बाँकेमा देउसीभैलो खेल्न प्रतिबन्ध

खुलेन बागेश्वरी मन्दिर


बाँकेमा देउसीभैलो खेल्न प्रतिबन्ध

नेपालगन्ज : कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि भन्दै बाँके प्रशासनले यस वर्ष तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएकोछ । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार एक सूचना सार्वजनिक गर्दै यस वर्ष तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको हो ।

कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला यस वर्ष पहिलो पटक तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । देउसीभैलो खेल्दा भीडभाड बढि हुने र यसले कोरोना संक्रमणको प्रसारका रुपमा कार्य गर्ने भन्दै यसपटक देउसीभैलो खेल्न प्रतिबन्ध लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँके सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्वारा जारी उक्त सूचनामा यसपटक देउसीभैलो नखेल्न जिल्लाबासीमा अनुरोध गरिएको छ । प्रशासनले निर्णयबिरुद्ध देउसी भैलो खेलेको पाइएमा कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको बैठकले दशैंका अवसरमा गरिने शुभकामना आदानप्रदान कार्यक्रमलाई समेत रोक लगाएको छ । जिल्लाका शक्तिपीठ, धार्मिक स्थलमा धर्म परम्परालाई निरन्तरता दिन नित्य पूजाआजा गर्न मात्र छुट दिइएको छ भने कुनै पनि राजनीतिक दल, संघ संस्था भेला भइ गरिने क्रियाकलापमा समेत रोक लगाइएको प्रशासनको सूचनामा उल्लेख छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै चाडपर्वका अवसर पारेर कुनै राजनीतिक दल, संघ, संस्था, समूह तथा संजालहरुले भेला भइ गरिने शुभकामना आदानप्रदान, देउसी भैलो, खेलकुदलगायतका क्रियाकलाप सञ्चालन नगर्न सूचनामार्फत अनुरोध गरिएको छ ।

एकआपसमा सद्भाव कायम गर्ने, धार्मिक, सामाजिक, साँस्कृतिक सद्भाव विथोल्ने गतिविधि नगर्न अग्रह गर्दै जनस्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्ड पूर्णरुपमा कार्यान्वयन गरि ब्यापार ब्यवसाय तथा यातायात सञ्चालन गर्न समेत जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेकोछ ।

प्रशासनले जारी गरेको निर्णयको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई प्रचलित कानूनअनुसार कारवाही हुने चेतावनी दिएको छ । चाडबाडसगैं मानिसको भीडभाड, आवागमन र जमघटका कारण कोरोना संक्रमणको दर उच्च हुने भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न जिल्लाबासीमाझ आग्रह गरिएकोछ ।

यसैबीच, नवरात्रको पहिलो दिन शनिबार बाँकेको शक्तिपीठ बागेश्वरी मन्दिर बन्द रह्यो । कोरोना संक्रमण र यसको रोकथामका लागि यसअघि गृहमन्त्रालयले देशका ७७ वटै जिल्लालाई पत्राचार गर्दै शक्तिपीठ, मठमन्दिर नखोल्न निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम बाँकेको नेपालगन्जमा रहेको पश्चिम नेपालकै शक्तिपीठ बागेश्वरी मन्दिर खुल्न नसकेको हो ।

नवरात्रमै बागेश्वरी मन्दिर नखुलेपछि श्रद्धालुहरुले दुःख ब्यक्त गरेकाछन् । उनीहरुले धार्मिक अनुष्ठाका कुनैपनि गतिविधी गर्न नपाएको भन्दै धार्मिक परम्परा र आश्थामाथि सरकारले अन्याय गरेको बताउँदै आएकाछन् । नवरात्रका पहिलो दिन, फूलपाती, महाअष्टमी, कालरात्रीका दिन बागेश्वरी मन्दिरमा विशेष पूजाअर्चना हुनुको साथै दर्शानार्थीको ठूलो भीड लाग्ने गर्दछ ।