वन विनासमा वन अधिकृत नै संलग्न


वन विनासमा वन अधिकृत नै संलग्न

File Photo

नेपालगन्ज : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा जताततै अनियमितता, भ्रष्टाचार र किर्ते काम भएको भेटिएको छ । सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिको स्थलगत अवलोकनका क्रममा यस्तो पाइएको हो ।

यस कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समूहका साधारण सदस्यहरू र पदाधिकारीहरूले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एक भन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रम अन्तर्गत रुख कटान गर्ने गरेको उक्त समितिको ठहर छ ।

उपसमितिको प्रतिवेदनअनुसार चुरे क्षेत्रले ओगटेका डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृतहरूले वैज्ञानिक वन कार्ययोजना स्वीकृत गरी चुरे वातावरण संरक्षण क्षेत्रका अत्यन्त संवेदनशील क्षेत्र, जोखिमपूर्ण क्षेत्र र अत्यन्त भिरालो वन क्षेत्रमा समेत कटान प्लट निर्धारण गरी वनको सरपट कटान आदेश दिने गरेका भेटिएको छ । साथै वन अधिकृतहरूको नै वन विनाशमा संलग्नता हुने गरेको भेटिएको छ । जसका कारण अवैध ढङ्गले काठ सङ्कलन, ओसार पसार मात्र नभई चुरे र तराईको वनमा भू–क्षय हुने क्रम बढेको पाइएको छ ।

त्यस्तै अध्ययनका क्रममा जताततै डोजर प्रयोग गरी बाटो तथा ठूला र चौडा अग्निरेखाहरू निर्माण गरी व्यापक भू–क्षय र वन विनाश गराएको देखिएको उपसमितिका संयोजक प्रदीप यादवले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ बमोजिम गरिएको भनी चुरे र तराईका जिल्लाहरूमा राजमार्गभन्दा फराकिला सयौँ अग्निरेखा निर्माण गरी कटान प्लटमा भन्दा धेरै वन क्षेत्र विनाश गरेको देखिएकाले सो कार्य तत्काल रोकी पुनरवलोकन गर्नुपर्ने समेत बताए ।

उपसमितिको स्थलगत अवलोकनबाट बाँके, बर्दिया, सुर्खेत र दाङ लगायतका चुरे वातावरण संरक्षण क्षेत्रमा पर्ने ३७ जिल्लामा सबैभन्दा बढी रुख कटान गरे पाएकोछ ।

यस्तै उपसमितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा वन विनास गर्ने कार्यमा संलग्न रहेको भन्दै सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्ट, डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका वन अधिकृत कष्णदत्त भट्ट, वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेल, डिभिजन वा काार्यलय कञ्चनपुरका डिभिजन वन अधिकृत अजयविक्रम मानन्धर, कपिलवस्तु डिभिजन वन कार्यालयका अधिकृत ईश्वरीप्रसाद पौडेल, डिभिजन वन कार्यालय मरिन सिन्धुलीका अधिकृत पुष्पराज बर्तौलालाई अख्तियारको दुरुपयोग गरेको भन्दै कारवाही गर्न सिफारिस गरेको छ ।