कोरोना संक्रमित बढेपछि बारबर्दिया नगरपालिका सिल


कोरोना संक्रमित बढेपछि बारबर्दिया नगरपालिका सिल

बारबर्दिया नगरपालिकाको भवन । तस्विरः दीपक शर्मा /सेतोखरी

बर्दिया : बारबर्दिया नगरपालिका पाँच दिनका लागि सिल गरिएकोछ ।  नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि असोज ९ गतेदेखि लागू हुने गरि पाँच दिनका लागि नगरपालिकाको सवै वडा सिल गर्न लागिएको हो ।

बारबर्दिया नगरपालिकाका मेयर दुर्गा चौधरी (कविर)का अनुसार एकै दिन ११ जनामा कोरोना पुष्टि भएपछि नगरका ११ वटै वडा पाँच दिनका लागि सिल गर्न लागिएको हो ।

‘पहिलो चरणमा पाँच दिन सिल गर्ने र त्यसपछि अवस्था हेरेर सिल अवधि बढाउने वा स्थगित गर्ने भन्ने विषयमा निर्णय लिइने छ,’ मेयर कविर बताए ।

नगरपालिकामा कोरोना नियन्त्रणका लागि विशेष योजना बनाएर अघि बढेको बताउँदै उनले पाँच दिनसम्म नगरभित्रका सम्पूर्ण पसल, कलकारखाना, उद्योग, यातायात समेत बन्द रहने जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

असोज ७ गते बर्दियाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये बारबर्दिया नगरपालिकाका ११ र गुलरियाका १० जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका–६ का ९ र वडा नम्बर–३ का २ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, गुलरिया नगरपालिका–५ का ३, वडा नम्बर ९ का २ र वडा नम्बर २, ७, ८ र १० का एक–एक जनामा कोरोना पुष्टि भएको थियो । योसँगै बर्दिया जिल्लामा कुल संक्रमितको संख्या ६ सय १६ पुगेको छ ।

यस्तै बुधबार गुलरियाबाट स्वाब संकलन भएका मधुवन नगरपालिका–४ का एक २८ बर्षिय पुरुष र भेरी अस्पताल नेपालगन्जमा गेरुवा गाउँपालिका–५, का एक पुरुषमा समेत संक्रमण पुष्टि भएको थियो ।