नरैनापुरमा ईलाका प्रशासन पुर्नस्थापनाको तयारी


नरैनापुरमा ईलाका प्रशासन पुर्नस्थापनाको तयारी

नेपालगन्ज : नरैनापुर गाउँपालिकामा ईलाका प्रशासन कार्यालय लगायतका सेवा प्रदायक कार्यालय पुर्नस्थापनाको लागि सम्वाद सहजिकरणलाई सशक्त बनाइदैछ ।

पाच वर्ष अघि नेपालगन्जमा खुम्चिएको प्रशासन कार्यालय पुनस्र्थापनाको माग र पहल विफल भएपछि सम्वाद समूह बाँकेले सरोकार पक्षसँग निरन्तर सम्वाद प्रक्रिया अघि बढाएको हो ।

राज्यको सशक्त र प्रभावकारी उपस्थिती नरहेको नरैनापुरमा नागरिकता लगायत सरकारी सीफारिस जस्ता आधारभुत अत्यावश्यक सेवा लिन नेपालगञ्ज पुग्नु पर्ने विवशता कायमै रहेपछि नरैनापुर गाउँपालिकाले पनि आवश्यक पहलका लागि सक्रियता देखाएको छ ।

ईलाका प्रशासन कार्यालय लगायतका कार्यालय पुर्नस्थापना गरि सहज सेवा प्रवाहको बातावरणका लागि सहजिकरण गरिदिन नरैनापुर गाउँपालिकाले गत जेठ ८ गते सम्वाद समूह अन्तर्गत सम्वाद सहयोगी समूह नरैनापुरलाई अनुरोध गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

सम्वाद सहयोगी समूह नरैनापुरको संयोजनमा बुधबार नरैनापुर गाउँपालिकामा सेवा प्रदायक कार्यालयको पुर्नस्थापना र सेवा प्रवाहको सहज बातावरण बनाउन सरोकारवालाबीच आवश्यक सम्वाद सहजिकरण गरिएको हो ।

जिल्ला समवय समितिका प्रमुख अजय कमार श्रीवास्तव, समन्वय अधिकारी लोक बहादुर सुनार, नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तीयाक शाहको विशेष उपस्थितीमा गरिएको अन्तर सम्वादमा कानून प्रदत अधिकार र सेवा प्राप्त गर्ने बातावरण सिर्जना गर्न सामुहिक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत शाखा प्रमुख, सुरक्षा युनिटका प्रमुख, वडा अध्यक्ष र सम्वाद सदस्यवीचको अन्तर सम्वादमा ईलाका प्रशासन कार्यालय, छोटी भन्सार, नापी, पशु क्वारेटाइन पुर्नस्थापना र सेवा प्रवाह गर्नका लागि जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा आवश्यक पहल गर्नु पर्ने सुझाइयो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाई र सम्वाद सहसहजकर्ता मकबुल मुकेरीद्वारा सहजिकरण गरिएको कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष शाहले अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय र शाखा पुर्नस्थापनाको ढीलाई अब स्वीकार्य नहुने बताए ।

प्रमुख प्रशासकीय अधिृकृत महेन्द्रजंग शाहीले नागरिकता प्राप्ती लगायतका सेवा पाउन असहज भएकाले थप सेवालाई पनि प्रभावित बनाई रहेको गुनासो गरे ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ४ का अध्यक्ष दिनेश शर्मा, सशस्त्र प्रहरी निरीक्षक नरेश सुवालबाटा लगायतले पनि आफनो भनाई राखेका थिए । सम्वाद समूह बाँकेका सहजकर्ता चौलागाईसँगको सम्वादमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले ईलाका प्रशासन कार्यालय स्थापनाको तयारी भएपनि त्यहाँ अधिकृत नपठाईदा ढिलाई भएको स्वीकारे । अन्य सेवा प्रदायकको सेवा बारेपनि गाउँपालिकाकै समन्वयमा सम्बद्ध कार्यालयसँग पहल गरिने उनले विश्वास दिलाए ।

सम्वाद समूह बाँकेले जिल्लास्थित सम्बद्ध सरोकार निकायसँग थप सम्बाद सहजिकरण गर्ने तयारी गरेको छ ।