कटुवा पेस्तोलसहित पक्राउ परेका ब्यक्तिलाई सार्वजनिक गर्दै बाँकेका प्रहरी प्रमुख ओमबहादुर राना । तस्विरः सेतोखरी
नेपालगन्ज : बाँकेमा बन्द जस्तै रहेको साना हतियारको प्रयोग र ओसारपसारको घट्ना पुनः ब्युँतिन थालेकोछ । कोरोनाका कारण सिर्जित असज परिस्थितीमा समेत साना हतियारको ओसारपसार भएको घट्ना बाहिरीएसगैं जिल्लामा सुरक्षा चुनौती थपिएको छ ।
माओवादी जनयुद्ध होस् वा भूमिगत जनतान्त्रिकको गतिविधि, सबैमा साना हतियार प्रयोग हुन्थे । अहिले पनि जिल्लाभित्र हुने सबैखाले अपराधको घटनामा साना हतियार प्रयोग हुने गरेको पाइएको छ ।
प्रहरीले पटकपटक साना हतियार बरामद गर्नुले पनि बाँकेमा पुनः साना हतियारको अपराध ब्यँुतिएको पुष्टि गर्छ । साना हतियार प्रयोग गरी व्यक्ति हत्या, लुटपाट, चोरी, डकैती लगायतका घटनाहरू हुने गर्छन् ।
यसअघि जिल्लामा घरेलु तथा साना हातहतियारको विगविगि भइरहेको अवस्थामा बाँकेको नेपालगन्जमा प्रहरीले हतियार बनाउने कारखाना फेला पारेको थियो । उक्त कारखानाबाट ठूलो मात्रामा हतियार र हतियार बनाउन प्रयोग गरिने सामाग्रीसहित एक जनालाई पक्राउ गरि कारबाही गरेको थियो । त्यसयता लामो समयसम्म बन्द जस्तै रहेको साना हतियारको घटना बाँकेमा पुनः ब्युँतिएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरका ६२ वर्षीय सलिम नाँउ र वडा नम्बर १९ बसुदेबपुर निवासी ३३ वर्षीय ईब्राहिम बेहना कटुवा पेस्तोलसहित पक्राउ परेपछि बाँकेमा पुनः साना हतियार ओसारपसार र अपराध ब्युँतिएको पुष्टि गरेकोछ ।
नरैनापुर गाउँपालिका वडा नम्बर– ५ सर्बराजपुरुवास्थित हुलाकी सडक खण्डमा हातहतियारको ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी निरीक्षक बसन्त गौतम समेतको टोली परिचालन भई चेकजाँच गर्दा उक्त हतियार भेटाएको थियो ।
दुबै जनाले शंकास्पद प्लाष्टिकको बोरा भुईमा फालेकाले उक्त बोरा प्रहरी टोलीले खोलेर हेर्दा सो भित्र रहेको २ थान कटुवा पेस्तोल र सलिम नाउँले लगाएको स्टकोटको बाँया खल्तीमा रहेको कटुवा पेस्तोलमा लाग्ने गोली ५ राउण्ड फेला पारिएको बाँके प्रहरीले जनाएको छ । दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, एसपी ओमबहादुर रानाले जानकारी दिए ।
अभियुक्त दुबैलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिमको ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उनले बताए ।
बाँके प्रहरीका अनुसार सीमावर्ती भारतीय क्षेत्रबाट पेस्तोल, माउजर र नलकटुवा चोरबाटो हुँदै नेपाल भित्र्याउने गरिन्छ । सीमाक्षेत्रका बजारमा भारु २ हजारदेखि साना हतियारको कारोबार सुरु हुन्छ । भूमिगत समूह छाडेर बसेका एक सदस्यका अनुसार भारतमा १५ हजार भारुमा राम्रो साना हतियार खरिद गर्न पाइन्छ ।
खुला सीमाका कारण सजिलै भारतबाट नेपालमा अबैध हतियार भित्रिने गरेको छ । जसका कारण जिल्लामा सुरक्षा चुनौती बढाएकोछ । एसपी रानाले भने–‘ साना हतियार भएपनि यसले जन्माउने सुरक्षा चुनौति र अपराध ठूलै हुन्छ । साना हतियारको प्रयोगबाट पनि वन्यजन्तुको शिकार लगायतका घटना हुने गरेकाछन् ।’
उनकाअनुसार साना हतियाको बिगबिगी र प्रयोग रोकथामका लागि जिल्ला मातहतका सबै प्रहरी यूनिटलाई निर्देशन र आदेश दिइसकिएको छ । बाँकेमा साना तथा ठूला हतियारबाट हुने अपराधिक घटना न्यूनिकरणमा प्रहरीको सक्रियता बढेको उनको भनाई छ ।