बर्दियामा मौलाउदै लागुऔषध तस्करी

करिब डेढ करोड मूल्यको लागुऔषधसहित एक पक्राउ


दीपक शर्मा दीपक शर्मा   बिहीबार, कात्तिक ६, २०७७
बर्दियामा मौलाउदै लागुऔषध तस्करी

बर्दिया : पछिल्लो समय लागुऔषध ओसारपसारका लागि बर्दिया ट्रान्जिट प्वाईन्टका रुपमा बनेको छ । अफिम, चरेस लगायतका लागु औषध बर्दियाका विभिन्न नाका भएर भारततर्फ तस्करी हुने घटनाक्रम पनि बढ्दै गएकोछ ।

लागुऔषध ओसारपसार तथा यसको कारोबारमा यति बेला बर्दिया जिल्लाका विभिन्न नाका तस्करका लागि उपयुक्त गन्तब्य बनेकोछ । देश कोरोना भाइरस संक्रमणको महामारीसंग जुधिरहेका बेला तस्कर सक्रिय बन्दै गएकाछन् ।

गत वर्ष मंसिर १ गते जिल्ला प्रहरी कार्यालय बर्दियाले विशेष सुराकीको आधारमा ५८ केजी चरेससहित पाँचजनालाई नियन्त्रणमा लिएको थियो । लागुऔषध ओसारपसारमा आक्रमकरुपमा अघि बढेको बर्दिया प्रहरीले अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध सहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटेको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नम्बर–८, स्थित भन्सार रोडबाट ५८ किलो लागूऔषध चरेससहित पूर्वी रुकुम पुठा उत्तरगंगा गाँपालिकाका २६ वर्षिय अस्मिाता रामजाली, पूर्वी रुकुमकै ३४ वर्षिय राजकुमार पुन, पूर्वी रुकुम भूमी गाँउपालिकाकी २७ वर्षिय जुनतारा पुन, ३४ वर्षी सुनथामी बुढामगर र दोईखोली गाँउपालिका–८, पासावाङ्गका खिमप्रसाद रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

बर्दिया प्रहरीका अनुसार लागुऔषध नियन्त्रणको ईतिहासमा अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध बरामद गरिएको यो पहिलो घटना थियो ।

प्रहरीको सक्रियतासगैं लागुऔषधको कारोबारी तथा ओसारपसारमा ठूलो उपलब्धी प्राप्त भएपछि जिल्लामा सक्रियरुपमा रहेका लागुऔषध तस्कर, कारोबारी मौन जस्तै बसेका थिए । तर, ठूलो मात्रामा लागुऔषध चरेस सहित पाँच जना पक्राउ परेको एक वर्ष नपुग्दै बर्दियामा पुनः ठूलो मात्रामा लागुऔषध अफिम, चरेस सहित एक जनालाई पक्राउ गरिएको छ । यो घटनाले यतिबेला बर्दियामा लागुऔषधको कारोबारमा तस्कर सक्रिय रहेको प्रमाणित गर्छ । चाडबाड र कोरोना महामारीका बीच ठूलो मात्रामा लागुऔषध ओसारपसार तथा यसको तस्करीको घटना बाहिरिएसगैं लागुऔषको तस्करी र ओसारपसारका लागि ट्रान्जिट प्वाइन्ट बर्दिया बनेको पुष्टि गर्छ ।

सशस्त्र प्रहरीले बर्दियामा नेपाल–भारतसंग सीमा जोडिएको गुलरिया नगरपालिका वडा नम्बर १ को १० नम्बर गाउँबाट बुधबार ठूलो परिमाणको अफिम र चरेस सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बरामद गरेको लागु औषधको मूल्य करिब एक करोड ४९ लाख भन्दा बढि रहेको छ । प्रहरी स्रोतका अनुसार चरेसको बजार मूल्य प्रति किलो २५ हजार देखि ३० हजार रुपैयासम्म रहेको छ भने अफिम मूल्य प्रतिकिलो करिब ८ लाख ५० हजार रहेको बताइएको छ ।

बिशेष सुराकीको आधारमा बर्दियाको गुलरिया नगरपालिका—१ गाँउ नम्वर १० स्थित बुद्धि दमाइको घरमा छापा मार्दा रुकुम बाफिकोट गाँउपालिका – ८ डुले निवासी ३८ वर्षिय निर्मला बाँठा मगरको शरीरमा बेरी राखेको अवस्थामा ५ किलो ५ सय ग्राम अफिम फेला परेको हो । थप अनुसन्धान गर्दा थप २३ किलो भन्दा बढि अफिम र चरेस फेला परेको बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ परेका महिलाबाट पाल्पा बाका मालाङ गाउँपालिका –६ का ४२ वर्षिय दानबहाुदर मल्ल र बर्दिया सानो श्री ठेगाना उल्लेख भएका ४० वर्षिया बालकुमारी विककोे नागरिकता पनि फेला परेको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेकी महिला भरिया मात्रै भएको खुलेको छ । उनलाई प्रलोभनमा पारी भारतको सीमा कटाउने सम्मको जिम्मा दिएको बताइएको छ ।

पछिल्ला समय जिल्ला प्रहरी कार्यालय बर्दियाले जिल्लामा हुने लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रण तथा न्यूनिकरणका लागि विशेष निगरानी बढाएकोछ । प्रहरीको सक्रियता र निगरानीले धमाधम लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न ब्यक्तिहरु पक्रिदै आएकाछन् ।