विचार

के यसरी बढ्छ त प्रतिरक्षा शक्ति ?


के यसरी बढ्छ त प्रतिरक्षा शक्ति ?

कोरोनाका कारण विद्यालय र कलेजहरु बन्द भएपछि कक्षा १२ को फाइनल परीक्षाको तयारीमा जुटिरहेकी छोरी प्रविधि घरमा आएर हामीसँगै बसिरहेकी छिन् । हामीले उनका निम्ति घरको वातावरण उनीमैत्री बनाउन कोशिस गरिरहेका छौं । उनकै सहमतिमा उनले गर्ने कामको टाइमटेवल किटान भएको छ ।

विहान एकछिन पढ्छिन् । भान्सामा गएर कहिले मम्मीलाई त कहिले भाउजुलाई सघाउँछिन् । दिउँसो कहिले अनलाइन सिकाइमा त कहिले मोवाइलमा समय बिताउँछिन् । हामीलाई लागेको थियो, विद्यालयमा रहँदाको होष्टेलको बसाई, समूहको खानपीन, पढाईको तनाव आदिमा हुर्किदाको अवस्थामा भन्दा आफ्नै घरमा बाबाआमा र परिवारका सदस्यहरुसँग रहदाँबस्दा उनी बढी खुशीको अनुभुति गर्नेछिन् । तथापी छोरीले हामीसँग खुशी छु भनेर दोहोर्याइ रहेपनि परिणाम हामीले अपेक्षा गरेजस्तो देखिएको छैन ।

घरमा आएपछि अलि दुब्लाएकी छिन् छोरी । मैले सहजै अनुमान गरें, यो उमेर भनेको साथीहरुसँग सुखदुःख बाड्दै रमाउने, हुर्कने र काम गर्ने उमेर हो न कि बाबाआमासँग खुम्चिएर बस्ने ।

मेरो छोरी जस्तै विद्यालय तहमा अध्ययन गर्ने हाम्रो देशका करिव ८० लाख विद्यार्थीहरु अहिले पनि मेरो छोरीकै अवस्थामा घरमै बसिरहेका छन् । एउटा कुरा त घरको वातावरण जति अनुकूल र उनीहरुमैत्री भएपनि यो उमेर घरमा कुञ्जिएर बस्ने उमेर होइन । जति राम्रो खाना दिए पनि पिँजडामा बन्द सुगा झै हुँदोरहेछ यतिबेलोको उनीहरुको जीवन । उनीहरुमध्ये कतिपयको त घरको वातावरण अनुकूल छैन । परिवारका सदस्यहरुले उनीहरुको भावना बुझ्दैनन् । विभिन्न निहुँमा उनीहरुसँग झनझन फननफन गरिरहन्छन् ।

Kanti Aarogya Hospital Nepalgunj

कतिपयका लागि जन्मदिने बाबुआमाले नै जानी वा नजानी सन्ततिहरुका निम्ति दुर्भाग्य बनिरहेका छन् । घरमा खुम्चिएर बस्नु एउटा पीडा त छदैछ । त्यसैमा फेरि घरका सदस्यहरुको टिकाटिप्पनी र टोकसोले उनीहरुमा क्रमशः मनोबैज्ञानिक समस्याहरु सिर्जना हुन थाल्छन् । रातमा निद्रा नलाग्ने, निद्रा लागेपनि सपना राम्रो नदेख्ने, सपनामै बर्बराउने, रुने, कराउने, मन कमजोर बनाउने, जिन्दगी प्रति उदासिन हुने, सानातिना कुरामा समेत आफ्ना कुरा राख्न डराउने जस्ता व्यवहारहरु देखिन थाल्छन् । यसरी मानसिक अवस्था क्षीण हुन थालेपछि यसले शारीरिक अवस्थामा समेत नकारात्मक असर पुर्याउँछ ।

कहिलेकाही सरकारी संयन्त्र र कोभिड विशेष कार्यक्रमहरुमा मनोवल उच्च बनाउनु पर्दछ । मनोवल उच्च बनाएमा कोरोनालाई जित्न सकिन्छ भन्ने जस्ता विज्ञापन र सन्देशहरु सम्प्रेषण गरिन्छ । तथापि व्यवहारमा भने त्यस्तो छैन । विषको बीउ रोपेर अमृतको बेर्ना उमार्ने दुस्प्रयाश हुदैछ, जो सम्भव हुदैन । आत्मबल कमजोर हुने गरी परिवेश बनाउने अनि आत्मबल बढाउनुपर्छ भन्ने कुरा सम्प्रेषण गर्ने । यस्तो पनि सम्भव हुन्छ र ? विरामी भएर निको भएका अन्य मानिस लगायत डाक्टरहरुको अनुभवलाई बढाइचढाइ गरेर मिडियामा यसरी स्थान दिइरहेको छ कि कोरोना लाग्यो भन्ने बाँच्न गाह्रो छ । यस्ता खवरहरु सुनिरहेका मानिसहरुलाई कोरोना सङक्रमण प्रमाणित भयो भने अब मरिन्छ क्या रे भनेर सोँच्न बाध्य बनाएको छ सरकार अनि परिवेशले । जब कि जे जति महामारी भनेपनि कोरोना सङ्क्रमितमध्ये ९८ प्रतिसत भन्दा बढि मानिसहरु निको भएर घर फर्केका छन् । तथापि मानिसहरुलाई किन मानसिक हिसाबले कमजोर बनाइदै छ ? के यसरी बढ्छ त रोगसँग लडाइ गर्ने प्रतिरक्षा शक्ति ?

मानिसहरु कामबिहीन भएका छन् । कामबिहीन भएपछि बजेट बिहीन भएका छन् । बजेटबिहीन भएपछि भान्साबिहीन भएका छन् । काठमाण्डौैैंको टुडिँखेलमा खाना नपाएर भोकभोकै रन्थनिएका मानिसहरुको भीड बढ्न थालेको छ । अव्राहम मास्लोले भने झै मानिसको सबैभन्दा अति आवश्यक आवश्यकता भनेको खाना, नाना र छाना हो । त्यसमध्ये पनि खाना प्रमुख हो । जब कि व्यक्ति खाना नपाएर मर्ने स्थिति भइसक्यो भने अरु केबाट खतरा छ भन्ने कुरा उसले सोँच्न पनि सक्दैन । केही महिना पहिलेसम्म उसको सबै थियो । कोरोनाको कारणले उसको रोजगारी गुम्दै गुम्दै अब खाना नपाइ उसको जिन्दगी नै गुम्ने अवस्था आउने हो भने कोरोनाको नाममा किन यति बिघ्न सास्ती ? संस्थागत बिद्यालय बन्द हुँदा मात्रै दुई लाख भन्दा बढि मानिसहरुले रोजगारी गुमाएका छन् र उनीहरुको चुल्होमा आगो बल्ने कुरा सङ्कटमा परेको छ । तैपनि मानिसहरुका आवाज र आर्तनादहरु किन सुन्दैन सरकार ? यत्तिसम्म कि मानिसहरु निरुपाय भएर मृत्युलाई सुम्सुम्याउन बाध्य छन् । के यही हो कोरोनाबाट बच्ने उपाय ? के यसरी नै बढ्छ कोरोना बिरुद्धको प्रतिरक्षा शक्ति ?

धेरै लामो अनुभव भएका, धेरै वर्ष जेलजीवन विताएका र धेरै वर्षको आयु बाँचेका विद्वान र दिग्गज व्यक्तिहरु सरकारमा पुगेपछि अरुका कुरा सुन्न त्यति आवश्यक नहुँदो रहेछ क्या रे । त्यही भएर सरकारका मानिसहरुले आफ्ना नजिकका सल्लाहकारहरु बाहेक अरुका कुरा सुन्दैनन् भन्दा अन्यथा हुदैन । त्यही भएर पनि मानिसहरु वाक्कदिक्क भएर अन्य विभिन्न माध्यम र मिडियाहरुमा कराउँछन् । अहिले कराउनेहरुमा प्राकृतिक चिकित्सक, एकाध शिक्षाविद्, एकाध मेडिकल डाक्टर र केही सामाजिक अभियन्ताहरु देखिएका छन् । डाक्टर पूर्ण शाही लगायतका प्राकृतिक चिकित्सकहरुले कोरोनाको हाउगुजी देखाएर नागरिकलाइ मार्न पाइदैन भन्दै सरकारलाई चुनौती दिइरहेका छन् । सनातनदेखि चलिआएको प्राकृतिक चिकित्सा र आयुर्वेदीय उपचारका कुरा उठाउँदा उनीहरुसँग बहस गर्न समेत तयार छैन सरकार ? कुरा वेसारपानीका गरेपनि विश्व स्वास्थ्य सँगठनको पुच्छर भएपछि आफ्ना नागरिक भन्दा अरु नै प्यारो लाग्ने रहेछ । कारण के हो थाहा छैन मलाई । भगवान जानून् !

पीसिआर चेक गरेपछि थाहा भयो । मलाई कोरोना पोजिटिम रहेनछ । मैले यसलाई संयोग मानेको छु । विज्ञहरुका अनुसार कोरोना त जहाँ पनि हुन सक्छ । म हिड्ने बाटोमा हुनसक्छ । मैले काम गर्ने कार्यकक्षमा हुन सक्छ । मैले खाने खानेकुरामा हुन सक्छ । मैले उघार्ने ढोकाको चुकुल र पल्लामा हुनसक्छ । मैले चढ्ने बाइक र गाडीमा हुनसक्छ । मैले पढ्ने पत्रिका र किताबमा हुनसक्छ । साँच्चि यसो भएपछि कोरोनाले भेटाउँछ कि भनेर एउटा कोठामा बसेर वर्षौं बाँच्न सकिन्छ त ? मलाई त पूर्ण विश्वास छ, नेपालमा पनि गन्तिमा भएकाहरु भन्दा धेरैमा लागिसक्यो कोरोना । थाहा छैन, मलाई पनि लागेर सञ्चो भइसकेको हुनुपर्छ । नलागेको भए एकदिन लाग्ने कुरामा ढुक्क छु । तर, यसैबाट मरिन्छ भन्ने कुरा सत्य होइन । तथापि सरकारले भने होसियार, लाग्यो भने बाँच्न गाह्रो छ भनिरहेको छ । जतिसुकै लकडाउन गरे पनि र जतिसुकै गाउँ र टोल सिल गरेपनि कोरोना त फैलिरहेको छ । सरकारले त नेपालमा एकजना चाइनाबाट आएको विद्यार्थी बाहेक अरुलाई कोरोना हुन दिन्न भनेर लगातार तीन महिना लकडाउन गरेकै हो । नतीजा भने माछो–माछो भ्यागुतो भयो त आखीर !

त्यसैले मेरो त हार्दिक अनुरोध छ कि, कोरोनाको बारेमा सबैले गम्भीर भएर सोचौं । अहिले सरकारको ढुकुटीबाट तलब खानेहरु सरकारकै पक्षमा उसैको कुरामा समर्थन जनाइरहेका छौं । यो पाराले एकदिन यस्तो आउने छ कि सरकारी ढुकुटी रित्तिने छ र सरकारी ढुकुटीमा बाँचेकाहरुले त्यो सुविधाबाट बञ्चित हुनुपर्नेछ । अनि यसरी अहिले सुविधा थाप्नेहरु पनि टुडिँखेलमा गएर कुनै दिन कुनै मनकारी मानिसले आयोजना गरेको खाना वितरण कार्यक्रममा गएर खानाका लागि थाली थाप्नुपर्नेछ । हामी अहिले त्यही बाटो हिडिरहेका छौं । नेपालमा भोकले कोही पनि मर्ने छैन भनेर भाषण गर्नेहरु सरकारमा भएका बेला साँच्ची नागरिकहरु भोकले मर्ने स्थिति आइसकेको छ । नागरिकहरु भोकले मर्ने स्थिति भयो भने उनीहरुको कोरोना विरुद्धको प्रतिरक्षा शक्ति कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले सरकारले आफू हिँडिरहेको बाटोबाट हामी कहाँ पुग्दैछौं भन्ने कुराको समयमै हेक्का राख्न जरुरी छ । देशको भलो चिताउने सामाजिक अभियन्ता, लेखक, शिक्षाविद्, चिकित्सक आदिको कुरा पनि सुन्नुपर्छ जस्तो लाग्छ मलाई । जसले आफ्नो पद र रोजीरोटीको निम्ति भन्दा पनि देशको दूरगामी भलाईको निम्ति बोल्छन्, तिनीहरुका कुरा सुन्दा सत्ता छोट्टिने होइन कि लम्बिने सम्भावना हुने कुरा सरकारले नबिर्सिदा सबैलाई भलो हुने देखिन्छ ।

एउटा प्रचलित भनाइ छ, सिकाउन त समयले पनि सिकाउँछ र गुरुले पनि । तर, दुबैमा यत्ति फरक छ कि गुरुले सिकाएर परीक्षा लिन्छ भने समयले परीक्षा लिएर सिकाउँछ । भन्नुको मतलब, समयले हामीलाई यतिबेला धेरै कुराको परीक्षा लिइरहेको छ । लकडाउन कोरोना नियन्त्रणको अचुक उपाय होइन भन्ने कुरा सिकाएको छ । कुनै काम गर्दा जति लाभ हुन्छ त्यो भन्दा बढी नोक्सानी हुन्छ भने सरकारले सोँच्नु पर्दछ भन्ने कुरा सिकाएको छ । त्यसैले यो पङ्तिकार अनुरोध गर्न चाहन्छ कि परिवारमा भएका बृद्धबृद्धा र दीर्घरोगीलाई सकेसम्म कोरोना सङ्क्रमणबाट जोगाउन सरकार र परिवार दुबै पक्ष लागेर हरसम्भव प्रयास गरौं । अरु सबै क्रमशः काममा निस्कौं । कोरोनाको बिरुद्धको जनचेतना दिने भूमिकामा शिक्षकहरुलाई परिचालन गरौं । प्रधानमन्त्रीले भनेझै बेसारपानी लगायत हाम्रो भान्सामा परम्परादेखि पाक्दै आएका औषधीजन्य आहारबिहारलाई निरन्तरता दिने काम गरौं । योग गरौं । यातायात, सडकबाटो, विद्यालय, कलेज, कार्यालय आदि खोलौं । काम गरेर खानपाउने वातावरणको सिर्जना गरौं । मनोबल सबैको उच्च हुनेगरी काम गरौं । बल र बुद्धि दुवैको स्रोत पुलिस प्रशासनलाई नबनाऔंं । अन्यथा सरकार आफैले आफ्नो प्रतिरक्षा गर्न नसक्ने गरी थला पर्ने खतरा बढ्यो भने आफै थला पर्दै गएकोे सरकार र त्यसको अर्थतन्त्रले कसरी गर्छ अरुको प्रतिरक्षा ? सबैलाई चेतना भया ।