६ महिनामा १० जनाको मृत्यु, ८५९ जना संक्रमित
File Photo
नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले कोरोना भाइरस संक्रमित सम्बन्धि सार्वजनिक गरेको तथ्यांकले नेपालगन्ज कोरोनाको चपेटमा रहेको पुष्टि गरेकोछ ।
बाँकेका ८ पालिका मध्ये सबैभन्दा बढि कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिकामा रहेकाछन् । यतिमात्र होइन जिल्लामै सबै भन्दा बढि ज्यान गुमाउने कोरोना संक्रमित नेपालगन्जबासी रहेको केन्द्रको उक्त रिर्पोटमा उल्लेखछ ।
केन्द्रको तथ्यांकलाई हेर्दा असोज ११ गते आईतबार बेलुकासम्म बाँकेमा ५ सय ४ महिला र एक हजार ३ सय १७ पुरुष गरि कुल कोरोना संक्रमित संख्या एक हजार ८ सय २१ पुगेकोछ । जसमध्ये नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ८५९ जना संक्रमित रहेकाछन् । यस्तै हालसम्म ४ महिला र ९ पुरुष गरि १३ जनाले ज्यान गुमाइसकेकाछन् ।
गत वैशाख १९ गते जिल्लामै पहिलो कोरोना संक्रमित फेला परेको नेपालगन्जमा ६ महिना पुग्नै लाग्दा १० जनाको मृत्यु हुनुको साथै ८५९ कोरोना संक्रमित पुष्टि भइसकेकाछन् । यसले नेपालगन्ज कोरोना भाइरस संक्रमणको उच्च जोखिममा मात्र नभइ ठूलै स्वास्थ्य चुनौती आउनसक्ने संकेत गरेकोछ ।
बन्दाबन्दी खुलेसगैं नेपालगन्जमा कोरोना संक्रमितको ग्राफ दिनहुँ उकालो लागिरहेको छ भने मृत्यु हुनेको संख्या पनि बढिरहदाँ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा चुनौती थपिदिएकोछ । पछिल्लो पटक सरकारले कोरोना भाइरस परीक्षण सम्बन्धि ल्याएको निर्देशिकाले पीसिआर परीक्षणको दायरा साँघुरिएकोछ ।
यतिबेला नेपालगन्जको दैनिकी सामान्य बनेकोछ । बजार ब्यवसाय खुला भएका छन् । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, होटल रेष्टूरेण्ट लगायत यातायात खुला छ । नेपालगन्जमा दिनहुँ सर्वसाधरणको ठूलो मात्रामा भीड लागिरहदाँ केही दिनमै नेपालगन्जमा ठूलो स्वास्थ्य जोखिम आउने पक्कापक्की बनेकोछ ।
अझ यसरी खुला गरिएका पसल, ब्यवसाय तथा सरकारी कार्यालहरुमा सर्वसाधरणको भीडले सामाजिक दूरी त के माक्स समेत लगाएका छैनन् । जसका कारण भुषको आगोसरी भित्रभित्रै कोरोनाले नेपालगन्जलाई आफ्नो चपेट लिएको र विस्फोट हुन मात्र बाँकी रहेको प्रष्ट देखिन्छ ।
बाँकेका सर्वसाधरण र सम्बन्धित सरोकारवालाले वेवास्ता गर्दा नजिकिदै गरेको चाडबाडसगैं नेपालगन्जमा कोरोना नियन्त्रण बाहिर जाने र थुप्रै ब्यक्तिले अनाहकमा ज्यान गुमाउन सक्ने चिकित्सकहरुले बताउँदै आएकाछन् ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले सार्वजनिक गरेको तथ्यांकलाई हेर्दा जिल्लामै सबैभन्दा कम कोरोना संक्रमित डुडुवा गाउँपालिकामा रहेकाछन् । यहाँका जम्मा ३६ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ । यस्तै बैजनाथ गाउँपालिकामा ५८ जना कोरोना संक्रमित हुदाँ १ जना महिलाले ज्यान गुमाइसकेकी छन् ।
केन्द्रको तथ्यांक अनुसार जानकी गाउँपालिकामा ६६ जना संक्रमित फेला परेकाछन् । भने राप्ती सोनारी गाउँपालिकामा ८५ जना ब्यक्तिमा कोरोना पुष्टि भइसकेकोछ ।
यसैगरी जिल्लामै पहिलो कोरोना संक्रमित मृत्यु भएको नरैनापुर गाउँपालिकामा कुल एक सय २२ जना ब्यक्तिमा कोरोना पुष्टि भएकोछ । भने खजुरा गाउँपालिकामा एक सय २४ जनामा कोरोना पुष्टि भएकोछ ।
यस्तै कोहलपुर नगरपालिकामा २ सय ४२ जना ब्यक्तिमा कोरोना पुष्टि भएकोछ । हालसम्म कोहलपुरमा एक जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएकोछ । भने बाँकेमा रहेका २ सय २९ जना अन्य ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको केन्द्रले जनाएकोछ ।
हालसम्म बाँकेमा तीन वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुदै आएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला, बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुर र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालाबाट दिनहुँ कोरोना परीक्षण हुदै आएको छ ।
यसरी दिनहुँ कोरोना संक्रमित थपिदै जानु र कोरोना संक्रमित ब्यक्तिको मृत्युले नेपालगन्ज मात्र नभई सिङ्गो बाँके जिल्लाको स्वास्थ्य अवस्थामा चुनौती थपिदिएकोछ ।