श्वास फेर्न गाह्रो भयो ‘ऐया–ऐया’ भन्दै उनी छट्पटाइ रहिन्

‘दुई दिनसम्म धाउँदा पनि सरकारीले पिसिआर जाँच गरिदिएन, पैसाको लोभ मानेर निजीमा नगराएको भए मेरी छोरी मर्थी’


दामोदर भण्डारी दामोदर भण्डारी   शनिबार, भदौ १३, २०७७
श्वास फेर्न गाह्रो भयो ‘ऐया–ऐया’ भन्दै उनी छट्पटाइ रहिन्

नेपालगन्ज : श्वास फेर्न गाह्रो हुँदै गयो, उनी ऐया–ऐया भन्दै छट्पटाइ रहिन्, पाँच दिन देखि न उनको चित्कार कसैले सुन्यो कोरोना पोजेटिभ देखिएपनि न उनी कसैबाट अलग भएर बस्न सकिन् । उद्धार गरेर उपचार गर्न लैजाने त टाढाको कुरा भयो ।

अरु त परै जावस कोरोना लाग्यो कि भनेर पिसिआर टेस्टका लागि दुई दिनसम्म धाउँदा पनि सरकारी टोलीले तपाईको नाम छैन भन्दै स्वाव ननिकाली फिर्ता पठाई दिए । जसका कारण मृत्युको मुखसम्म पुगिन उनी ।

नेपालगन्ज उपमहानगरपालिका वडा न.४ निवासी ३५ बर्षिया उनलाई कोरोनाको सबै लक्षण देखिएको थियो । ज्वरो र रुघाखोकीले ग्रस्त थिइन् उनी । ५ दिन वितिसकेको थियो ज्वरो र खोकी लागेको । क्लिनिकमा गएर उनले ज्वरो र खोकीको औषधी पनि खाइन् तर कत्ति पनि विसेक भएको थिएन ।

आफुलाई कोरोना भाइरसको संक्रमण भयो कि भन्ने शंकामा पुगिन् उनी । कृषी विकास बैंक धम्बोझी शाखाको प्राङ्गणमा स्वाव निकाल्न सरकारी टोली बसेको छ भन्ने उनले थाहा पाइन् । बोल्दा श्वास फेर्न गाह्रो भइरहेको थियो उनलाई ।

Kids Festival 2022
kanti aarogya hospital
add

शरीरमा ताकत नभएकी उनलाई आमाले २०७७ भदौ ७ गते आईतबार बेलुका ४ बजे कृषी विकास बैंकको प्राङ्गणसम्म पुर्याइन् । स्वाव निकाल्न बसेको सरकारी टोली समक्ष उनले आफुलाई ज्वरो रुघाखोकी आएको बोलीरहँदा श्वास फेर्न गह्रो भएकोले पिसिआर टेस्टका लागि स्वाव लिइदिन अनुरोध गरिन् । त्यहाँ रहेका स्वास्थ्यकर्मीले पर्खन भने । उनी पालो आउला भन्दै पर्खेर बसिरहिन् ।

‘सबैको स्वाव लिइरहेका थिए, पर्खन भनेकाले म पालो आउला भनेर बसिरहेकी थिएँ । उनले बेलुका ४ बजे देखि ६ बजेसम्म छेउमै पर्खेर बसे कसैले बोलाएन ।’ सेतोखरीसँग भनिन् ‘अनि उठेर सोध्न गएँ । उनीहरुले तपाईको नाम के हो भनेर सोधे, मैले नाम बताए, अनि उनीहरुले तपाईको नाम यहाँ छैन हुँदैन जानुस् भने मलाई । मैले अनुनय विनय गरें मलाई गाह्रो भइरहेको छ स्वाव लिइदिनुस् भनेर तर कसैले मानेनन् । अनि फर्किएर घर आएँ ।’

यसको अघिल्लो दिन पनि उनले कोभिड १९ बाँकेको टोलीलाई आफुलाई ज्वरो आइरहेकाले स्वाव लिइदिन अनुरोध गरिसकेकी थिइन् तर सुनुवाई नभएको बताइन् । यो सबै कुराको जानकारी फोकल पर्सन नरेश श्रेष्ठलाई थियो । श्रेष्ठ स्वाव निकाल्ने आफ्ना स्वास्थ्यकर्मीको विश्वासमा परे । ती महिलाको स्वाव निकालियो होला भन्ने विश्वासमा थिए । तर स्वाव निकाल्न खटिएका स्वास्थ्यकर्मीले पनि फोकल पर्सन श्रेष्ठलाई विश्वासघात गरे ।

पिसिआर टेस्टका लागि दुई दिनसम्म सरकारी टोलीमा धाएर पनि स्वाव नलिइदिएपछि उनी त्यसको भोलिपल्ट कोरोना जाँच गर्ने कोहलपुरमा रहेको निजि प्रयोगशाला बागेश्वरी ल्यावमा पुगिन् । र स्वाव दिएर आइन् । स्वाव दिएको बेलुका नै रिपोर्ट आएको कोरोना पोजेटिभ भएको ।

त्यो रिपोर्ट कोभिट १९ संकट व्यवस्थापन केन्द्र बाँकेले सार्वजनिक गर्यो । आफुलाई कोरोना लागेको त्यतिखेरसम्म पनि थाहा छैन उनलाई । जनस्वास्थ्यका कर्मचारीले उनका आफन्तसँग कुरा गरेपछि बल्ल घरमा उनले थाहा पाईन् तर आफुलाई कोरोना पोजेटिभ लागेको आधिकारी जानकारी उनले कहिंबाट पाईनन् ।

त्यसपछि जहाँ स्वाव दिएकी थिइन् बागेश्वरी ल्यवमा त्यहिं फोन गरी वास्तविकता बुझ्न अनि बल्ल थाहा पाईन् आफुलाई कोरोना पोजेटिभ भएको । यहि भदौ ११ गते विहान स्वाव दिईन्, बेलुका सरकारी तवरबाट रिपोर्ट सार्वजनिक भयो, राती उनले थाहा पाइन् । भदौ १२ गते विहान हुँदासम्म पनि उनलाई आईसोलेशनमा बस्ने कहाँ जाने कसैको फोन आएन ।

त्यतिखेरसम्म उनको शारीरिक अवस्था झन–झन नाजुक बन्दै गइरहेको थियो । उनलाई श्वास फेर्न निकै गाह्रो भइसकेको थियो । उनका आफन्तले १२ गते विहान ७ बजेतिर फोकल पर्सन नरेश श्रेष्ठलाई फोन गरेर भने ‘यहाँ धेरै गाह्रो भइसकेको छ कोरोना पोजेटिभ हिजो नै देखिएको हो तर कसैले केही चासो राखेको छैन कहाँ लग्ने के गर्ने ?’

श्रेष्ठले उताबाट जवाफ दिए ‘पोजेटिभ देखिएका विरामीको उद्धार गर्ने काम नगरपालिकाको हो समन्वय उसैले गर्छ के भएछ बुझ्छु ।’ उनका आफन्तले फेरी फोन गरे श्रेष्ठले एम्बुलेन्स खोजिरहेको जवाफ दिए । त्यति गर्दा गर्दै विहानको १० बजिसकेको थियो ।

अनि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ् र फोकल पर्सन नरेश श्रेष्ठको समन्वय र पहलमा ती महिलाको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

उनकी आमाले सेतोखरीसँग भनिन् ‘दुई दिनसम्म धाउँदा पनि सरकारीले त कोरोना जाँच नै गरिदिएन । पैसाको लोभ मानेर निजीमा कोरोना जाँच नगराएको भए त रोग नै पत्ता नलागेर छोरीको अकालमै ज्यान जान सक्थ्यो ।’

कोरोना लागेको नलागेको थाहा पाउन पिसिआर टेस्ट बाँके जिल्लामा पावर र पहुँचका भरमा हुने गरेकाले सर्वसाधारणहरुको पिसिआर चेकजाँच प्रभावकारी रुपमा हुन सकेको छैन । जनस्वास्थ्यका कर्मचारी, भेरी अस्पताल ल्यावका कर्मचारी, जिल्ला प्रशासन कार्यालयसँग पहुँच भएकाहरुको सहज रुपमा पिसिआर टेस्ट हुने गरेको छ भने सर्वसाधारण ढोकैबाट फर्काइने गरेका छन् ।

सो कुरालाई फोकल पर्सन नरेश श्रेष्ठ स्विर्काछन् । उनले केही त्रुटी र कमिकमजारी हुन गएको उल्लेख गर्दै माथिल्लो स्तरबाट सबै टिमहरुलाई निर्देशन दिइसकिएको र सुधारिएर अगाडी बढ्ने जानकारी दिए ।