काठमाण्डौं : कोरोना भाइरस विरुद्धको भ्याक्सिन नेपालीले पनि पाएका छन् । रुसमा बसोबास गरिरहेका ६१ बर्षिय डा. महेश श्रेष्ठलाई कोरोना विरुद्धको भ्याक्सिन दिइएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीले ६१ बर्षिय श्रेष्ठलाई शनिबार कोराना भाइरसविरुद्धको भ्याक्सिन लगाएको जानकारी दिए ।
पहिलो चरणमा भ्याक्सिन दिने घोषणा गरेका ३० हजार जना मध्येमा डा. श्रेष्ठ छानिएका थिए । नेपालको सल्यान र्पुख्यौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो ।
भ्याक्सिन दिनु अघि उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । उपाध्यक्ष केसीले कोरोना भाइरसविरुद्ध भ्याक्सिन लिने पहिलो भाग्यमानी नेपाली भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा डा. श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।
पहिलो खोपको २१ दिनपछि उनलाई दोस्रो खोप दिइने छ । निःशुल्क उपलब्ध गराइएको दुबै डोजको खोप लगाएपछि दुई वर्षसम्म कोरोना भाइरसबाट सुरक्षित रहने दावी गरिएको छ ।