नेपालगन्ज : जेठ १३ गते पहिलो पटक बाँकेका पत्रकारलाई कोरोना भाइरस संक्रमण भयो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २ निवासी पत्रकार मेघराज ओली जिल्लामा पहिलो कोरोना संक्रमित बने ।
संक्रमित भएपछि उनी बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बसे । आईसोलेसनको १४ दिने बसाई तथा स्वास्थ्यलाभ पश्चात उनी कोरोना मुक्त भए । अहिले उनको सामान्य दैनिकी चलिरहेकोछ ।
कोरोना भाइरस संक्रमणको जोखिम ढ्दै जाँदा बाँकेमा पुनः अर्का पत्रकार कोरोना संक्रमित बन्न पुगे । समाचार रिर्पोटिङ्गकै क्रममा शंका लागेर साउन २१ पत्रकार खगेन्द्र दाहालले स्वाब परीक्षण गराए । साउन २३ गते आएको रिर्पोटमा दाहाल पोजेटिभ पाइए ।
पोजेटिभ पाइएपछि उनले धम्बोझी स्थित सिटीप्यालेस आइसोलेसनमा १४ दिन पुरा गरेर १५ दिनको दिन डिस्चार्ज भए । यही ५ गते तीजका दिन उनी डिस्चार्ज भएर घर गएको बताए । सेतोखरीसंग कुरा गर्दै दाहालले भने ‘शंका लागेर जचाउँदा संक्रमित बने । आइसोलेसनमा रहदाँ सामान्य रुघाखोकी भएको थियो । आत्मबल बलियो बनाएर तातोपानी पीउन, बाफ लिने र शारीरिक ब्यायम गरिरहे । निको भयो । अहिले पुनः आफ्नो दैनिकीमा फर्किएको छु ।’
यस्तै सञ्चारकर्मी कमल विक निर्मोहीलाई साउन २७ गते कोरोना देखियो । कोरोना पोजेटिभ देखिएका उनी साउन २८ खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना भए ।
आइसोलेसनमा भर्ना भएका सञ्चारकर्मी विकलाई सामान्य फ्लु थियो र मुख स्वादको स्वाद हराएको थियो । सेतोखरीसंग कुरा गर्दै भने ‘लगातार १४ दिनसम्मको आईसोलेसन बसाईपछि कोरोनालाई जितेर घर फर्किए ।’ उनले –‘ गत भदौ १३ भदौ गते शनिबार म डिस्चार्ज भएँ । अहिले म स्वस्थ्य छु । पुनः आफ्नो दैनिकीमा फर्किसकेकोछु ।’
यसबीच कोरोना र कोरोनाका विरामीको समाचार लेख्दा लेख्दै पत्रकार दामोदर भण्डारी आफैलाई कोरोना पोजेटिभ देखिएको छ । सोमबार विहान देखि उनलाई ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा समस्या आएको थियो । यो यसअघि कोरोना संक्रमित पत्रकारमा देखिएको भन्दा फरक खालको कोरोना हो ।
यसअघिका संक्रमित पत्रकारलाई कोरोना सम्बन्धि लक्षण नै नदेखिएको भन्दा हुन्छ । यद्यपी पत्रकार दामोदर भण्डारीलाई ज्वरो, रुघाखोकी र श्वास प्रश्वा समस्याले सोमबार दिउँसोदेखि एक्कासी बढी च्यापेको थियो ।
फिजिसियन चिकित्सकलाई देखाउँदा छातीको एक्सरेमा दाग देखिएपछि ती चिकित्सकले पत्रकार भण्डारीलाई पीसिआर टेस्ट गराउन सल्लाह दिएका थिए ।
पीसिआर टेस्ट गराएका भण्डारीको रिर्पोट आज मङ्गलबार विहान आउँदा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
पत्रकार भण्डारीलाई १०२ डिग्रीसम्म ज्वरो आएको छ, भने श्वास प्रश्वासमा समस्या भएको छ । उनलाई यतिबेला उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ ।
जेठदेखि भदौ महिनासम्म आइपुग्दा यी चार महिनामा बाँकेका ४ जना पत्रकारलाई कोरोना संक्रमण देखिएकोछ । पछिल्लो पटक बाँकेमा कोरोना संक्रमित थपिरहदा फ्रन्टलाईनमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरु संक्रमित हुन थालेपछि यसले थप त्रासको वातावरण सिर्जना गराएकोछ । हालसम्म बाँके जिल्लामा कोरोना संक्रमित संख्या १ हजार ४३ जना रहेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले बताए । उनका अनुसार ६ जनाको मृत्यु भइसकेकोछ । जसमा नेपालगन्जका ३ जना रहेकाछन् ।