१ लाखको कोरोना बीमा गरेकाले अब २५ हजार मात्रै पाउने

बाँकी उपचारको बिल बुझाए पाइने


१ लाखको कोरोना बीमा गरेकाले अब २५ हजार मात्रै पाउने

काठमाडौं : १ लाख रुपैयाँको लागि कोरोना बीमा गरेकाले अब २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन् । व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ नगद पाउने छन् ।

बीमा समितिका सूचना अधिकृत निर्मल अधिकारीका अनुसार ५० हजारको बीमा गर्नेले पनि कोरोना पुष्टिपछि २५ प्रतिशत मात्रै अर्थात १२ हजार ५ सय पाउने छन् ।

आजदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गर्दै समितिले कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै दिने भएको हो ।

‘पिसिआर पोजेटिभ रिपोर्ट आउनेवित्तिकै २५ प्रतिशत भुक्तानी दिइन्छ, बाँकी ७५ प्रतिशतसम्म रकम औषधि उपचारमा भएको खर्चको बिल बराबरको भुक्तानी दिइनेछ’ अधिकारीले भने ।

Kids Festival 2022
kanti aarogya hospital

तर, संक्रमित घरमा वा होटलमा बसेको वा खाना खाएको खर्चको बिल भने भुक्तानी नहुने समितिले जनाएको छ । भदौ २८ अघि जारी गरिएका बीमा लेखमा भने पुरानै व्यवस्था लागू हुने छ । अर्थात सो मितिअघि बीमा गरेकालाई पिसिआर पोजेटिभपछि पूर्ण रकम (१ लाख वा ५० हजार) नै भुक्तानी हुनेछ ।

बीमा गर्नेहरुको संख्या उच्च भएपछि समितिले आफ्नो मापदण्ड संशोधन गरेको हो। समितिका अनुसार हालसम्म करिब ४ सय जनाले कोरोना बीमाको भुक्तानी लिएका छन् भने १२ सयले क्षतिपूर्तिका लागि दावी गर्दै बीमा कम्पनीहरुमा निवेदन दिएका छन् ।

१३ लाखभन्दा बढी संख्याले बीमा गरेको र ७५ करोड रुपैयाँ बराबर प्रिमियम रकम संकलन भएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाको पिसिआर परीक्षण रिपोर्टलाई पनि मान्यता दिइने भएको छ ।

त्यस्तै कोरोना बीमा दावीका लागि आएको निवेदनमा कुनै शंका भएमा त्यसको छानविन गर्नका लागि ‘दावी व्यवस्थापन समिति’ गठन भएको छ । बीमा समिति, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र बीमक संघको प्रतिनिधी सम्मिलित सो समितिले आशंका लागेका रिपोर्टबारे छानविन गर्न सक्नेछ ।

कोरोना बीमाको भुक्तानीका लागि प्रक्रिया पुर्याएर आवेदन दिएको ७ दिनभित्रमा भुक्तानी गर्नुपर्ने मापदण्डमा उल्लेख छ । -सेतोपाटीबाट साभार