शुक्रबार, मंसिर १२, २०७७   ०७:१८:०१

आखिर सर्वसाधारणमा कोरोना आतंक कहिलेसम्म ?

तीन तहको सरकारका विभिन्न संयन्त्र कता छन् ?


शुक्रबार निधन भएकी ४६ वर्षीय महिलाको शनिवार अपराह्न मात्र कोरोना पुष्टी भयो । उनलाई बिहिबार अपरान्ह पोखराको गैरापाटन स्थित अस्पतालमा पुगेर उनी रहेको क्याबिन रुममा केही समय बसेर कुराकानी गर्नुका साथै उनी रहेको बेड समेत मिलाएर घरमा फर्केको थिएँ । त्यसबेला उनको अवस्था गम्भीर देखिएको थियो ।

उनको राती १ बजेपछि निधन भएको खबर पाएपछि बिहान सबेरै अर्थात ५ : ३० बजेतिर नै अस्पताल पुगेको थिए ।

अस्पताल पुगेका म सहितका आफन्तका बिचमा केही कुराकानी भएपछि अस्पतालसंग सम्बन्धित ३ जनालाई मैले मेरै मोबाईलबाट सम्पर्कको प्रयास गरें तर, २ जनाको स्वीच अफ थियो भने १ जनाको फÞोन रिसिभ भएन ।

त्यसपछि त्यहाँ उपलब्ध अस्पतालका  जिम्मेवार व्यक्तिसंग कुराकानी गरेपछि शव घरमा लैजान कुनै कुराले अप्ठेरो नरहेको जानकारी पायौँ ।
कोरोनाको बढ्दो प्रकोप र अस्पतालमा बिरामीको मृत्यु भएको कारण कतै कोरोना पनि हो कि भन्ने अनुमानका कारणले मात्र हामीले अस्पतालसँग बुझ्न चाहेकोले सम्पर्कको प्रयास गरेका थियौं तर, अस्पतालले बिरामीको कोरोना परीक्षणका लागि स्वाब लिईएको तथा कोरोना जाँच गर्नुपर्छ भन्ने बारेमा बिरामीका आफन्तलाई कुनै जानकारी दिएको थिएन ।

त्यसपछि मैले नै सिद्धार्थ क्लवमा सम्पर्क गरि शवबाहन तत्काल पठाईदिन आग्रह गरें । ३–४ पटक सम्पर्क गरेपछि करिव ३० मिनेटको अवधीमा शवबाहन अस्पताल आईपुग्यो । त्यसपछि अस्पतालकै कर्मचारी र अन्य दुईजना आफन्त मिलेर आईसियुबाट शव निकालेर शवबाहनमा राखेर शवलाई घर पठाईयो । 

त्यसबिचमा मैले मृतकका श्रीमान पोखराका स्थापित पर्यटन व्यवसायी ( नाताले मेरो भान्जा अनि ज्वाईको भिनाजु पनि) भएकोले वहासँग व्यवसायिक हिसाबले निकट रहेका ५–६ जना साथीलाई खबर गरेर साढ़े सात र आठ बजेतिर अन्त्येष्टि हुनसक्ने हुँदा निकट रहेका अरु केही व्यवसायी र साथीलाई पनि खबर गरिदिन आग्रह गरें ।

मृतकको शव घरमा पुगेपछि त्यहाँ पनि केही समय बसेर केहीलाई सान्त्वना दुई करिब आधा घण्टापछि म त्यहाँबाट निस्केर मेरो गाउँ चापाकोटमा त्यही दिन हुने पारिवारिक कार्य (दाजु निधन भएको १३ औं दिनको शुद्धाशुद्धी) मा हभागी भए ।

चापाकोटमा काम सकेपछि बेलुका पोखरा फर्केको र सोही दिन साँझ पनि मृतकको घरमा म सहित मेरो परिवारका अरु सदस्य समेत पुगेर झण्डै १ घण्टा बसेर कुराकानी गरि सबै आआफ्नो घरमा फर्कियौं ।

त्यसको भोलिपल्ट अर्थात शनिवार बिहान मृतकमा कोरोना पुष्टी भयो भन्ने कुरा सार्वजनिक भएपछि एकाएक आतंक शुरु भयो ।

त्यसपछि लगातार विभिन्न सञ्चार माध्यममा मृतकको सम्पर्कमा आएका मलामी सहित सबै होम आईसोलेशनमा र क्वारेन्टिनमा बसेका छन् भनेर समाचार आईरह्यो ।

म, मेरो श्रीमती र परिवारका अन्य सदस्यहरुपनि पनि यो घटनापछि स्वेच्छाले घरमा नै बसिरहेका छौ । मलाई कोरोना संक्रमण देखिएको हैन । तर, म आँफु कोरोना संक्रमित र तिनका आफन्तसंग नजिक पुगेकोले होम आईसोलेशनमा बसेको छु भनेर अरुलाई पनि भनिरहेको छु ।

आईतबार दिउँसो अर्कै सन्दर्भमा कुरा गर्न प्रदेश साँसद राजिब पहारीले मलाई फोन गर्नुभयो, कुराकानीकै क्रममा वहाँले भन्नुभयो ‘म होम आईसोलेशनमा बस्न बाध्य भए, म त बाहिर निस्केर भेटघाट गर्ने अनि कार्यक्रममा सहभागी हुन जान्छु भनेको सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले घरबाट निस्कनै दिएनन् ।’

शायद नेपाल सरकारका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी वा कोरोना रोकथाम र नियन्त्रणको जिम्मेवारी पाएका तीन तहका सरकार र सरोकारवाला निकायका व्यक्तिहरुमध्ये कसैले पनि यो घटनापछि म सहित प्राय सबैजसोलाई कुनै किसिमबाट सम्पर्क गर्ने वा कुनै जानकारी दिएका छैनन । उनीहरुले सम्पर्क गरेको भए माथी नाम उल्लेख गरिएका माननिय राजीव वा उनी जस्तै केहीलाई मात्र गरेछन् कि भन्ने लाग्यो ।

मलाई त ति साथीहरुले सम्पर्क गरे जसलाई मैले सम्पर्क गरेर शवयात्रामा सहभागी हुन आग्रह गरेको थिए । उनीहरुको गुनासो थियो –हामीलाई शवयात्रामा बोलाउने तर आफु नजाने ? अनि मैले मेरो बाध्यता बारे सुनाउने गरेको छु । अनि केही मेरा शुभचिन्तकहरुले फोन गरेर स्वास्थ्य अवस्थाका बारेमा र पीसिआर टेष्टका बारेमा चासो राख्ने गरेका छन् ।

म असामान्य अवस्थामा छैन तर, मेरो शारीरिक र मानसिक अवस्थाले हो वा के हो शरीर, घाँटी र टाउकोमा सामान्य दुखाई भएजस्तो लाग्छ , मैले गर्नुपर्ने काम धेरै छन्, आज पनि काँग्रेस नेता र आदरणीय दाजु भोजबहादुर गुरुङ्गको शवयात्रमा सहभागी हुन मन छ तर, घरबाट बाहिर निस्कने सोँच बनाएको छैन ।

मैले यो भनिरहँदा । बिहिबार, शुक्रबार र शनिवार गरि ३ दिनको अवधीमा मेरो परिवारका सदस्यहरु, आफन्तहरु र साथीभाई गरि १ सय बढी सम्पर्कमा भए होलान, ति सबैको बारेमा के गर्ने भन्ने अन्यौल कायम छ ।

हामीले आफै सजग रहँदा र सरोकारवालाको खोजी गर्दा त यस्तो छ भने दूरदराजमा बस्ने, असहाय, पहुँच र प्रभाव नहुनेहरुको अवस्था झन् के होला ?

सम्पर्कमा रहेका सबैको कोरोना परीक्षण गर्नुपर्छ भन्ने, समयमै रिपोर्ट नदिने, सरकारको कुनै तहको संयन्त्रले पनि कुनै जानकारी नदिने अनि आम सर्वसाधारणलाई आतंकित मात्र बनाईराख्ने भएपछि यो आतंक नभएर के होला त ?

कोरोना परीक्षण गरेपनि रिपोर्ट सही छ वा छैन भनेर शंका गर्नेहरुको संख्या पनि बढ्दो छ । त्यसमाथी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी नै कोरोना सार्ने माध्यम बनिरहेको छन् भन्ने आवाज पनि बढ्दै गएको छ ।

यसलाई दृष्टीगत गर्दा व्यापार, कमिशन अनि पैसा कमाउने राम्रो अवसर मिलेको छ कतिलाई.... नत्र अरबौं अरब रुपैया कोरोनाको नाममा खर्च भयो भनेर कसरी हिसाब आउँछ होला र ? 

(न्यूनतम पारिश्रमिक निर्धारण समिति नेपाल सरकारका नि.अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले पोखरामा आफन्तको उपचारकै क्रममा भोगेको पीडा सहितको अनुभुती )