मंगलबार, असोज ६, २०७७   ०५:३६:२२

कोरोनाबाट मृतपतीको शरीरमा जब उनी घोप्टो परि परि रोइन्


सांकेतिक तस्विर

कोहोलपुर (अस्पतालको शय्याबाट): पती ब्यूँझिने आशामा उनी हरेक पल, हरेक क्षण पर्खिरहेकी थिइन् । कोरोना पोजेटिभ भएका उनका पती आईसियूमा थिए । पतीलाई कोरोना थियो तर, पत्नीलाई थिएन ।

आर्घाखाँची घर भएका ती ४२ वर्षिय युवकको श्वास आइसियूमा रहेको भेन्टिलेटरले चलाईदिइरहेको थियो । उनी निःशब्ध थिइन् । पती कहिले ब्यूँझिने हुन् कुनै अत्तोपत्तो थिएन । उनको अत्यास, उनको छटपटी र उनको अनुहारले धेरै कुरा झल्काउँथ्यो । डाक्टर र नर्सले जसो जसो भन्थे त्यही विश्वासमा आफ्नो मन बुझाएर बसेकी थिइन् उनी ।

अचेत अवस्थामा रहेका कोरोना लागेका पतीलाई उनी सुम्सुम्याउदै चिसो कपडाले कहिले शरीर पुछिदिन्थिन् त कहिले पानी राख्ने कागजको गत्ता च्यातेर शरीरमा हावा हम्किदिन्थिन् । किन की आइसियुमा एसी थिएन ।

कोरोनाले विरामी भएर म पनि कोहलपुर स्थित नेपालगन्ज मेडिकल शिक्षण अस्पतालको कोभिड आसियु वार्डमा भर्ना भएकोले सबै दृश्यहरु नियालिरहेको थिए । कोरोनाका कारण ज्वरो, श्वासप्रश्वासमा समस्या र निमोनियाले ग्रसित थिए म पनि । तर, एउटा पत्रकार भएकोले मनछुने कारुणिक दृश्यलाई समाचारमा नउतारी बस्न सकिन । ल्यापटपसँगै रहेकाले क्यानला लगाएको हातले दुखाई सहेर भएपनि अक्षरहरु टाइप गरें ।

बेला बेलामा उनी भक्कानिएर रुन्थिन् हामी सबैसँग सोध्थिन् ‘वहाँलाई त ठिक हुन्छ होला नी है ।’ सायद उनलाई डाक्टरको मात्र विश्वास नलागेर मन बुझाउन हामीलाई सोधेकी होलिन् । उनको उपचारमा नेपालगन्ज मेडिकल कलेजका डाक्टर, नर्स सबै तल्लिन थिए ।

उनको २४ घण्टा पतीको बेडमुनी बास हुन्थ्यो । बेला बेलामा उठ्दै भेन्टिलेटरबाट कृतिम श्वास लिइरहेका पतीको स्याहर सुसार गरिरहन्थिन् उनी । मैले जति पटक देख्थे अचेत रहेका पतीलाई गर्मी भयोहोला भनेर कागजको गत्ताले हावा हम्किरहेकी हुन्थिन् उनी । पतीप्रतीको अथाह मायाभाव झल्किन्थ्यो उनमा ।

आफुलाई कोरोना लाग्छ भन्ने उनलाई रत्तीभर डर थिएन । उनी पती ब्यूँझिने आशामा मात्र समर्पित थिइन् । राती १–२ बजेसम्म पनि उनी निदाउँदैन थिइन् । पतीको बेड छेउमा पतीलाई हेर बसिरहन्थिन् । टोलाएर बसिरहेकी हुन्थिन् ।

विहान उठ्ने, आफुले नुहाइधुवाई सक्ने अनि चिसो कपडाले पतीको शरी पुछिदिने र राती १–२ बजे सम्म पतीलाई कुरेर बस्ने उनको दैनिकी भइसकेको थियो । डाक्टरले राम्रो संकेत दिएर होला कहिले उनको मुहार अलि हँसिलो देखिन्थ्यो । तर, धेरैजसो उनका आँखामा आँशु छचल्किरहेका हुन्थे । आवाज ननिकालेर रोइरहेकी हुन्थिन् उनी । मैले आँशु पुछिरहेको मात्र देख्थे ।

एउटा पतीका लागि एउटी पत्नी कतिसम्म आफुलाई समर्पित गर्छिन भन्ने उनीमा प्रष्ट देखिन्थ्यो । पती ब्यूँझिने पर्खाइ, वेदना र उनी कल्पियको देखेर आइसियु वार्डमा आँशु नखसाल्ने कोही थिएन । आँखाबाट मेरा पनि आँशु झरे ।

पती र पत्नी विचको अटुट माया यिनीहरुबीच दुरुस्त झल्किन्थ्यो । २०७७ भदौ २३ गते विहान एकाएक चिच्याहटको आवाज आयो । सामान्य मान्छे रोयको भन्दा फरक । चिकित्सक, नर्सहरु दौडदै गए, कहिल्यै नब्यूँझिने गरी उनले प्राण त्यागि सकेका रहेछन् ।

पती ब्यूँझिने आशामा उनले गरेका हरेक प्रयास, नसुतेर बिताएका कयौं रात सबै निरर्थक रहे । डाक्टरले मृत घोषणा गरिदिएपछि कोरोना लागेका पतीको मृत शरीरमा उनी घोप्टो परि परि रोइन् । भक्कानीदै रोइन् । रुँदा रुँदा उनको आवाज नै बन्द भयो ।