने कानूनी व्यवस्था हुदाँ हुदै स्थानीय तहको मनोमानिका कारण बजेटको सदुपयोग हुन नसक्ने भन्दै स्थानीयबासीले चिन्ता र चासो बढ्दै गएकोछ ।
७६ हेक्टर जमिन रेहको हरियाली सामुदायिक वन भित्रको १ सय वर्गमिटर क्षेत्र पार्क निर्माणका लागी छुटयाइएको छ । सामुदायिक वन भित्र भौतिक संरचना तथा पार्क निर्माण लगायतका कार्य गर्नका लागी ५ देखि अधिकतम १० वर्षको कार्ययोजना बनाउनु पर्दछ । तर, त्यस सामुदायिक वन भित्र पार्क निर्माण गर्ने भनेर कुनै कार्ययोजना नबनेको र वन २०७० सालदेखि यता डिभिजन वन कार्यालयमा नविकरण नभएको अवस्थामा स्थानीय तहले कसरी त्यस सामुदायिक वन भित्र पार्क निर्माण गर्दैछ भन्ने विषयमा डिभिजन वन कार्यालय स्वयम अनभिज्ञ रहेको छ ।
हरियाली सामुदायिक वनले कार्ययोजना नबनाएको र नविकरण पनि नगरेको अहिलेको अवस्थामा सो सामुदायिक वन भित्र निर्माण हुने भौतिक संरचना तथा कुनै पनि किसिमका पार्कहरु कानूनत बैध नहुने डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए ।
पर्यटन विकासका लागि आएको बजेट नगरपालिकाले आफु अनुकुल खर्च गर्दा यतिबेला स्थानीयबासीमा भने उत्साह देखिदैन । ‘जुन शीर्षकका लागि बजेट छुट्याइएको हो सोही शीर्षकमा खर्चगरिनुपर्ने थियो त्यसो नगरेर नगरपालिकाले दादागीरीशैलीमा आफूखुशी रकम खर्च गरिरहेकोछ ।’ बारबर्दिया नगरपालिका वडा नम्बर– २ का स्थानीयबासी राजेन्द्र चौधरीले बताए ।
बारबर्दिया नगरपालिका र मुधवन नगरपालिका सीमा क्षेत्र लठुवाघाट अर्थात बबई नदिमा निर्माण भएको पुल पार गरेपछि बारबर्दिया नरपालिका वडा नम्बर–२ को श्री हरीयाली सामुदायिक वनको अवोलोकन गर्न पाइन्छ । गाउँको विच बाटोमा रहेको सो शिव मन्दिर निर्माणका लागी नगरपालिकाले कुनै सहयोग गरेको देखिदैन तर, त्यहि शिव मन्दिर पर्यटकीय स्थल निर्माण गर्ने भनेर सामुदायिक वनको जमिनमा नेपालका सयौं गन्तव्य मध्ये एउटा निर्माण गरिदैछ । जसलाई स्थानीय चलन चल्तिमा दङ्घीशरण पार्क भनेर भनिएको छ । मन्त्रालयबाट शिव मन्दिरको नाममा आएको बजेट स्थानीय तहले अन्य स्थानमा खर्च गर्दा बजेट दुरुपयोगसगैं मन्दिर निमार्णको भविष्य अन्यौलमा परेकोछ ।