आईतबार, मंसिर २१, २०७७   ०७:५५:०३

कति तनाव छ हामीलाई के थाहा छ र सरकार तिमीलाई ?


सेतोखरी   2077-06-24

म, तिमी, हामी सबै विद्यार्थी तनाव है ।

कति तनाव छ हामीलाई के थाहा छ र सरकार तिमीलाई ?

हामी धेरै महिनाबाट एक बन्द कोठामा बन्द छौं ।

हाम्रो पीडा, हाम्रो सपना, हाम्रो दुःख क्या मज्जासँग हावापानी झैँ कहिले हामी सबैको दुश्मन भइयो थाहा छैन मलाई ।

तर, के भन्नु यार, मान्छेहरूको डरले भन्न पनि सकेको थिएन मैले ।

ल अब, आज त भनेर नै छाड्नेछु भनेर हिम्मत गरेर यो लेख प्रकाशित गर्दै छु ।

मेरो आमाबाबाले भन्नुहुन्छ, दिनभरि पढ्नुलेख्नु छैन्न है ??

तर, कसरी भन्ने मैंले कि कसरी पढ्ने ?, कसरी भन्नु त्यस्ता हजारौं प्रश्नहरूका उत्तर । मजस्तै अरू हजारौं लाखौं बालबालिका र विद्यार्थीलाई अहिले यही पीडा छ ।

एक बन्द कोठामा बन्द छौं हामी, हजारौं काम गर्ने जाँगर भएका हामी अहिले खाना र सुत्न समेत अल्छी मानेका छौँ । यो पक्कै पनि समय र परिस्थितीको खेल हो । तर, नबुझ्नेलाई झमेला आउनसक्छ आजका दिनहरूमा ।

महामारीका कारण लागु गरिएको लकडाउन र कोरोनाका कारण सिर्जित असहज परिस्थितीका कारण लाखौँ विद्यार्थी अहिले घरमै रहेका छन् । विविध क्षेत्रसँगै शैक्षिक क्षेत्र सबैभन्दा बढि प्रताडीत हुने क्षेत्रमा परेको छ ।

एउटा तथ्यांकलाई हेर्दा विश्वमा रहेका साढे सात अर्ब जनसंख्यामध्ये, हरेक ५ जनामा १ जना विद्यार्थी रहेको बताइन्छ । यसरी हेर्दा विश्वमा साना कक्षादेखि विश्वविद्यालयका विद्यार्थीसम्मको तथ्यांक हेर्ने हो भने १७ करोड माथि जनसँख्या विद्यार्थी छन् । यो सन् २०१७ कै तथ्यांक हो ।

शहरी क्षेत्रका कतिपय निजी विद्यालयहरूले गत वैशाखदेखि नै अनलाईन कक्षा सञ्चालन गरिरहेका छन् । नेपालमा करीब एक चौथाई विद्यार्थी निजी विद्यालयमा पढ्ने गरेको बताइन्छ । भने गुणस्तरका हिसाबले सामुदायिक विद्यालय, अझ ग्रामीण क्षेत्रमा, पढ्ने विद्यार्थी कमजोर हुने गरेको पाइन्छ । त्यसैले सबै विद्यार्थीले समान रूपमा यस्ता वैकल्पिक शैक्षिक विधिको उपयोग गर्न नसक्ने चिन्ता पनि कतिपयले गरेका छन् । अनि सरकारले अरु तनाव दिन्छ, कहिले के भनेको छ, कहिले के । आफ्नो पार्टीको झगडा नबुझ्न सक्ने राजनीतिज्ञले हामी विद्यार्थीको बारेमा सोँच्नु त धेरै डाढाको कुरा भयो । आजका दिनहरूमा विद्यार्थी हुनुमा गर्व हैन् पीडा लागिरहेको छ ।

अहिलेको माहामारीमा विद्यार्थीहरू विभिन्न प्रकारका मानिसिक कुराहरुबाट चिन्तित छन् । मानसिक रोग मान्छेको मनलाई सताउने वा मन अशान्त पार्ने रोगहरु हुन । सामान्यतया स्वास्थ्य परीक्षणबाट मानसिक रोग पत्ता लगाउन गा¥हो हुन्छ । एउटा सक्षम अनुभवी मनोचिकित्सकले रोगीका लक्षण हेरेर रोग पत्ता लगाउन सक्छ ।

सामान्य रूपमा हेर्ने हो भने, कोरोनाले विद्यालय र विद्यार्थीलाई धेरै नै असर पारेको छ । दिनैपिच्छे कोरोनाको बढ्दो संक्रमण र संक्रमित ब्यक्तिको मृत्युले अझैं पनि कहिले विद्यालय खुल्ने हो भन्ने कसैलाई थाहा छैन । शिक्षाविद् सरकारसम्म यो विषयमा मौन छ । शैक्षिक शत्रको मध्यदेखि हामी अन्त्यतिर प्रवेश गरिरहेकाछौं ।

सायद, हजुर र मलाई पहिले बिदा कहिले होला भन्ने लाग्थ्यो तर, अहिले विद्यालय कहिले खुल्छ भन्ने तनावले सताइरहन्छ । त्रास र प्रभावमा घर र टोलमै सीमित बन्न पुगेका हामीलाई अहिले बिदा भन्ने कुरा पिटिक्क मन पर्दैन ।

यो समय, यो परिस्थिति अनुसार यो प्रश्न मनमा आउनु धेरै ठुलो कुरा त हैन । यद्यपी समयको सदुपयोग गरियो भने केही छिनमै हामी सबैको पीडा मनबाट टाढा हुन्छ । कोरोना भाइरस संक्रमणका कारण सिर्जित असहज परिस्थिती र बन्दाबन्दीका कारण विद्यार्थीको मनोसामाजिक अवस्थामा पर्न गएको असरप्रति न अभिभावक नै सोचमग्न छन् । न त स्थानीय निकाय न त सरकार नै । यो या त्यो बहानामा अभिभावक र विद्यार्थीलाई अनावश्यक तनाव दिइरहेकोछ ।

यस्तो अवस्थामा स्थानीय सरकारले पनि नयाँ कार्यक्रम ल्याएर प्रभाबकारी शिक्षणमा जोड दिनु आवश्यक देखिन्छ । जनचेतनामुलक सामग्री तयार गरि सामाजिक दूरी र स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण पालना गर्दै हरेक विद्यार्थीको पहुँचमा पुग्ने गरि शैक्षिक गतिविधि सञ्चालन गर्नै पर्छ ।

भर्ना अभियानको नाममा, अनलाईनबाट कक्षा सञ्चालनको बाहना गरेर अभिभाबकबाट शुल्क उठाउने जालसाजी भइरहेको छ । तर हामी विद्यार्थीले अध्ययन गर्ने वातावरण नै पाएका छैनौं ।

सरकारले अनलाईन कक्षाको अवधारणा अगाडि सार्नु पहिले कुन सफ्टवेयरबाट सञ्चालन गर्ने, कति प्रतिशत विद्यार्थीको पहुँचमा ईन्टरनेट छ, के शिक्षकहरू अनलाईन कक्षा सञ्चालन गर्नसक्ने अवस्थामा छन् यसलाई समेत मध्यनजर गर्न आवश्यक छ । विकटका विद्यालय न प्रविधिको पहुँचमा छन् न त्यहाँका सबै शिक्षकले प्रविधिको प्रयोग गर्न नै सक्ने अवस्था छ । तसर्थ अनलाइन कक्षाको हल्ला फैलाएर सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीको मानसिकतामा असर पार्ने काम नगरियोस् । यी सबै कुराहरु हेर्दा देशभरका हामी विद्यार्थी अध्ययन गर्न नपाएर तानावमा छौं । सरकार भने मस्तीमा छ । यो नगर, त्यो नगर । विद्यार्थीको समस्या समाधान दिनु कहाँ हो कहाँ झन् जटिल बनाउदैछ सरकार ।

पछिल्लो तथ्याङ्कले कोरोना सङ्क्रमणका कारण दैनिक मृत्यु हुनेभन्दा आत्महत्या गर्नेको सङ्ख्या बढी देखाइरहेको छ । लामो समयसम्मको बन्दाबन्दीले मानसिक समस्यामा परेका र यही कारण आत्महत्या गर्न बाध्य छन् । यस सन्दर्भमा मानसिक समस्याको जरो पहिचान गरेर न्यूनीकरणका लागि प्रयत्नसमते नगरेर आँकडा मात्र राख्ने काममा राज्य सीमित छ ।

गत वर्षको चैत महिना यता कोरोना सङ्क्रमणका कारण ६ सय जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यसको विपरीत मानसिक समस्याका कारण प्रत्येक दिन सरदर १६ जनाले आत्महत्या गर्ने गरेको पाइन्छ । नेपालमा पछिल्लो ५ महिना दैनिक सरदर २० जनाले आत्महत्या गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस अर्थमा आत्महत्या दर सरदर २० प्रतिशत बढेको देखिन्छ । आत्महत्या गर्नेमध्ये ८५ प्रतिशत व्यक्ति मानसिक रोगी हुने गरेको मानसिक रोग विशेषज्ञ बताउँछन् ।

अन्त्यमा, हामी विद्यार्थीकाई एउटा खेलैनाको रूपमा नलिनु होला हाम्रो मन, मस्तिष्कसँग जोडिएको हाम्रो विद्यार्थी नाता धेरै नै अनमोल छ । यति मात्र हैन उसले जानेका कुरा अरूलाई बाँड्दै पनि हिँडेको हुन्छ । यसर्थ विद्यार्थी जीवन लिनु र दिनु पनि हो । तर, लिनु र दिनुमा ठुलो त्याग र तपस्या रहेको हुन्छ ।

आफ्नो रुचीको वस्तु उपभोग गर्न छाडेर, आवश्यकतामा मात्र रमेर जीवन व्यतित गर्नु एउटा त्याग हो । त्यसैले विद्यार्थी जीवन त्याग र तपस्याको जीवन हो । जुन सामान्य जीवन भन्दा फरक छ । हामी र हाम्रो भविष्य के होला र कस्तो होला भन्ने कुरा मलाई पनि थाहा छैन अहिलेको माहामारीको अवस्थामा । हालसम्मका लागि आफ्नो परिवारसँग घरमै बसेर कोरोना भाइरस संक्रमित हुनबाट बचौं र अरूलाई पनि बचाउँदै मानव सेवा प्रदान गरौं ।

स्नेहा शर्मा, नेपालगन्ज–१०