नेपालगन्ज : झारफुकको बहानामा महिला बलात्कार गर्ने बाँकेको कम्दी स्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजाविर (पुजारी) नजिर मोहम्मद साँई प्रहरी फन्दामा परेकाछन् ।
हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पुजापाठसगैं झारफुक गर्दै आएका ती मुजाविर (पुजारी) ले झारफूक गर्ने बहानामा दुई जना महिला बलात्कार गरेको निवेदन परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुवास खड्काले जानकारी दिए ।
‘भदौ १० गते राती नेपालगन्ज उपमहानगरपालिकाका दुई महिला झारफुकका लागि हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा पुगेका थिए । रातको समयमा झारफुक गर्ने भन्दै मजारका ती मुजाविर(पुजारी) ले निवेदन दिएका दुई महिला बलात्कार गरेको आरोपमा उनलाई भदौ ११ गते बेलुका पक्राउ गरिएको हो ।’ डिएसपी खड्काले भने–‘ईलाका प्रहरी कार्यालय कम्दीबाट खटि गएको टोलीले हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका ४० वर्षिया मुजाविर(पुजारी) नजिर मोहम्मद साँईलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएकोछ ।’
सेतोखरीसंग कुरा गर्दै डिएसपी खड्काले भने–‘डुडुवा गाउँपालिका वडा नम्बर– ५ कम्दी स्थित मजारका ती मुजाविर (पुजारी)ले नेपालगन्जकी ३० र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाएर जबरजस्ती करणी गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेखछ ।’
आरोपित मुजाविर (पुजारी) माथि आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाइसकेको भन्दै डिएसपी खड्काले भने–‘कुनैपनि बहानामा अपराध गर्नेलाई छुट दिइनेछैन । अपराध बमोजिम कानूनी कारबाही गरिन्छ ।’
पक्राउ परेका मजारका मुजाविर नजिर मोहम्मद साँई ‘मुसे’ बाबाका नामले परिचित छन् । बाँकेको कम्दी स्थित उक्त हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजार धार्मिक दृष्टिकोणले बाँकेको पर्यटकीय क्षेत्र मध्ये एक हो । हिन्दू तथा मुस्लिम समुदायको आस्थाको धरोहर उक्त स्थानमा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ ।
दुवै समुदायको आस्थाको केन्द्र मानिएको माजरमा मुजाविरद्वारा झारफुकका बहानामा दुई महिला बलात्कार गरेपछि यतिबेला यो घटनाले सर्वत्र चर्चा पाइरहेकोछ ।
महिला बलात्कारको घटना बाहिर आएसगैं कम्दी मलिन चोक निवासी एक युवकले भने–‘मुजाविरबाट यस्ता घटना वर्षेनी हुनेगरेको हामीले सुन्दै आएका थियौं । मुजाविर साईले त झारफुक गर्ने बहानामा अश्लिल ब्यवहार गर्दै महिलाको संवेदनशील अंग छुने गरेको सुनेकाछौं ।’
उनले भने–‘यस्ता घटना पहिलेदेखि नै हुदै आएको सुनिन्थ्यो । बाहिर मात्र आएको थिएन । तर, यसपटक हिम्मत गरेर ती दुई महिलाले कानूनी उपचार लिन पुगे । जसले गर्दा झारफुकका नाममा यौन घटना बाहिर आयो । मुजाविर (पुजारी)लाई कडा कानूनी कारबाही गरियोस् ।’