जिल्ला वनलाई थाहा नदिई बैजनाथमा रुखहरु काटिए


जिल्ला वनलाई थाहा नदिई बैजनाथमा रुखहरु काटिए

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुर्वा स्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा गरिएको वन फँडानी । तस्विर : विजय मल्ल/ सेतोखरी

रामपुर्वा (बाँके) : कोरोना भाइरस महामारीको मौका छोपेर बैजनाथ गाउँपालिकाको रामपुर्वामा रहेको सामुदायिक वन फडानी गरिएको पाइएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर– ५ रामपुर्वामा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा वन फँडानी गरिएको हो ।

सामुदायिक वन समूहले अनुमति नै नलिएर कोरोना भाइरस महामारीकाबीच केही समयअघि करिव एक विघा क्षेत्रफलमा रहेका अकासे, सागुन, सिसौं लगायत बहुमूल्य प्रजातिका रुख, विरुवा अबैध रुपले काटेको छ । भने ती काटिएका ठूलो परिमाणका रुख, विरुवालाई सुटुक्क बिक्री, वितरण समेत गरिसकेको बुझिएको छ ।

वन समूहले काटेका रुखलाई तत्कालै ‘ब्यवस्थापन’ गरिएपनि रुखका ठुटा भने अहिले ताजै छन् । काटिएका काँचो रुखका ठुटाबाटै प्रष्ट हुन्छ, कि त्यहाँ कत्रा र कति संख्यामा रुख, विरुवा हुर्किरहेका थिए । रुख काटिएको स्थान अहिले उजाड जस्तै बनेको छ । वरिपरी घना जङ्गल भित्र वन काटिएको बाहिरबाट सजहै देखिदैन । जसका कारण सो क्षेत्रमा आउने जोकोहीले पनि त्यहाँको रुखविरुवा नकाटेको बुझ्दछ ।

नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा काटिएको रुखका ठुटा । तस्विर : विजय मल्ल / सेतोखरी

सो क्षेत्रमा वि.सं. २०४६/०४७ सालमा वन फडानी गरेर बस्ती बसेको थियो । पछि सोक्षेत्रमा वृक्षारोपण गरियो सामुदायिक वनको उपभोक्ता समेत रहेका स्थानीयबासीले विगतलाई सम्झदै भने –‘यसको संरक्षणका लागि २०६१÷०६२ सालमा नवदुर्गा भगवति सामुदायिक वनको स्थापना गरि यसको संरक्षण गरियो । करिब २९/३० वर्ष पुराना रुखविरुवा यतिबेला काटिएकोछ । हामीलाई पनि काट्न लगाइयो तर केका लागि हो थाहा भएन ।’

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि गाउँपालिकाले उक्त क्षेत्र संरक्षण गर्ने भन्दै आफ्नो लगानीमा तारबार गरेको थियो । गाउँपालिकाले तारबार गरेको ११ विघा क्षेत्रमा अझै थुप्रै रुख, विरुवा छन् । बचेका रुख, विरुवालाई पनि वन समूहले क्रमशः काट्ने योजना रहेको अर्का सामुदायिक वनका उपभोक्ताले सुनाए ।
पूर्वपश्चिम राजमार्गदेखि उत्तरतर्फ ७ किलोमिटर भित्र अवस्थित उक्त सामुदायिक वन बैजनाथ गाउँपालिकाकै अग्रसरतामा काटिएको हो । डिभिजन वन कार्यालयसँग कटान आदेश तथा स्वीकृती नलिएर अवैध रुपमा रुख काटेको पाइएको छ ।

साढे ६ सय उपभोक्ता रहेको उक्त समूहले यसअघि भेलामार्फत बैजनाथ गाउँपालिकाको कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ विघा क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम गाउँपालिकाले त्यहाँको रुखविरुवा काटेको हो । स्थानीयबासीले भने–‘वनभित्र भवन बनाउने निहुँमा उपभोक्ता समूहले अबैधरुपमा रुखविरुवा काटेका हुन् ।’

बैजनाथ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष तथा कार्यपालिका सदस्य मानबहादुर खत्रीले ‘रुख, विरुवा हटाउन फाईल वन मन्त्रालय पठाएको तर, मन्त्रालयले अहिलेसम्म स्वीकृती नदिएको बताए ।’ उनले गाउँपालिका र क्याम्पस भवन बनाउन वन समूहले ढलापडा र कुकाठ रुख काटेको दावि गरे ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुर्वा स्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा गरिएको वन फँडानी । तस्विर: विजय मल्ल/ सेतोखरी

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर थापाले गाउँपालिका र क्याम्पसको भवन बनाउन वन क्षेत्रमा रहेका झाँडी र बुट्यान सफाई मात्र गरिएको बताए । सामुदायिक वन क्षेत्र कुल ५२.६३ हेक्टरमा करिव ५ हेक्टर जमिनमा गाउँपालिका र क्याम्पस बनाउन उपभोक्ता समुहले निर्णय गरि दिएको बताए ।

नवदुर्गा भगवती सामुदायिक वन समूहले रुख कटानका लागि जिल्ला वन कार्यालय बाँकेसँग अनुमति नलिएको जिल्ला वनअधिकृत राजु क्षेत्रीले सेतोखरीलाई जानकारी दिए ।

सेतोखरीसंग कुरा गर्दै उनले भने–‘म हिजो मात्र हाजिर भए । मैले धेरै बुझेको छैन । एक पटक बुझौंला । सामुदायिक वनले जमिन उपलब्ध गराउन मिल्दैन ।’ क्षेत्रीले थपे–‘सामुदायिक वनले जमिन उपलब्ध गराउने प्रावधान छैन । यसका लागि नेपाल सरकारले निर्णय गरेर दिएपछि मात्र हुन्छ । यसरी गरिएको कार्य ईलिगिल(गैरकानूनी) हो ।’