सांकेतिक तस्विर
नेपालगन्ज : पहिलोपटक गर्भवती भएकी महेन्द्रनगर–२ कञ्चनपुरकी २९ वर्षिया महिला आमा बन्ने खबरले उनी र उनको घरपरिवार हर्षित थियो । गर्भवती भएदेखि नै तारन्तारको रक्तस्रावको समस्याबाट ग्रसित उनले थुप्रै स्वास्थ्य पीडा खेप्नु पर्यो ।
गर्भाअवस्थाको समय त्यसमा पनि रक्तस्रावको पीडा उनका लागि ठूलो पीडादायि अवस्था थियो नै । यही पीडाकाबीच पहिलो पटक आमा बन्न लागेको खुशीले ती महिलाले आफ्ना पीडा सबै भुलाएकी थिइन । अन्ततः गर्भवती भएको ३३ हप्तामा उनले जुम्ल्याह बच्चा जन्माइन । त्यो पनि एक छोरा र एक छोरी ।
सेती अस्पताल कञ्चनपुरमा समय पुगी जुम्ल्याह बच्चा जन्म दिएकी २९ वर्षिया ती महिला र उनको परिवारमा खुशीको सीमा नै थिएन । तर एक छोरा र एक छोरी जुम्ल्याह बच्चा जन्माएकी ती महिलाको खुशी लामो समयसम्म टिकेन । पुनः बज्रपात पर्यो । गर्भवती भएदेखिको समस्याले उनलाई झन् चेप्दै लग्यो ।
जुम्ल्याह बच्चाको सकुसल जन्म भएपश्चात पनि उच्च रक्तस्राव भएपछि उनको पाठेघरको अप्रेसन गरियो । पाठेघर अप्रेसन पश्चात स्वास्थ्यमा सुधार होला र बच्चासगैं रमाउने उनको सपना एकाएक तुहिन पुग्यो । यहीबिच उनी कोरोना पोजेटिभ भइन् । गर्भअवस्थादेखि अधिक रक्तस्राव, सुत्केरी भएको आलो घाउ त्यसमाथि पाठेघरको अप्रेसनले थला परेकी ती महिलालाई कोरोना भाइरसको संक्रमण भएपछि उनको स्वास्थ्य अवस्था झन जटिल बन्यो ।
निरन्तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पताल तथा परिवारले कोरोना भाइरस संक्रमणको आशंकामा असोज १४ गते पीसिआर जाँच गर्दा उनको रिर्पोट पोजेटिभ आयो । पाठेघर शल्यक्रिया गर्दा पनि उनको रक्तस्राव नियन्त्रण नभएपछि सोक्रममा ८ पिन्ट होल रगत तथा ४ पिन्ट प्लेटलेट रगत दिइएको थियो ।
आलाकाँचै सुत्केरी भएको पीडा र अधिक रक्तस्रावसगं जुधिरहेकी ती महिलाको स्वास्थ्यमा सुधार नभएपछि स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा सेती अस्पताल कञ्चनपुरबाट असोज १५ गते बेलुका ४ बजे थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ युनिटमा भर्ना गरि उपचार गरियो । कोरोना पोजेटिभ समेत रहेकी ती महिलालाई शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरि उपचार गर्दा उनको स्वास्थ्य अवस्था जटिल हुनुको साथै बेहोस अवस्थामा रहेको अस्पतालले जनाएकोछ ।
पहिलो पटक आमा बनेकी २९ वर्षिया ती महिलालाई बचाउन अस्पतालले एन्टिबायोटिस, अक्सिजन लगायत रोगको प्रकृति अनुसार उपचार गर्दासम्म पनि स्वास्थ्यमा सुधार नआएपछि आईतबार (आज) बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
गर्भावस्थादेखि मृत्युपर्यन्तसम्म बाँच्नका लागि कठोर संर्घष गरेकी २९ वर्षिया महिलाले जुम्ल्याह बच्चालाई छाडेर सदाको लागि विदा भइन् ।ठूलो कष्ट र पीडा भोग्दै जन्माएका जुम्ल्याह सन्तानलाई अङ्गालोमा बेर्न त के चुम्न सकिनन् । काल बनेर आएको कोरोनाको अङ्गालोमा उनले सदाका लागि आखाँ चिम्लिन् ।
कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार यसअघि बाहिरी जिल्लाबाट बाँकेमा आई उपचार गराउने क्रममा ८ जनाको मृत्यु भइसकेकोछ । योसहित बाँकेमा आएर उपचार गराउने बाहिरी जिल्लाका कोरोना संक्रमित ९ जनाले ज्यान गुमाएकाछन् ।