नेपालसहित विश्वभर मनाइँदै बीपी जयन्ती


नेपालसहित विश्वभर मनाइँदै बीपी जयन्ती

नेपालगन्ज : नेपाली काँग्रेसका संस्थापन तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । काँग्रेसले संस्थापक नेता बीपीको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर नेपालसहित विश्वभर मनाउँदै छ ।

काँग्रेसले जिल्ला र विदेशस्थित जनसम्पर्क समितिहरुलाई परिपत्र गरेर कोरोना प्रतिकुलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरेर अनिवार्य रुपले भौतिक दूरी कायम गर्दै अनिवार्य मास्क प्रयोग गरेर वा ‘भर्चुअल’ रुपमा कार्यक्रम गर्न निर्देशन दिएको छ ।

बीपी जयन्तीको अवसरमा तय गरिएका कार्यक्रमअन्तर्गत राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रम पनि समावेश गरिएको काँग्रेसले जनाएको छ । बीपी जयन्तीको अवसर पारेर केन्द्रीय कार्यालयले तीन दिने कार्यक्रम तय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार आज (बुधबार) दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समुन्नतिको मूल बाटो’ विषयक ‘भर्चुअल’ विचार गोष्ठी आयोजना गरिने भएको छ । केन्द्रीय कार्यालयको संयोजनामा हुन लागेको विचार गोष्ठीलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

भोलि (बिहीबार) दिउँसो १ बजे ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बीपीको योगदान’ विषयक ‘भर्चुअल’ कार्यक्रम गरिने मुख्यसचिव पौडेलले बताए । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा हुने उक्त कार्यक्रमलाई उपसभापति विमलेन्द्र निधि र विज्ञहरुले सम्बोधन गर्नेछन् ।

काँगेसले पर्सि (शुक्रबार) ‘विचार निर्माण एवं प्रचारमा बीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयक ‘भर्चुअल’ अन्तर्क्रिरया गर्ने भएको छ । सूचना, सञ्चार तथा प्रचार विभागको संयोजनमा शुक्रबार दिउँसो १ बजेबाट सुरु हुने अन्तक्रियालाई केन्द्रीय सदस्यद्वय नरहरि आचार्य र प्रदीप गिरिले सम्बोधन गर्नेछन् ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका बीपीको १९७१ भदौ २४ गते जन्म भएको थियो । क्यान्सर रोगले बीपीको २०३९ साउन ६ गते निधन भएको थियो ।