राष्ट्रिय झण्डाको अपमान


राष्ट्रिय झण्डाको अपमान

नेपालगन्ज : नेपालगन्जको मुटु त्रिभुवन चोकमा राष्ट्रिय झण्डाको अपमान गरिएकोछ । नेपालगन्ज उद्योग बाणिज्य संघले आगामी प्रादेशिक महोत्सवका लागि भन्दै राष्ट्रिय झण्डाको गरिमामाथी खेलवाड गर्दै आफूखुसी गरेको छ ।

नेपालको झण्डालाई अपमानित गर्दै संघले नेपाल र नेपालीकै इज्जत माथी खेलवाड समेत गरिदा स्थानीय सरकार मौन बसेकोछ । आगामी प्रादेशिक महोत्सव सञ्चालनका लागि प्रचार–प्रसार गर्ने क्रममा नेपालगन्जको त्रिभुवनचोकमा रहेको राष्ट्रिय झण्डालाई स्वतन्त्ररुपमा फहरिन नदिई झण्डालाई संघले अंकुस लगाएको हो ।

आन, मान र शानले भरिएको देशको झण्डालाई नै स्वतन्त्ररुपमा फहरिन नदिई झण्डालाई नै बाँधेर सिगारिएको त्रिभुवन चोकले यतिबेला नेपालगन्ज उद्योग वाणिज्य संघलाई गिज्याईरहेकोछ । उद्योग वाणिज्य संघले राष्ट्रिय झण्डामाथी गरेको अत्याचार नेपालगन्जमा मात्र सिमित भएन । यसले सामाजिक सञ्जालमा खुवै चर्चा बटुलिरहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

राष्ट्रिय झण्डाको पहिचान र मूल्य मान्यतामाथी संघले अभद्र व्यवहार गरेको यसले पुष्टि गरेको स्थानीय बताउँछन् । आफूलाई असली राष्ट्रबादको संज्ञा दिने संघका अध्यक्ष नन्दलाल वैश्य नेतृत्व संघले प्रादेशिक महोत्सवका नाममा चोकको स्वरुप विगार्दै झण्डाको गरिमामाथी खेलवाड गरेको स्थानीय राजु थापा बताउछन् ।

राष्ट्रकै प्रतिकको रुपमा रहेको झण्डाको दुरुपयोग गर्नु जघन्य अपराधको रुपमा लिने गरिन्छ । विहानबेलुका त्यहीबाटो हिड्ने अध्यक्ष वैश्य मैलो भएको झण्डा फेर्न अप्ठेरो मान्छन्, झण्डाको ईज्जतमाथि खेलवाड गरि खोक्रो राष्ट्रबाद झल्काउछन् स्थानीय एकजनाले बताए । राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही÷कसैले पनि पाउँदैन । तर जिम्मेवार निकाय सरकारले यसको सोधखोज र कारबाही भने गर्नसकेको छैन । पछिल्लो समय, अझ भनौँ लोकतन्त्र आएपछि भने राष्ट्रिय झण्डाको दुरुपयोग बढ्न थालेको हो ।

देशको शान र पहिचानका रुपमा रहेको नेपालको झण्डा पछिल्लो समयमा आफुखुशी प्रयोग गरि दुरुपयोग गर्ने कार्यमा तीब्रता पाएकोे छ । राष्ट्रिय चिन्हहरूको प्रयोग कहाँ कस्ले गर्ने र गर्न पाउने भन्ने प्रष्ट उल्लेख भएपनि आफुखुशी प्रयोग गरिदा समेत सम्बन्धित निकाय मौन रहेको छ । ती चिन्हहरुमध्ये राष्ट्रिय झण्डा पनि एक हो । विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको झण्डा नेपालकै रहेको कुरा सर्वविदितै छ ।

के भन्छ कार्यविधि
कार्यविधिमा व्यापारिक प्रयोजनको लागि र विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको प्रयोग गर्न पाइने छैन भनेर उल्लेख गरेपनि व्यवहारमा त्यो लागु हुनसकेकोछैन । राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले विभिन्न सातवटा शर्तहरु राखी राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन भनेको छ । तर दुरुपयोग गरे नगरेको कसले हेर्ने र दुरुपयोग गर्नेलाइ के कस्तो कारवाही गर्न सकिने भन्ने कुरो चाहि ठ्याक्कै तोकेको छैन । कार्यविधिको परिच्छेद ४ मा कुनैपनि जिल्लाको हकमा आफ्नो कार्यक्षेत्र भित्र राष्ट्रिय झण्डाको दुरुपयोग भए नभएको अनुगमन गर्ने भनेर प्रमुख जिल्ला अधिकारीलाइ तोकेको छ ।

गृहमन्त्रालयले बनाएको कार्यविधिको दफा ११ मा राष्ट्रिय भण्डाको दुरुपयोगमा निषेध गरिएको छ । राष्ट्रिय झण्डाको अपमान हुने गरी कुनै कार्य गर्न नहुने, झण्डा च्यात्न वा फ्याँक्न नहुने र फहराउने प्रकृतिको कार्यमा बाहेक अरु काममा प्रयोग गर्न नहुने कार्यविधिमा उल्लेख छ ।

पछिल्ला वर्षहरुमा मानिसहरू मनलाग्दी ढंगले राष्ट्रिय झण्डाको प्रयोग गरी देशकै इज्जतमाथि खेलबाड गरिँदा समेत सरकार मौन बसेकै कारण दुरुपयोग गर्ने क्रममा तीव्रता आएको हो ।

नेपालको राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुनथालेपछि सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ बनाए पनि त्यो सरकारी पक्षबाटै कार्यान्वयन भएको छैन । सोही कारण राष्ट्रिय झण्डाको दुरुपयोगमा वृद्धि हुँदै गएको हो । जसको ज्वलन्त उदाहरण नेपालगन्जको त्रिभुवन चोकमा उद्योग वाणिज्य संघले गरेकोछ ।

तस्विरः रवि कनोजिया/सद्भाव