विद्यार्थीलाई खेलमैदानकै सकस


विद्यार्थीलाई खेलमैदानकै सकस

नेपालगन्ज : यतिवेला नेपालगन्जमा मिसन आठौं खेलकुद–२०७५को सरगर्मी छाएकोछ । आठौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मा लिएको मध्यपश्चिम खेलकुद विकास समिति प्रदेश नम्बर पाँचले प्रतियोगिता सम्पन्न गर्न हरसम्भव प्रयासहरु अगाडी सार्दै आएकोछ । भौतिक संरचनासगैं खेलकुदको अभ्यासका लागि सवैले आ–आफ्नो तयारी गरिरहेकाछन् ।

तर बाँके जिल्लाकै एक मात्र छात्रा अध्ययन गर्ने विद्यालय सरस्वती उच्च माध्यमिक विद्यालयका छात्राहरुलाई मैदानको पीडाले सताईरहेकोछ । उनीहरु विद्यालयमा खेलमैदान नहुँदा नगरमा रहेको खुल्ला चउरमा विभिन्न खेल अभ्यास गर्ने गरेकाछन् । विद्यालयमा खेलमैदान नहुनु र अभ्यासका लागि नेपालगन्ज रङ्गशाला वा मङ्गल प्रसाद उमाविको खेलमैदान प्रयोग गर्ने स्कुले विद्यार्थी यतिवेला खेलमैदानको अभावमा खुला चउर प्रयोग गर्न बाध्य भएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

विद्यालयसंगै रहेको टण्डन राईस मिलको खाली जमिनमा विद्यालयका किशोरीहरु हाथमा ब्याट, बल लिएर क्रिकेटको अभ्यास गरिहेकाछन् । बुधबार मध्न्हको समय भएकाले ती विद्यार्थीले टण्डन राईस मिलको खाली जग्गामा अभ्यास गरिरहेकाछन् । प्लटिङ्ग गरिएको जमिन, खुला स्थान र सो चउरमा यत्रतत्र फालिएका फोहोरकाबीच सरस्वती उमाविका विद्यार्थी खेल अभ्यासमा अभ्यस्त देखिन्थे ।

खुल्ला चउरमा बुधबार क्रिकेट खेल अभ्यास गरिरहेका सरस्वतिका विद्यार्थीले खेल्दा सीसा, फलाम त कहिले मानिसको दिसा कुचल्ने गर्छन् तर पनि उनीहरु वेप्रवाह खेलमा अभ्यस्त रहन्छन् । यसरी जिल्लाकै एकमात्र छात्रा अध्ययन गर्ने विद्यालय त्यसमा पनि खेल मैदान नहुनुले विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नसकेको उनीहरु बताउछन् ।

जिल्लामा छात्रामात्र अध्ययन गर्न पाउने एक मात्र विद्यालय नेपालगन्जमा ७७ वर्षदेखि सञ्चालनमा छ । तराई क्षेत्र बाँकेको सदरमुकाम नेपालगन्जमा मधेशी समुदायको बाक्लो बसोबास छ । सुरुवातका वर्षहरुमा मधेसी समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे ।विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध्यमिक विद्यालय खोल्न प्रस्ताव गरे र सरकारीस्तरबाट छात्रामात्र अध्ययन गर्न पाउने सरस्वती माध्यमिक विद्यालय नेपालगन्जमा स्थापना गरियो ।

छोरीलाई विद्यालय पढाउनुपर्छ, तर एउटा छुट्टै विद्यालय चाहिन्छ भनेर शिक्षाप्रेमी स्वर्गीय केदारनाथ टण्डन र स्वर्गीय रामगोपाल टण्डनको सक्रियतामा विसं १९९८ मा सरस्वती विद्यालय स्थापना गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाकै पुरानो विद्यालयमध्ये एक सरस्वती माध्यमिक विद्यालयमा खेलमैदान नहुँदा विभिन्न अतिरिक्त क्रियाकलाप गर्न नसकिएको विद्यालय शिक्षक बताउँछन् ।

नेपालगन्जभित्र रहेका अधिकासं सामुदायिक विद्यालयको अवस्था यस्तै छ । नेपालगन्जको पुराना गनिएका विद्यालय नारायण उमावि, महेन्द्र उमाविदेखि लिएर नगरका अन्य आधारभूत विद्यालयहरुमा खेलमैदान छैन । जसका कारण विद्यालयमा पढ्ने बालबालिकाहरु पठनपाठन बाहेक अन्य अतिरिक्त क्रियाकलापमा सहभागि हुन सक्दैनन ।

नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका सरस्वती उमावि, नारायण उमावि, महेन्द्र उमावि, फुल्टेक्रा मावि, युद्धसंस्कृत मावि, ज्ञान सागर मावि तथा नेराप्रावि रानीतलाउ, घरबारीटोल, वागेश्वरीटोल, कोरियनपुर लगायतका विद्यालयमा खेलमैदान छैन । उनीहरुले विद्यालयमा हुने वा जिल्लामा आयोजना हुने खेलकुदमा खासै भाग लिदैनन् । लिए पनि विद्यार्थी स्वयमले आफ्नो तयारी गरेकै भरमा खेलकुदमा सहभागि हुन्छन् ।

अझ नेपालगन्ज उपमहानगरपालिका हुदाँ थपिएका दश गाविसका विद्यालयहरुको अवस्था पनि यस्तै छ । पुरैना (हाल वडा नम्बर २१)मा रहेको दुई विद्यालयका लागि प्रसस्त खेलमैदान छ तर उपयोगी हुन सकेकोछैन । यस्तै पुरैनी(हाल वडा नम्बर २२) मा किंगरियनपुर्वा र पुरैनीमा रहेको दुई विद्यालयमा खेलमैदान छैन । सो विद्यालयले खेलकुदका लागि बाबाकुट्टी र खुल्ला खेतको प्रयोग गर्नेगर्छन् । यस्तै जयसपुर, पिप्रहवा, काँरकादोका विद्यालयमा प्रयाप्त खेलमैदान छैन । नगरमै सञ्चालित सामुदायिक विद्यालयलाई खेलमैदानको अभवाले सताउने गरेकोछ ।