नेपालगन्जमा 'राजा आउ देश बचाउ'


नेपालगन्जमा 'राजा आउ देश बचाउ'

ज्ञापन पत्र पढेर सुनाउदै राप्रपा बाँकेका अध्यक्ष नरेन्द्रकुमार पौडेल लगायत । तस्विरः सद्भाव

नेपालगन्ज : देशले राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहदाँ नेपालगन्जमा भने राजा आउ देश बचाउको नाराले गुन्जयमान भयो ।
सयौंको संख्यामा सहभागि युवाहरुले राजा आउ देश बचाउ, हिन्दू राष्ट्र जिन्दाबादको नारा लगाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न माग गर्दै फाल्गुन ७ गते देशभर विरोध प्रर्दशन गरेको छ । सो विरोध प्रर्दशन अन्तर्गत नेपालगन्जमा राप्रपाले निकालेको विरोध ¥यालीमा गुन्जयमान आवाज हो राजा आउ देश बचाउ, हिन्दू राष्ट्र पुर्नवहाली गर ।
राप्रपा पार्टी कार्यालय नेपालगन्जमा विहान १२ बजे सयौंको संख्यामा आएका नेता, कार्यकर्ता, विधार्थीहरुले राजसस्था र हिन्दू धर्मका पक्षमा नाबारबाजी गर्दै बाँके जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै राप्रपा बाँकेले २२ बुदेँ आफ्ना देशब्यापी मागसहित ज्ञापन पत्र बुझाएको छ ।

हामीले अघि सारेको मागलाई सरकारले फाल्गुन भित्र सम्बोधन नगरे आगामी चैत्र पहिलो हप्तादेखि सशक्त आन्दोलन पारिनेछ । सरकारलाई एक महिनाको अल्टिमेटम दिएकाछौं । हाम्रा माग केही बुँदा फाल्गुन महिना भित्रै सम्बोधन गरिनुपर्छ । राप्रपका केन्द्रिय सदस्य एव युवा नेता ऋषीराज देवकोटाले सद्भावलाई बताए ।

Kanti Aarogya Hospital Nepalgunj

राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र कुमार पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा, राप्रपका केन्द्रिय सदस्य एवं युवा नेता ऋषिराज देवकोटा, केन्द्रिय सदस्यहरु हिकमत ढकाल, राजेन्द्रवीर राय र टोपेन्द्र शाही लगायतको विरोध ¥यालीमा सहभागिता रहेको थियो । राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र कुमार पौडेलले बाँके जिल्ला प्रमुख मदन भुजेललाई २२ बुदेँ ज्ञापन पत्र बुझाएको राप्रपाका केन्द्रिय सदस्य एवंम युवा नेता ऋषिराज देवकोटाले जानकारी दिए ।

यसैबीच, राप्रपा अध्यक्ष कमल थापाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै ‘२०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न न्यायिक छानविन आयोग गठन गर्न माग गरेकाछन् । राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न पनि राप्रपाले माग गरेको छ । ‘राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने राप्रपाका अध्यक्ष थापाले माग गरे ।

राप्रपाले धर्मनिरपेक्षता खारेज गरी हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, संघीयतामा जनमत संग्रह गर्नुपर्ने, मेलम्ची र वाइडबडी जहाजमा भएको अनियमितता छानबिन गरी कार्वाही गर्नुपर्ने लगायतका विषय पनि राप्रपाले बुझाएको मागपत्रमा उल्लेख छन् । यस्तै ज्ञापन पत्रमा जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न र धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थाहरुलाई बन्द गर्न समेत राप्रपाले माग गरेको छ ।

‘अघि–अघि गौमाता, पछि–पछि हिन्दुराष्ट्रको नारा’

राप्रपाले उठाउँदै आएको हिन्दु राष्ट्रको मुद्दालाई पछिल्लो समयमा नेपाली का“ग्रेस, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र मात्र होईन, हरेक दलमा एउटा पक्ष हिन्दु राष्ट्रको पक्षमा उभिएको छ । हिन्दु राष्ट्र कायम राख्नुपर्ने लगायत विभिन्न २२ बुँदे माग राखेर मंगलबार नेपालगन्जमा राप्रपाले बृहत प्रर्दशन गर्दा एउटा संयोगको दृश्य कैद भयो । जुन तस्बिरले सबैलाई आश्चर्य चकित पारेको छ ।

राप्रपाको जिल्ला कार्यालय बिद्युतरोडबाट सुरु भएको बृहत प्रर्दशन जब जिल्ला प्रशासन कार्यालय नजिक पुग्दै थियो, अगाडी–अगाडी गाई (गौमाता), पछाडीबाट हिन्दु राष्ट्रको चर्का नारा लगाउँदै राप्रपाका नेता, कार्यकर्ता अगाडीतर्फ बढिरहेका थिए । यि दुबै दृश्यलाई सडकमा हिड्ने ब्यक्तिले आ–आफ्ना विश्लेषण गरिरहेका थिए ।

हिन्दु धर्मशास्त्रमा हरेक संस्कार गर्दा गाईको गोवर, दुध र गहुत पवित्र मानिन्छ । हरेक पुजाआजा, चाडपर्वमा गाईलाई देवताको रुपमा पुजा गर्ने पनि चलन छ, हिन्दु समुदायमा । त्यही भएर पनि गाईको साहिनो हिन्दु धर्मशास्त्रसँग जोडिएको हो । त्यसैले गाईलाई नेपालको राष्ट्रिय जनावरको रुपमा मान्दै आएका छौं । हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाले राष्ट्रिय जनावर गाईको सम्मान स्वरुप आफ्नो चुनाव चिन्ह पनि गाईलाई रोजेको छ । उक्त पार्टीले एक दशकभन्दा बढी समयदेखी मुलुकमा हिन्दु राष्ट्र फर्काउन जोडतोडका साथ आवाज उठाईरहेको छ ।

बुझ्नेका लागि ईशारा काफी छ
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको अनुभूति आम नेपालीमा अझै पनि हुन नसकेको बताएका छन् ।
उनले सोमबार एक विज्ञप्ति प्रकाशन गर्दै पुर्खाहरूको पुर्ख्यौली आदर्श प्रजातन्त्र भएको भन्दै पछिल्लो अवस्थामा प्रजातन्त्र भित्र सबै नेपाली अटाउने प्रणाली नभएकोमा दुःख व्यक्त गरेका छन् ।
पूर्वराजाले सार्वजनिक गरेको विज्ञप्तीले यतिवेला नेपाली राजनितिमा ठूलै बहस सुरु भएकोछ । सरल तर चोटिलो शब्दमा राजाले ब्यक्त गरेका अभिब्यक्तिले सरकार र विभिन्न राजनितिक दलमा यसले चर्चा पाएकोछ ।

‘हामी र हाम्रा पूर्खाको पुर्ख्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरूप लिन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनुरूप प्रजातन्त्रको त्यस्तो अनुभूति आम नेपालीमा छैन ।’

शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्यूत हुन नहुने र दण्डहिनता एवम् विधिविहिनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहुँचमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । उनले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहेको भन्दै चिन्ता गरेका छन् ।

‘यसरी राष्ट्रप्रतिको निष्ठमा आएको ह्रास, प्रत्येक युवामा देश छाड्ने आतुरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्रियता दिन प्रति दिन कमजोर बनिरहेको छ । शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्यूत हुन नहुने र दण्डहिनता एवम् विधिविहिनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहुँचमा हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,’ उनले भनेका छन् ।

पूर्व राजा ज्ञानेन्द्रले धर्म परिवर्तनका विषयमा पनि दुखेसो पोखेका छन् । उनले जारी गरेको विज्ञप्तीमा ‘हाम्रो आफ्नो सनातनिक धर्म, संस्कृति र हाम्रै आफ्नो मौलिक आदर्श एवम् मान्यताप्रति धर्मान्तरणको प्रकृयाबाट आक्रान्त भएको कहालिलाग्दो दुःखद अवस्था देखा परेको छ,’ उनले अगाडि भनेका छन्, ‘त्यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानुपर्छ भन्ने हाम्रो दृढ धारणा रहेको छ ।’

उनले नेपालको भू–राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै हामीले हाम्रो परराष्ट्रिय तथा मैत्री सम्बन्धलाई सुमधुर, शालिन र सौम्य कुटनीतिक व्यवस्थाद्वारा हामीप्रतिको आधारभूत विश्वसनीयता स्वस्थ रूपमा अघि बढाउन सक्नुपर्ने बताएका छन् ।