२० दिनमा ४ हजार नेपाली भारत गए
दशैंको मुखमा रोजगारीका लागि भारत जान लाइनबद्ध नेपाली युवा । तस्विर :विजय मल्ल /सेतोखरी
नेपालगन्ज : दशैं आउन दश दिन मात्र बाँकी छ । तर, कोरोना कहरकै कारण भारतबाट स्वदेश फर्किएकाहरु यतिबेला पुनः उतै फर्किन थालेका छन् । जीविकोपार्जनमै समस्या भएपछि दसैंलगायत चाडपर्वकै मुखमा घर फर्किएका नेपाली पुनः भारत फर्किन थालेका हुन् ।
कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा पुगेको भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन । यस्तोमा नेपालीहरु भारत जानु झन् जोखिम भए पनि बाँकेबर्दिया लगायत पहाडी जिल्लामा जीवन चलाउन सहज अवस्था नभएपछि उनीहरु भारत फर्किन लागेका हुन् ।
प्रत्येक वर्ष चाडबाड नजिकिएसगै भारतबाट हजारौं संख्यामा नेपाली स्वदेश फर्किने गर्दथे । चाडबाडमा आएका नेपाली पारिवारिक मिलनसगैं दुःखसुख साटासाट गरिन्थ्यो । तर, कोरोनाको कहरका बेला स्वदेश फर्किया नेपालीहरुलाई न राज्यले नै केही गर्न सक्यो न त जीविकोपार्जनका लागि कुनै व्यवस्थापन हुन सक्यो । जसले गर्दा दशैंको मुखमा उनीहरु पेट पाल्नकै लागि भारत फिर्दैछन् ।
बाँकेको नेपाल–भारत सीमानाका जमुनाहबाट भारत जान लाइनबद्ध रहेका नेपालीको दृष्यले राज्यलाई गिज्याइरहेको थियो । उनीहरु रहरले नभइ बाध्यताका कारण भारत जान लाइनबद्ध थिए ।
‘कोरोना कहरकाबीच मरेपनि स्वदेशमै मर्ने भनेर नेपाल आए, रोजगारी पाएन भारत जान लागेको छु ।’ शिवलाल गाउँपालिका वडा नम्बर ६, काँडागाउँ जाजरकोटका २० वर्षिय सन्तोष खत्रीले आफ्नो पीडा सुनाए ।
भारत जान उनीसगैं आएका साथी २० वर्षिय दीपक क्षेत्रीसगं भारतको गुजरातमा होटलको कामका लागि जान लागेको बताउँदै दीपक भन्छन् –‘गाउँघरमा रोजगारी पाइएन, घरपरिवारको खर्च धान्नका लागि भएपनि दशैंको मुखमा मुगलान जानुपरेकोछ ।’ नेपाल फर्किएपछि बेरोजगार हुँदा परिवारको खर्च धान्नै धौ–धौ परेको उनले बताए ।
‘यहाँ फर्किएपछि के गर्ने भन्ने चिन्ताले पिरोलिरहेको थियो । अलिअलि कमाएको पैसा पनि खर्च भयो गुजारा चलाउनका लागि भएपनि दशैंको मुखमा भारत जान लागेकोछु ।’ बाँके खजुरा गाउँपालिका वडा नम्बर २, गुराँसपुरका दानबहादुर खड्काले आफ्नो पीडा सुनाए ।
खड्कासगै भारत कार्गिल जान नेपाल–भारत सीमानाका जमुनाहमा पालो कुरेर लाईनमा रहेका ४४ वर्षिय नरसिंह कामीको पीडा पनि उस्तै छ । भारतको कार्गिलमा जवानी खर्चेका उनी कोरोना कहरसगैं फर्केका थिए । स्वदेशमै जीविकोपार्जनका लागि कुनै ब्यवस्था नभएपछि भारत जान लागेको उनले बताए ।
उनले भने–‘कोरोनाका कहर सुरुहुने बेला नेपाल आए, त्यो बेला नेपाल प्रवेशमा कडाई गर्यो, अहिले केहीसिप नलागेपछि भारत जान कडाई गरिरहेकोछ ।’ मलिन अनुहार बनाउँदै उनले थपे–‘दशैंको मुखमा छोराछोरीले नजा भन्थे, कमाएन भने घरखर्च कसरी चल्थ्यो र ।’
भारत जान लागेको लाईनकै भीडबाट बर्दिया लक्ष्मणाका १७ वर्षिय राहुल थारु आफ्नो पालो पर्खेर बसेका थिए । सयौंको भीडमा रहेका उनी ५० पाईला अगाडीको दशगजा पार्न गर्न आतुर थिए ।
सीमा प्रहरीको चेकजाँच पश्चात हतारिदै उनी आफ्ना तीनजना साथीसंग भारतर्फ लम्किए । सोहीबेला सेतोखरीसंग कुरा गर्दै उनले भने–‘दाजु, नेपालमा रोजगारी पाइन, घरपरिवारमा कमाउने पनि कोही हुनुहुन्न । साथीसगैं भारत राजकोट जान लागेका छौं । त्यहाँ होटलमा काम गर्ने हो ।’
यसरी कोरोनाको कहरका बेला स्वेदश फर्केकाहरु पुनः जीविकोपार्जनका लागि दिनहुँ सयौंको संख्यामा भारत जाने गरेकाछन् । कोरोना कहरका कारण थुप्रै नेपाली स्वदेश फर्केकाछन् । आफ्ना परिवारका सदस्य वर्षौपछि स्वदेश फर्किदाँको खुसीले परिवारलाई राहत दिएपनि घर आएको महिनादिनमै त्यो खुसी टिकेन । दशैंतिहार जस्तो चाडबाडको मुखमा गुजारा नचलेपछि भारत फर्किदा थुप्रै परिवारलाई चिन्ताले पीरोलिरहेकोछ ।
भारतबाट फर्केका अधिकांस युवाहरुको चाहना स्वदेशमै सीप अनुसारको काम गर्ने थियो । तर, उनीहरुले यहाँ कहिँकतै रोजगारी पाउन सकेनन् । जसका कारण पुरानै नियति व्यहोर्दै भारततिरै फर्किनुको विकल्पमात्रै उनीहरुले भेटे ।
देशमा रोजगारीका अवसर नभएकै बेला कोरोनाका कारण वैदेशिक रोजगारीमा रहेका युवाहरु स्वदेश फर्किएपछि झन बेरोजगारी बढ्यो । त्यसका लागि संघ प्रदेश र स्थानीय सरकारले कृषि उत्पादन र ब्यवसायमा लाग्नका लागि हौसला दिने कार्यक्रमहरु ल्याउन सकेनन् ।
कोरोना भाइरस संक्रमणकै बेला कामका लागि दैनिक सरदर दुई सय ५० जना नेपाली भारत जाने गरेको ईलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु गिरीले जानकारी दिए । उनका अनुसार गत भाद्र १५ भाद्रदेखिनै नेपालीहरु भारत जान थालेका हुन् ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायव निरीक्षक गिरीका अनुसार नेपालगन्ज नाका भएर असोज १ गतेदेखि २० गते दिउँसोसम्म ४ हजार नेपाली भारत गएकाछन् । भने यही समयमा भारतबाट करिब ७ हजार नेपाली नेपाल आएकाछन् ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक गिरीका अनुसार बन्दाबन्दीदेखि अहिलेसम्म भारतबाट ८३ हजार नेपाली भित्रिएको र ४१ हजार नेपाली भारत गएको तथ्यांकले देखाएको छ । कोरोनाको संक्रमण बढेपछि मरे आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरु लकडाउन खुलेपछि भारत कामका लागि जान थालेको उनले स्पष्ट पारे ।
यतिबेला प्रदेश पाँचका बाँके, बर्दिया, दाङ र रुकुम पूर्व तथा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, सल्यान, रुकुम पश्चिम र अछाम लगायतका जिल्लाबाट नेपाली कामका लागि भारत जाने गरेको ईलाका प्रहरी कार्यालय, जमुनहाको तथ्यांकले देखाएकोछ ।
बाढीले बगाएको त्रिभुवन त्रिशूली माबिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र मनोसामाजिक परामर्श
डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते
कारागारमा सुरुङ खनेर डोल्पामा भागे ८ कैदी
कोहलपुरमा ‘स्वस्थ आमा, सुरक्षित शिशु’ अभियान, २८ दिनसम्मको शिशुको उपचार निशुल्क
पत्रकारहरूमाथि धरपकड: गृहमन्त्री चुपचाप, प्रधानमन्त्रीको आदेशमा सबै पत्रकारलाई प्रहरीले छोड्यो