पत्रकारहरुसगं गरिएको परिचयात्मक कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का । तस्विरः विजय मल्ल /सेतोखरी
नेपालगन्ज : नगरको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि समुदाय र प्रहरीबिच समन्व हुनुपर्ने वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले बताएकाछन् ।
हालै सरुवा भइ नेपालगन्ज आएका प्रहरी निरीक्षक खड्काले शुक्रबार बाँकेका पत्रकारहरुसगं गरिएको परिचयात्मक कार्यक्रममा बोल्दै उनले भने– ‘नगरको शान्ति, सुरक्षा तथा अपराध न्यूनिकरणका लागि मेरो बुँदागत योजना छैन । जिल्ला प्रहरी कार्यालयको योजना अनुरुप काम गर्दै जाने हो । कथाले के भन्छ म त्यसमा एक्सन लिन्छु ।’
नगरको शान्ति सुरक्षा, अपराध न्यूनिकरण तथा यहाँका बेथितिलाई नियन्त्रण र न्यूनिकरण गर्ने काम प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उनले भने–‘प्रहरी मात्र समाजको ठेकेदार होइन । आम जनताको साथ र सहयोगविना प्रहरीको एकल प्रयासले केही हुदैन ।’ उनले अगाडी थपे–‘वर्दीविनाका सर्वसाधरण पनि यस्ता अपराधिक गतिविधि नियन्त्रण र न्यूनिकरण गर्नमा अझ बढि जिम्मेवार हुनुपर्दछ । आफ्नो दायित्व निभाउनुपर्छ ।’
प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो महिला तथा बालबालिका अपराध अनुसन्धान शाखा महाराजगञ्ज काठमाण्डौंमा २१ महिना कार्य गरेका प्रहरी निरीक्षक खड्काले भने–‘सिआइबीमा कार्य गरेको अनुभवले अपराध अनुसन्धान लगायतमा केही फरक धारको कार्य हुनेछ । कुनैपनि बहानामा अपराध र अपराधीलाई छुट दिइनेछैन । कानूनी दायरामा ल्याइनेछ ।’
नगरको शान्ति, सुरक्षा अमन चयनका विषयमा कसैसंग सम्झौता नगर्ने भन्दै बाँकेको सामाजिक, धार्मिक, राजनीतिक, अपराध र सद्भावका विषयमा जानकार भएको बताउँदै शक्तिको दुरुपयोग नहुने प्रतिबद्धता ब्यक्त गरे ।
यो या त्यो बाहानामा लुकाइएका, दबाइएका अपराध, घटना र पीडितका समस्याहरुलाई बाहिर ल्याउन अपील गर्दै उनले भने प्रहरी जनताको साथमा छ अब जनताले प्रहरीलाई साथ दिनुपर्छ । पत्रकारहरुसगं गरिएको परिचायात्मक कार्यक्रममा बाँकेमा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।
यसअघि वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरिबहादुर बस्नेतको प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगञ्ज, काठमाण्डौंको चोरी अपराध अनुसन्धान शाखामा सरुवा भएकोछ ।