अधिवक्ता शाहको पुस्तक आउँदै


अधिवक्ता शाहको पुस्तक आउँदै

नेपालगन्ज : नेपालगन्जका सफल युवा कानून व्यवसायीको परिचय बनाइसकेका अधिवक्ता लोकबहादुर शाहको पुस्तक ‘चौकीदारदेखि वकिलसम्म’ असोज मसान्तमा बजारमा आउने भएकोछ । क्रियटिभ बुक्सद्वारा सार्वजनिक गरिन लागेको उक्त पुस्तक अधिवक्ता शाहले आफ्नै विगतमाथि लेखेको पुस्तक हो ।

क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीद्वारा मङ्गलबार जारी एक विज्ञप्तीमा सो कुरा उल्लेख गरिएकोछ । सुदूरपश्चिमी पहाड अछामको गरिबी र दुःखले थिचेको विकट गाउँबाट उठेर शाहले फराकिलो क्षितिज पहिल्याउँदाको जीवन संघर्षको कथा पुस्तकमा उतारेकाछन् ।

छाउपडी प्रथा, हटारु जीवनशैली र भारतको चौकीदारीको आफ्नै अनुभूति मात्र होइन, उनले व्यवसायिक संघर्षका उतारचढावका संस्मरणहरु पनि समेटेको क्रियटिभ ह्याण्डले जनाएको छ ।

अछामको तत्कालिन शान्तडा–३, सारागाउँमा जन्मिएका अधिवक्ता शाहले मेलारुखको नेराप्राविबाट अध्ययन शुरु गरे । २०४६ सालमा एसएलसी पास गरेपछि सुर्खेतमा आइएल पढ्ेका शाहले त्यसपछिको पढाई नेपालगन्जबाट पुरा गरे । २०५१ सालमा नेपालगन्ज पढ्न आएका शाह यहीको स्थायी बासिन्दा बने । क्रियटिभ ह्याण्डद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

एसएलसी पास भएपछि भारतको बम्बईमा दाजुहरुसँग चौकीदार गर्न गएको, नेपालगन्जमा १८ वर्षको डेराको यात्रा, पहिलो बहस गर्दाको अवस्था, परिपक्व वकिल देखिन कालो कोट र जुँगा पालेका सम्झनाहरु किताबमा पढ्न पाइन्छन् । बराबरी मत आएपछि गोलाप्रथाबाट बारको अध्यक्ष भएका शाह गणित विषय छल्न कानून बिषय पढेका हुन् ।

गणित पढ्न नपरोस् भनेर कानून पढेका शाह कालान्तरमा नेपालगन्जको मात्रै नभएर देशकै चर्चित कानूनी व्यवसायी बन्न सफल भएकाछन् । पुस्तकमा उनका दुःख र संघर्षहरु उतारिएको छ । पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले पुस्तकको सम्पादन गरेकाछन् । दुःखको चौघेरा पन्छाएर सफलताको सिढी चढ्न खोज्ने युवा पुस्ताका लागि पुस्तक प्रेरणादायी हुने क्रियटिभ ह्याण्डसका अधयक्ष ठकुरी बताउँछन् ।

‘क्रियटिभ बुक्स हरेक मानिसका प्रेरणादायी, संघर्षका कथाहरु बाहिर आउनुपर्छ भन्ने मान्यता राख्दछ । देश विकास र समाज परिवर्तनका लागि योगदान गरेका कसैको पनि कथा नामेट हुनु हुँदैन भन्ने हामी चाहन्छौं ।’ विज्ञप्तीमा उल्लेखछ । क्रियटिभ बुक्स छोटो समयमै छैठौ पुस्तक प्रकाशनको तयारीमा जुटेको भन्दै यसको श्रेय पाठक रहेको ठकुरी बताउँछन् ।