नेपालगन्ज : आफ्नै साला अपहरण गर्ने भिनाजु प्रहरी फन्दामा परेकाछन् । बाँके खजुरा गाउँपालिका वडा नम्बर–५, रजनवाका १३ वर्षिय बालक (इसहाक, जाकिर) भन्ने ईन्तजार खाँलाई अपहरण गरि फिरौती माग्ने सहोदर भिनाजु कलिम खाँलाई बाँके प्रहरीले पक्राउ गरेकोछ ।
गाउँमा मोहर्रमको रमाइलो हेर्न गएका १३ वर्षिय बालकलाई अपहरण गरि पीडित परिवारसंग १० लाख फिरौती माग्ने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरका २७ वर्षिय कल्लु भनिने कलिम खाँलाई बाँके प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
छोरो अपहरणमा परेको निवेदन पाएको बाँके प्रहरीले सर्च अभियान चलाएर २४ घण्टा वित्न नपाउँदै सकुसल बच्चा र अपहरणकारी कल्लुलाई नियन्त्रणमा लिन सफल भएको हो ।
बाँके प्रहरीले अपहरणकारी कल्लुका साथबाट अपहरण गर्न प्रयोग गरिएका एक थान मोबाईल र सुजुकी कम्पनीको भे ४ प २३४४ नम्बरको एउटा मोटरसाईकल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेमा शुक्रबार आयोजित पत्रकार सम्मेलन एसपी ओमबाहदुर रानाले जानकारी दिए ।
‘बालक अपहरण गर्ने ब्यक्ति पीडित बालकका आफ्नै भिनाजु हुन् ।’ एसपी रानाले भने–‘भदौ ९ गते बालक अपहरणमा परे, हामीलाई भदौ १० गते बेलुका खबर प्राप्त भयो । खबर प्राप्त भएलगत्तै मेरो नेतृत्वमा तीन वटा प्रहरी टोली परिचालन गरि २४ घण्टा नवित्दैै बालकलाई सकुसल उद्धार गर्न सफल भयौं त्यो पनि अपहरणकारीलाई पक्रिदैं ।’
एसपी रानाले भने–‘बालकको बुवाले १० गते जमिन खरिदका लागि रकम जम्मा गरेको खबर अपहरणकारी कल्लुले थाहा पाए । आर्थिक प्रलोभनमै परि कल्लुले भदौ ९ गते आफ्नै साला ईन्तजारलाई अपहरण गरेको घटना अनुसन्धानमा खुलेकोछ ।’
पक्राउ परेका कल्लुलाई मुलुकी ऐन २०७४ को परिच्छेद १७ को अपहरण वा शरिर बन्धक सम्बन्धि कसुरको दफा २१३ बमोजिम ७ वर्ष सम्म कैद र ७० हजारदेखि १ लाख सम्मको जरिवाना हुने बाँके प्रहरी प्रमुख एसपी रानाले बताए ।
यस्तो थियो घटना
ससुराबाले जमिन किन्न तयारी अवस्थामा राखेको ४ लाख ८५ हजार रुपैयाँ देखेका कल्लुको मनमा पाप पलायो । धनको अगाडी महादेवको पनि त्रिनेत्र खुल्छ भन्ने उखानलाई चरितार्थ गर्दै साला अपहरण गर्ने योजनामा पुगे कल्लु ।
ससुराबाले भदौ १० गते जमिन किन्ने निधो गरेका थिए । तर, त्यो भन्दा पहिले ४ लाख ८५ हजारका लागि आफ्नै सालालाई अपहरण गरे ।
गाउँमा मोहर्रमको रमाइलो हेर्न गएका ईन्तजार आफू अपहरणमा परेको पत्तै पाएनन् । ईन्तजारले आफ्नै भिनाजुमाथि शंका गर्ने कुनै आधार पनि थिएन । अबोध बालक त्यसमा पनि आफ्नै भिनाजुले रातको समय किन र काहाँ लगिरहेको पत्तो पाएका थिएनन । जब प्रहरीले ईन्तजारलाई तीन दिनपछि आफ्नै फुपुको घरबाट उद्धार गरि अभिभावकको जिम्मा लगायो बल्ल उनले पत्ता पाए ।
मोहर्रमको रमाइलो हेर्न गएका ईन्तजारलाई कल्लुले अपहरण गरि पहिलो रात आफ्नो घरमा राखे । यता कल्लुले अपहरित बालकको घरपरिवारसंग दोहोरो भुमिका खेलिरहे । छोरो हराएको खबरले विचलित ईन्तजारका बुवाआमाले छरछिमेक, आफू निकटतम ब्यक्ति र वडाअध्यक्षसगं परामर्श लिइरहेका थिए । सोही क्रममा अपहरणकारी कल्लुले फिरौती रकम माग गरे । अपहरणकारी कल्लु र इन्तजारका बुवाबीच फिरौती रकममा बार्गेनिङ्ग भइरहदाँ पीडित परिवारले पुलिसलाई खबर गर्ने निधो गरेको कल्लुले चाल पाए ।
प्रहरीले बालक अपहरणमा परेको खबर आफ्ना मातहतका सबै प्रहरी चौकी, विट र नाकामा पुर्याई सकेको थियो । नेपाल–भारत सीमानाका टाईट गरिएको थियो । कहिँ भाग्ने अवस्था पनि थिएन । स्वयम एसपी राना र डिएसपी सुवास खड्का तथा खजुरास्थित ईलाका प्रहरी कार्यालय धनौलीबाट सादा पोशाकमा छुट्टा छुट्टै टोली बनाई प्रहरी बालकको खोजीमा थियो ।
सहजै डरधम्की र चलाखीका साथ मोटो रकम पाउने योजनामा रहेका कल्लुले साला अपहरणको खबर पुलिसकहाँ गएको पत्तो पाएपछि उनले अपहरण गरेका सालालाई उनकै फुपुको घरमा लगि छाडे । अन्तत प्रविधी र अनुसन्धानको विधीलाई प्रभावकारीरुपमा पन्छाएको बाँके प्रहरीले अपहरित बालक र अपहरणकारी कलिम खाँलाई पक्राउ गर्न सफल भयो ।