बाँके प्रहरीको सरप्राईज चेकिङ्गदेखि क्विक रेस्पोन्स


बाँके प्रहरीको सरप्राईज चेकिङ्गदेखि क्विक रेस्पोन्स

नेपालगन्ज : चाडपर्वलाई मध्यनजर गर्दै बाँके प्रहरीले विशेष सुरक्षा योजना अघि सारेकोछ । नेपालीहरुको ठूला चाडबाड दशै, तिहार तथा छ्ठ जस्ता पर्वलाई लक्षित गरी जिल्ला भित्र हुन सक्ने चोरी, डकैती, शान्ति सुरक्षा खलल लगायतका अपराध न्यूनीकरण तथा नियन्त्रणका लागि बाँके प्रहरीले विशेष सुरक्षा योजना अघि सारेको हो ।

आईतबार जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमार्फत बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले १४ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेका छन् ।

उनका अनुसार सुरक्षा योजना अन्तर्गत पिकेट–३१ स्थानमा, हाइवे चेकिङ–४ स्थानमा, एम्बुस चेकिङ–३० स्थानमा, डग स्न्यापिङ आवश्यकता अनुसार, विशेष टोली (सादा पोशाक) २५ जना, सरप्राइज चेकिङ –१० स्थानमा, मोबाइल गस्ती–१० वटा, पैदल गस्ती –२० वटा, सीसिटिभी निगरानी–१० जना, स्कटिङ–२० जना आवश्यकता अनुसार, काउण्टर पार्ट्स सीमा नाकाका– १२ स्थानमा, क्विक रेस्पोन्स टिम– १४ समुह, भिग्रस चेकिङ–१४ स्थानमा र कमाण्ड पोष्ट जिल्ला प्रहरी कार्यालयबाट मोनिटरिङ गरिने प्रहरी उपरीक्षक रानाले बातए ।

बाँके प्रहरीको यो विशेष सुरक्षाका लागि ६ सय ५० प्रहरी परिचालन गरिने भन्दै प्रहरी उपरीक्षक रानाले यो या त्यो ढङ्गले कानून भन्दा बाहिर जाने जोकोहीलाई तत्काल कारबाही गरिने बताए । उनले अगाडी थपे– ‘आफूले अघि सारेको सुरक्षा योजना कडाईका साथ कार्यान्वयन गरिने र यसका लागि कसैसंग सम्झौता गरिनेछैन ।’

Kids Festival 2022
kanti aarogya hospital

उनले पत्रकार सम्मेलनमा जिल्लाको शान्ति सुरक्षा, अमनचयन, सामाजिक वातावरणमा खलल पुग्ने लगायतका गतिविधि गर्न नर्ग आग्रह गर्दै सरकारले तोको चाडपर्व मनाउने सम्बन्धिको मापदण्डलाई पूर्ण पालना गर्दै कोरोनाबाट बच्दै सुरक्षित रहन समेत आग्रह गरे ।

विशेषगरि चाडबाडमा हुने जुवातास, मदिरा सेवन, होहोल्ला, सद्भाव खललका गतिविधि हुने भएकाले यस विषयमा आफू र आफ्नो मातहतको टिमलाई सक्रिय भएर लाग्न निर्देशन दिएको बताउँदै कुनैपनि शंकास्पद घटना भएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे ।

यसअघि प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिइसकेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालयले आफ्ना विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको बताए । केही दिन भित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने उनले जानकारी दिए ।