नेपालगन्ज : बाँकेको नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको रमझम शुरु भइसकेको छ । आठौं राष्टिूय खेलकुदमा सहभागी हुने खेलाडीहरु जिल्ला हुँदै प्रदेशबाट छनौट भइरहेका छन् । यस्तो माहोलका बीच एकथरी तेक्वान्दो खेलाडी भने ‘रुष्ट’ भएका छन् ।
आठौं राष्ट्रिय खेलकुदलाई भनेर वर्षौदेखि ‘मेहनत’ गरेका राष्ट्रिय तेक्वान्दो संघमा आवद्ध खेलाडीहरु प्रतिस्पर्धाबाट बञ्चित हुने अवस्था आएको छ । नेपालमा राष्ट्रिय तेक्वान्दो संघ नेपाल र नेपाल तेक्वान्दो संघ छन् । यी दुइ संघका बीचमा विवाद रहेको छ । दुवैको अस्तित्व समान रहेकाले विवाद नमिलेसम्म दुवैलाई कुनै पनि छनौट प्रतियोगितामा सामेल नगराउन राखेपका सदस्य सचिव केशवकुमार विष्टले भनिसकेका छन् ।
विवाद मिलाउन राखेपका उपाध्यक्ष पितम्बर तिमिल्सिनाको संयोजकत्वमा समिति बनाइएको छ । त्यसले पनि प्रतिवेदन दिइसकेको छैन ।
यस्तो भइरहँदा बाँकेमा भने नेपाल तेक्वान्दो संघलाई मात्रै सामेल गराएर खेलाडी छनौट गरिएपछि राष्ट्रिय तेक्वान्दो संघ, नेपाल रूष्ट भएको हो ।
संघसँग आवद्ध पदाधिकारीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । संघका अध्यक्ष दलबहादुर विकले सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याललाई ज्ञापनपत्र दिदै दुवै संघको विवाद मिलाएर पुनः खेलाडी छनौट गर्न माग गरेका छन् । ज्ञापनपत्र बुझेपछि सहायक प्रजिअ अर्यालले यस सम्बन्धमा आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीको निर्देशनमा जिल्ला खेलकुद विकास समितिले एउटा संघलाई सामेल गराएर खेलाडी छनौट गरेको छ । जिल्लाबाट तेक्वान्दोका २२ जना खेलाडी छनौट हुनुपर्नेमा एउटा संघ सामेल नहुँदा १५ जनामात्रै खेलाडी छनौट गरिएको छ ।
पुनः छनौटको माग गर्दै आएको संघले तत्काल समस्या समाधान नभए आइतबार अदालतमा रिट दायर गर्ने तयारी गरेको छ । क्षेत्रीय अध्यक्ष वलीले सार्वजनिक रुपमा आव्हान गर्दा फाराम भरेका खेलाडी छनौट भएको बताए । नेपालगन्जलाई केन्द्र विन्दुमा राखेर आठौं राष्ट्रिय खेलकुद हने भएपछि यहाँका सबै उत्साहित र हर्षित भएको बेलामा एकथरी तेक्वान्दो प्रशिक्षकहरु आफ्ना खेलाडीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने भन्दै अड्डा, अदालत धाइरहेका छन् । संघका जिल्ला अध्यक्ष विकले आफ्ना मागहरु सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।