नालामा फोहोरको थुप्रो, नगरपालिका मौन


नालामा फोहोरको थुप्रो, नगरपालिका मौन

फोहोरले भरिएको न्यूरोडको नाला, फोहोर खानेकुरा खाँदै छाडा पशु । ( तस्विरः विजय मल्ल/सद्भाव)

नेपालगन्ज : वर्षातको पानीले केही बगाउँदा खाली देखिएको उप–महानगरपालिका भित्रको मुख्य नाला ६ महिना नपुग्दै फोहोरले पुनः भरिएको छ । फोहोरका कारण नालामा बग्ने पानी थुनिएको छ । दैनिक न्यूरोड क्षेत्रबाट आवात–जावत गर्ने नागरिकले नालाको अवस्था हेर्दै नाक खुम्च्याउँछन् । तर, सफा र स्वच्छ नगरको नारा लगाउँदै आएको उप–महा नगरपालि कार्यालयले नालामा भरिएको फोहोर उठाउने विषयमा कुनै पहल थालेको देखिँदैन ।

नेपालगन्जको समृद्धि सपना बुन्ने तर सबैभन्दा धेरै फोहोर उत्पादन गर्ने व्यवसायीले पनि यसको जिम्मेवारी लिन चाहेका छैनन् । फोहोरले नाला थुनिँदा पानी जमेको छ । साथै होटलका भान्साबाट निस्किएका कच्चा पदार्थ नालामै थुनिँदा नगरक्षेत्रभित्र दुर्गन्ध फैलिएको छ । दैनिक रुपमा फोहोर उठाउनका लागि नगरपालिकाले कर्मचारी खटाएपनि उनीहरुले मुख्य सडक छेउको फोहोर उठाउने बाहेक अन्य कुनै काम गर्न सकेका छैनन् ।

उप–महानगरको मुख्य सडक क्षेत्रभित्रको अवस्था हेरिनसक्नु छ। व्यवसायीका पसलबाट निस्केका कागज र होटल व्यवसायीका फोहोर नालामै मिसाउनाले भित्री क्षेत्रमा दुर्गन्ध फैलिएको नागरिकको गुनासो छ । निर्वाचित भएपछि उप–महानगरको फोहोर हटाउँदै स्वच्छ बनाउने नारा लगाएका जनप्रतिनिधिले अहिलेसम्म भित्री क्षेत्रका नालामा जम्मा भएको सयौं क्वीन्टल फोहोरको व्यवस्थापनका विषयमा कुनै योजना सार्वजनिक गरेका छैनन् ।

Kanti Aarogya Hospital Nepalgunj

न्यूरोड क्षेत्रको नाला मात्रै होइन, भित्री सडक छेउका सबै नालाको अवस्था उस्तै रहेको छ । जसको ज्वलन्त उदाहरण घरबारीटोललाई लिन सकिन्छ । एक तथ्यांक अनुसार नेपालगन्ज उप–महानगरपालिकाभित्र दैनिक ३२ मेट्रीक टन भन्दाबढी फोहर उत्पादन हुन्छ । तर, भित्री क्षेत्रका नालामा फालिने फोहोरको कुनै हिसाब किताब भएको देखिँदैन ।

यसरी दैनिक रुमपमा फोहोरले नालाहरु थुनिन थालेपछि स्थानीयले उपमहानगरको चर्को बिरोध गरेका छन् । ‘पैसा कमाउनलाई व्यवसाय गर्ने तर फोहोर सार्वजनिक नालीमा फाल्ने,’ न्यूरोड क्षेत्रका एकजना नागरिकले भने, ‘हामीबाट कर नछाडेर लिने नगरपालिकाले फोहोर उत्पादन र दुर्गन्ध फैलाउने व्यवसायीलाई किन छुट दिएको छ ?’

दैनिक रुपमा व्यवसायीले फोहोर नालामा फाल्न थालेपछि नेपालगन्जका मुख्य सडककै नाला समेत गन्हाउने भएका छन् । जो कोही बुटुवाले पैदल हिँड्दा बाटोमा नाक थुनेर आवात जावत गर्ने गरेका छन् । न्यून गुणस्तरीय धुलाम्मे सडकमा नाक थुनेर हिड्नु परेको बाध्यताको समाधानका लागि निकायले कुनै कार्यक्रम नल्याएको स्थानीय बासिन्दा मोहन क्षेत्रीले बताए । ‘हामी भाडामा बस्ने मानिसहरुबाट समेत फोहोर उठाएको पैसा लिने गरिएको छ, तर भान्सा अगाडि दुर्गन्ध आउने नाला सफाई गरिएको छैन,’ उनले भने, ‘निर्वाचनपछि नगरलाई सुन्दर बनाउने ठूला सपना मात्रै बाँडे, धुम लागेर फैलिएको दुर्गन्ध व्यवस्थापन गर्न कुनै योजना ल्याउन सकेका छैनन् ।’

उनले भित्री सडक छेउमा फोहोर उठाउने निजी क्षेत्रले बहालमा बस्नेहरुसँग पनि दैनिक एक सय ५० रुपैयाँ असुल्दै आएको छ । ‘दैनिक क्वीन्टल फाहोर उत्पादन गर्ने व्यवसायीले नालामा फाल्दा कुनै शुल्क लिएको छैन,’ उनले थपे, ‘तर हामी दुई÷चार जनाको थोरै फोहोरको समेत एक सय ५० तिर्नुपरको छ ।’

न्यूरोड–बागेश्वरी मन्दिर हुँदै बग्ने नेपालगन्जको मुख्य नाला उपमहानगरको अगाडी बाटै बग्ने गरेको छ । एक सय मिटर पश्चिमबाट बगेको नालबाट आउने दुर्गन्ध उप–महानगरसम्म आएपनि सफाई गर्नुको साटो सुँघेर बस्ने बाहेक सफाईमा ध्यान दिइएको छैन । फोहोरकै कारण वर्षातमा नाला थुनिदाँ बजार क्षेत्रका सयौं घरहरु डुबानमा पर्ने गरेका छन् । यता उप–महानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले यसअघि नगर डुवानको समस्या नहुने पत्रकारहरुसंगको एक छलफल कार्यक्रममा उद्घोष गरेका थिए । एडिबीको सहयोगमा नगरको नाला चौडा बनाइनुका साथै सफाई पनि हुने हुदाँ अब नेपालगन्ज डुवानमा नपर्ने उनले बताएका थिए । तर, उपमहानगरपालिकाले न्यूरोडसंग सटेको नाला सफाई गर्नु र त्यहाँ फोहोर फाल्न रोक्नतर्फ ध्यान दिन सकेको छैन ।