नेपालगन्ज : कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि नेपालगन्ज उपमहानगरपालिकाले ४ करोडबढि रकम खर्च गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १ देखि २३ वटै वडामा कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरण एवम वडाबासीका लागि राहतका लागि उक्त रकम खर्च भएको उपमेयर उमाथापा मगरले जानकारी दिइन ।
सेतोखरीसंग कुरा गर्दै उपमेयर उमा थापा मगरले भनिन्–‘प्रकोप व्यवस्थापन कोषमा विभिन्न दाताले जम्मा गरेको एक करोड ७१ लाख ७८ हजार १ सय ४६ रुपैँया मध्ये एक करोड ५२ लाख १३ हजार ५ सय २० रुपैँया खर्च भइसकेकोछ ।’
उक्त रकम उपमहानगरपालिकाले विभिन्न स्वास्थ्य सामग्री खरिद, भाडामा बसेकालाई राहत वितरण, क्वारेन्टिन तथा आइसोलेसन सञ्चालन एवम् ब्यवस्थापन, जिल्ला विपद् ब्यवस्थापन कोषलाई प्रदान र विविध खर्चमा उक्त रकम खर्च भएको उनले जानकारी दिइन ।
उपमेयर थापाका अनुसार सो कोषमा संघीय सरकार, प्रदेश सरकार, विभिन्न सहयोगीदाता, कर्मचारी, संघसंस्था र ब्यक्तिले सहयोग रकम प्रदान गरेका थिए ।
सेतोखरीसंग कुरागर्दै उपमेयर थापाले अगाडी थपिन्–‘कोभिड–१९ बाट प्रभावित समुदायलाई २३ वटा वडा कार्यालयले दुई करोड ५५ लाख ३४ हजार २ सय ५० रुपैँया बराबरको राहत सामग्री वितरण गरिसकेकोछ । उनले अगाडी थपिन–‘यसरी वडामा राहत वितरण गर्दा उपमहानगरपालिकाका २३ वटा वडाले १४ हजार पाँच सय ९१ जनालाई राहत वितरण गरिसकेको बताईन ।’
‘यो सबै रकम जोड्दा कोभिड–१९ सँग सम्बन्धित विभिन्न शीर्षकमा कुल चार करोड सात लाख ४७ हजार ७ सय ७० रुपैँया खर्च भएको छ,’ उनले सेतोखरीलाई जानकारी दिइन् ।
यस्तै उपमेयर थापाले कोरोना भाइरस संक्रमणको अवस्थमा राहत वितरण गर्नेक्रममा सवैभन्दा धेरै वडा नम्बर ४ ले खर्च गरेको तथ्यांकले देखाएको बताईन ।
वडा नम्बर ४ ले २८ लाख ६८ हजार २ सय ५० रुपैँया खर्च गरेको छ । भने सवैभन्दा कम वडा नम्बर २३ ले एक लाख ८ हजार पाँचसय रुपैँयाको राहत वितरण गरेको उपमेयरले जानकारी दिइन ।
वडामा वितरण गरिएको राहतको आँकडा हेर्दा २३ वटै वडा कार्यालयमार्फत १४ हजार ५ सय ११ जनालाई राहत वितरण गरेको पाइएकोछ । जसको कुल रकम दुई करोड ५५ लाख ३४ हजार २ सय ५० रुपैयाँ हुन आउने उपमेयर थापाले बताईन ।
बाँकेमा बन्दाबन्दीको अवस्था खुला गरिएको भएपनि पछिल्लो पटक कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेकोछ । आईतबार बेलुकासम्म बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार नाघेकोछ । यसबीच बाँकेमा ६ जनाको ज्यान गइसकेकोछ । जसमा सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकाका तीन जनाको ज्यान गएकोछ ।