नेपालगन्ज २७ मंसिर: आजभोलीको समय सूचना र प्रविधिको समय हो । प्रत्येक व्यक्ति यसको यसको भरपूर उपयोग गर्न अग्रसर भइसकेका छन् । राजधानी काठमाडांैदेखि बाँकेका दुरदराजमा पनि सूचना प्रविधिलाई सहजै जोडिएको छ । अहिलेको सामाजिक अवस्थामा आफूलाई स्थापित गर्न सूचना र प्रविधिलाई अँगाल्नुपर्ने बाध्यकारी या अत्यावश्यक अवस्था छ भन्दा दुईमत नहोला । एक बर्षअघिसम्म बाँकेमा प्रविधिको आडमा विभिन्न खालका अपराधहरु भइरहेका थिए । तर, पछिल्लो नौ दश महिना यता बाँकेमा साइबर अपराधका घटना प्रहरीमा दर्ता हुन नआएको जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेको अपराध शाखाका प्रमुख रणबहादुर विष्टले बताए । यतिबेला समाजमा सूचना र प्रविधिको व्यापक दुरुपयोग बढेको देखिएपनि अपराधकै रुपमा प्रयोगमा कमी आएको उनले जानकारी दिए । यसअघि विकृति या विसंगतिहरू दिनप्रतिदिन उत्पन्न भएका थिए, जसबाट व्यक्ति विशेष मात्र नभई सिंगो समाज नै प्रताडित बन्न पुगेको थियो उनले भने ‘अहिले यस्तो अवस्था छैन् ।’
केही महिनाअघि सम्म पनि यसको दुरुपयोग बढ्दै जाँदा कतिपय ठूला घटनाहरु साइबर गतिविधिबाट नै भएको प्रहरी अनुसन्धानले समेत देखाएको थियो । परम्परागत रूपमा देखा पर्ने अपराधभन्दा सूचना र प्रविधिसँग सम्बन्धित अपराध बढी खतरापूर्ण हुने प्रहरी निरीक्षक विष्टले बताए । उनका अनुसार ‘कतिपय अपराध विद्युतीय अपराधमा परिणत भइरहेका छन् ।’ उनले भने ‘जसलाई धेरै हदसम्म साइबर अपराध भनेर बुझ्न सकिन्छ ।’
सूचना प्रविधिले ल्याएको परिवर्तनपछि चोरी, अपराध, चोरी अपराध नै हो, डाँका अपराध डाँका अपराध नै हो र वित्तीय अपराध, वित्तीय अपराध नै हो उनले भने ‘मात्र यसमा सूचना प्रविधि सहयोगीको रूपमा प्रयोग भएको हुन्छ ।’ विद्युतीय अपराध विद्युतीय वा साइबर अपराध नै भएको उनले बताए । हरेक गतिविधिमा सूचना प्रविधिको प्रयोग हुने हुँदा कुनचाहिँ कुन अपराध हो, यसलाई सही ढंगले विश्लेषण गरेर कानूनी उपचार गरिनु उपयुक्त देखिने उनको भनाई छ ।
सामान्य अर्थमा कानुनद्वारा निषेधित कम्प्युटरसम्बन्धित दुरुपयोग वा अपराधहरू नै साइबर अपराध भएको प्रहरी निरीक्षक बिष्ट बताउँछन् । बाँकेमा बार्षिक ३० देखि ४० वटा यस्ता उजुरीहरु जिल्ला प्रहरीमा आउने गरेकोमा यो नौ दश महिनाको अवधीमा कोही पनि यस्ता खालका उजुरी लिएर दर्ताकै लागि नआएको उनले बताए । आएका सानातीना कतिपय उजुरी मिलापपत्र गराईएको उनले जानकारी दिए ।
साइबर अपराधका उजुरीमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधि पर्ने भएकोले यसको अनुसन्धान काठमाडौबाटै गरिने उनले जानकारी दिए । उनका अनुसार सचेतना, कारवाही हुने कानूनी त्रास, प्रहरी सक्रियताले बाँकेमा यस्ता गतिविधी न्यूनिकरण हुँदै गएका छन् । इन्टरनेटबाट हुने अश्लील हर्कत, इन्टरनेटबाट हुने वेश्यावृत्ति, अनधिकृत प्रतिलिपिको बेचबिखन, अनलाइन जुवाका गतिविधि (सत्ताबाजी) अनलाइन गेमहरू, अनधिकृत वा राज्यले बन्देज गरेका चिजहरूको अनलाइन प्रकाशन, गोपनीयताको चुहावट, सामाजिक सञ्जालबाट दिने गालीगलौज, धम्की लगायतका गतिविधि साइबर अपराध अन्र्तगत पर्ने उनले बताए ।