क्यान्सर पीडित सीमाको उपचारमा समस्या, सहयोगको अपील


क्यान्सर पीडित सीमाको उपचारमा समस्या, सहयोगको अपील

नेपालगन्ज : बाँके कोहलपुर नगरपालिका– १ कौशिलानगरकी क्यान्सर पीडित सीमा सिरिसलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । ४ वर्षअघि शल्यक्रिया गरि फालेको पाठेघरमा मासु पलाएपछि पुनः शल्यक्रिया गर्नुपर्ने देखिएपछि यतिबेला सीमालाई आर्थिक समस्या परेको हो ।

भरतपुर क्यान्सर अस्पतालमा उपचाररत सीमा आर्थिक अभावका कारण जिवन र मरणको दोसाँधमा पुगेकीछन् । पाठेघर क्यान्सर भएको थाहा पाएपछि उपचारका लागि सीमाको परिवारले घरजमिन बेचेर १८ लाख खर्च गर्यो । तर, केही समयपछि शल्यक्रिया गरेको ठाउँमा मासु पलाएपछि आफन्त र साहुमहाजनबाट ऋण गरेर करिब १५ लाख खर्च भइसकेकोछ ।

सिरिसलाई एक पटक किमो दिंदा २५ हजार रुपैयाँ खर्च लाग्ने भएपनि स्वास्थ्य बीमा गराएका कारण एक पटक किमो दिंदा १५ हजार पर्ने गरेको सीमाका छोरा प्रेम सिरिस मगर बताउँछन् ।

उनका अनुसार थप ४ पटकसम्म किमो दिनुपर्ने चिकित्सकहरुले बताएका छन् । तर, क्यान्सर पीडित आमाको उपचारमा लाखौं खर्च भएपछि यतिबेला आर्थिक अभावका कारण आमाको उपचार गराउन समस्या परेको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

घरखेत बेचेर र आफन्तको सहयोगमा यसअघि ६ पटकसम्म किमो दिइसकेको सीमाको उपचार गराउँदा अहिलेसम्म ३३ लाख रुपैयाँ सकिएको र डाक्टरहरुले उपचार गराइरहे निको हुने बताएको प्रेमले सेतोखरीलाई बताए ।

कोरोना भाइरस संक्रमण महामारिका बेला बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट सीमालाई ६ पटक किमो दिइसकेकोछ । रुटिङ्ग चेकअपका लागि भदौ १४ गते भरतपुर पुगेका सीमालाई चिकित्सकले थप किमो दिइ शल्यक्रिया गरि फालेको पाठेघरमा पलाएको मासु फाल्न पुनः शल्यक्रिया गर्नुपर्ने र शल्यक्रिया पश्चात आमा निको हुने बताएको छोरा प्रेमले सेतोखरीलाई जानकारी दिए ।

आमाको उपचारका लागि आर्थिक सहयोग याचाना गर्दै उनले भने –‘बाँकी रहेको किमो र शल्यक्रियाका लागि आर्थिक समस्या परेकोछ, आमाको उपचारका लागि घरबार बिहीन भएका छौं ।’

‘थोरैथोरै भए पनि सबैले सहयोग गरे आमाको उपचार हुनेथियो र आमा बाँच्नुहुन्छ । आर्थिक अभावकै कारण आमाको शल्यक्रिया हुन सकेको छैन । उपचार गराउने ईच्छा हुँदा हुँदै पनि मृत्युको मुखमा गएकी आमालाई हेरेर बस्नुको विकल्प छैन ।’

परिवारको आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका निम्ति समस्या भोगिरहेको सिरिस परिवारलाई कौशिलानगरकै एभरेष्ट युथ क्लबले यसअघि ३५ हजार र केही रासन सहयोग गरेको थियो ।

आर्थिक अवस्था कमजोर भएकाले आमाको उपचारका लागि सहयोग गरिदिन प्रेमले अपील गरेका छन् । सीमाको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले सीमा सिरिसको नाममा मुक्तिनाथ विकास बैंक कोहलपुर शाखाको खाता नम्बर १२०२१६००५५७६३१०००००१ मा रकम पठाउन सक्नेछन् । वा छोरा प्रेमको सम्र्पक नम्बर ९८२२४०७८९४ मा सम्र्पक गर्न सकिनेछ ।