किन हुँदैछ बाँकेमा दिनहुँ कोरोनाबाट मृत्यु ?

बिशेषज्ञ भन्छन् ‘मृत्युको संख्या अझ तीब्र बढ्छ’, कोरोनाले फोक्सोमा निमोनिया बनाउने कारण यस्तो छ


किन हुँदैछ बाँकेमा दिनहुँ कोरोनाबाट मृत्यु ?

असोज १६ गते भेरी अस्पतालमा कोरोनाबाट मृत्यु भएकी नेपालगन्ज बाँकेगाउँकी २५ बर्षिया युवती । कम उमेर र कुनै दिर्घ रोग नलागेकाहरुको पनि कोरोनाबाट मृत्यु भइरहेको छ । तस्बिर पूर्ण ढकाल

नेपालगन्ज : कोरोना संक्रमणबाट दिनहुँ ज्यान जान थालेपछि बाँकेमा त्रास झन् बढेको छ । प्लाज्मा थेरापी र रेमडेसिभिर औषधि चलाउँदा समेत विरामी निको नभइ मृत्यु हुन थालेपछि त्रास बढेको हो । कम उमेर र कुनै दिर्घ रोग नलागेकाहरुको पनि कोरोनाबाट मृत्यु भइरहेको छ ।  
 
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार, राजधानी बाहिर कोरोनाबाट धेरै मृत्यु हुनेमा बाँके जिल्ला १ नम्बरमा रहेको छ । हालसम्म बाँके जिल्लामा कोरोनाबाट २१ जनाको मृत्यु भइसकेको छ । विशेषज्ञहरुका अनुसार, बाँके जिल्लामा कोरोनाबाट मृत्युको संख्या अझ तीब्र रुपमा बढ्ने छ ।
 
विगत एक सातादेखि हरेक दिन भेरी अस्पतालबाट कोरोनाले मृत्यु भएकाको लास निस्किरहेको छ । यो नै दुःखदायी कुरा हो । अधिकांशको मृत्यु कोरोना लागेर निमोनियाले भइरहेको छ । स्वास्थ्य कार्यालयको तथ्यांक हेर्ने हो भने पछिल्लो समयमा कोरोनाबाट युवा, युवतीको मृत्यु भइरहेको छ । त्यसमा पनि अन्य कुनै दिर्घ रोग नलागेकाहरु रहेका छन् । 
 
भेरी अस्पतालको आइसोलेसन वार्डमा दैनिक मृत्यु हुन थालेपछि त्यहाँ उपचारार्थ विरामीहरु झन त्रसित भएका छन् । मानसिक रुपमा विछिप्त भएका छन् । हाल बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको दिन खाली छैन । हरेक दिन मृत्यु भइरहेको छ । 
 
सबै भन्दा कम उमेरकी नेपालगन्ज उपमहानगरपालिका वडा न. ९ बाँकेगाउँकी २५ बर्षिया युवतीको असोज १६ गते भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अन्य कुनै रोगले गैसित नभएकी ती युवतीको नितान्त कोरोनाबाट मृत्यु भएको अस्पतालको रिपार्टले देखाएको छ । सबैजसो मृत्युको कारण नै कोरोनापछि निमोनिय देखिएको छ । 
 
असोज ४ गते अस्पताल भर्ना भएका कोहलपुरका ५३ वर्षीय एक शिक्षकको असोज १३ गते मंगलबार ज्यान गएको छ । संक्रमण भएपछि दुवैजनाको फोक्सोमा निमोनिया भएपछि उपचारका क्रममा उनीहरुको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । असोज १८ गते आइतबार २९ बर्षिया अर्की एक युवतीको कोरोनाबाट कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको छ । 
 
त्यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी ३९ वर्षीय सुरज परियारको कोहलपुर मेडिकल कलेजको कोभिड आइसोलेसनमा उपचारका क्रममा ज्यान गयो । निमोनियाकै कारण उपचारकै क्रममा विहान साढे तीन बजे सुरजको मृत्यु भएको अस्पतालले जनायो । यी पछिल्लो उदाहरणहरु हुन् । बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दैनिक थपिदै गएको छ ।
 
जटिल समस्याले मृत्यु 
     कोरोना संक्रमितको उपचारमा संलग्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका बरिष्ठ छाति रोग विशेषज्ञ डा. निरज बमका अनुसार, ज्यान गएका भनिएकाहरुको अध्ययन गर्दा अधिकांश मृत्युको कारण निमोनिया लगायत फोक्सोमा भएका संक्रमणको भएको देखिएको छ । उनी भन्छन, ‘कतिपय बिरामीमा फोक्सोमा संक्रमण भएपछि कोरोनाका लक्षण शुरु हुन्छ ।  फोक्सोमै अन्त्य हुन्छ ।’
 
रोग प्रतिरोधात्मक क्षमता न्युन भएका बृद्धवृद्धा, मधुमेह, गर्भवती, क्यान्सर, क्षयरोग लागेका व्यक्ति, एचआईभी संक्रमित, मृगौला तथा कलेजोका बिरामी, दमका  भएका व्यक्तिमा जटिल समस्या उत्पन्न भई मृत्युको जोखिम बढी हुने डा. बमले बताए । 
 
कसरी हुन पुग्छ फोक्सोमा निमोनिया ? 
कोरोना भाइरस फोक्सोको कोषमा प्रवेश गरेपछि भाइरसको गुणात्मक बृद्धि हुन पुग्छ ।  मानिसको रोग प्रतिरोध क्षमतामा ह्रास ल्याउने र समाहित भएका कोष तथा तन्तुहरु मार्ने काम गर्ने डा. बम बताउँछन् । 
 
डा.बमका अनुसार, धेरै कोषहरुको मृत्यु भई श्वासनली लगायत फोक्सोका अल्भेवलीहरुमा तरल पदार्थहरु जम्मा हुन थाल्छ । यसबेला बिरामीमा ज्वरो शुरु भई श्वास प्रश्वासमा कठिनाई उत्पन्न हुन थाल्छ । यसरी फोक्सोमा निमोनिया देखा पर्छ ।
 
कोरोनाले मुटुमा असर 
बरिष्ठ छाति रोग विशेषज्ञ डा. बमका अनुसार, मुख तथा नाकबाट शरीरमा प्रवेश गरेको कोरोना भाइरस श्वास प्रश्वासको माध्यमबाट फोक्सोका श्वासनली हुँदै तल जान्छ ।
 
‘फोक्सोको ग्यास आदानप्रदान  हुने अन्तिम विन्दुसम्म पुग्छ । यो भाइरसले फोक्सोमा प्रवेश गरेपछि निमोनिया जस्ता संक्रमण र मुटुमा मायोकार्डाइटीस जस्ता रोग उत्पन्न गराउँछ ।’ उनले भने ।
 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे मुटुजन्य समस्या भएका व्यक्तिलाई कोरोना संक्रमणले जटिल अवस्थामा लैजाने गरेको बताउँछन् । ‘कोरोनाबाट मृत्यु भएका मध्ये अधिकांशलाई उच्च रक्तचाप लगायतका मुटुजन्य समस्या देखिएका छ ।’ डा. पाण्डेले सेतोखरीलाई भने । 
 
Kids Festival 2022
kanti aarogya hospital
add