नेपालगन्ज : भारतबाट आलुको ट्रकमा प्याज तस्करी हुदै आएको रहस्य बाहिरीएकोछ । बाँके प्रहरीले नेपालगन्जबाट आलुको ट्रक नियन्त्रणमा लिएपछि यस्तो रहस्य बाहिरीएको हो ।
कोरोना भाइरस संक्रमणका कारण यतिबेला नेपाल–भारत सीमानाका बन्दछ । सीमानाका बन्द भएपनि अत्यावश्यक सामाग्री आयातमा कुनै रोकटोक छैन । यद्यपी यस्ता कुनैपनि सामान आयात गर्दा प्रचलित कानून बमोजिम अनिवार्य भन्सार गराउनुपर्ने हुन्छ ।
बाँके प्रहरीले आलुको ट्रकबाट अबैधरुपमा भित्र्याइएको २१३ बोरा प्याज नियन्त्रणमा लिएको घटनाले तस्कर र भन्सार कर्मचारीको मिलोमतोमा सीमानाकामा अबैध धन्दा निर्वाधरुपमा चलिरहेको पुष्टि भएको छ ।
आलु लोड गरिएको उक्त ट्रकमा ठूलो मात्रामा प्याज लुकाईछिपाई ल्याइरहेका बेला वडा प्रहरी कार्यालयका प्रमुख डिल्लीबहादुर खड्काको कमाण्डमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ८ रङ्गशालाबाट सोमबार राती १ बजे नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार आलुको भन्सार गरी उक्त ट्रकमा ठूलो मात्राको प्याज अबैधरुपमा नेपाल भित्र्याइएको सूचना पाए लगत्तै नियन्त्रणमा लिइएको बताए ।
प्रहरी उपरीक्षक रानाका अनुसार ५ सय ६ बोरा आलु लोड गरिएको यूपी–७६के८६७० नम्बरको ट्रकभित्र भन्सार छलि गरि आलुको बोराले लुकाइराखेको २१३ बोरा प्याज बरामद गरिएको हो ।
५०६ बोरामा १३ हजार ४५० किलो आलु र २१३ बोरामा ४ हजार ३ सय ६० किलो प्याज रहेको प्रहरीले जनाएकोछ । जसमध्ये प्याजको भन्सार गरिएको छैन ।
प्रहरीले नियन्त्रणमा लिएको आलु, अबैध प्याज, ट्रक, र चालक भारत उत्तर प्रदेश फरुखाबादका २७ वर्षिय ईन्द्रजीत सिंहलाई आवश्यक कारबाहीका लागि सोमबार नै नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।
यसबीच ठूलोमात्रामा भन्सार छलि अबैधरुपमा नेपाल भित्र्याइएको प्याज, ट्रक र चालक छुटाउन बाँकेका राजनीतिक दल र केही ब्यक्ति लागेको प्रहरीले जनाएकोछ ।
प्रहरीका अनुसार बरामद गरिएको ५०६ बोरामा रहेको १३ हजार ४५० किलो आलुको ६ लाख ७२ हजार ५ सय, २१३ बोरामा रहेको ४ हजार ३ सय ६० किलो प्याजको ३ लाख ९२ हजार ४ सय र ट्रकको ३५ लाखको ट्रक गरि अन्दाजी जम्मा ४५ लाख ६४ हजार ९ सय बराबरको मूल्य रहेको छ ।
लाखौं रुपैयाँका आलु, प्याज सहित ट्रक सिज हुनेभएपछि बाँकेका राजनीतिक दल र केही ब्यक्ति उक्त सामान छुटाउन लागिपरेकाछन् ।