१३ सहकारीद्वारा ३० हजार क्विन्टल धान खरिद


१३ सहकारीद्वारा ३० हजार क्विन्टल धान खरिद

File Photo

नेपालगन्ज : बाँकेका १३ वटा सहकारीले सरकारले तोकेको मूल्यमा धान खरिद गरिरहेका छन् । किसानलाई फाइदा पुग्ने गरि सरकारले निर्धारण गरेको समर्थन मूल्यमा यहाँका सहकारीले धान खरिद गरिरहेको जिल्ला सहकारी संघ, बाँकेका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए ।

किसानलाई ब्यापारीबाट ठगिन नदिन सरकारले सहकारीलाई किसानको धान खरिदका लागि प्रोत्साहन गर्ने नीति लिएपछि जिल्लामा रहेका १३ सहकारीले समर्थन मूल्यमा धान खरिद गरिरहेको उनले बताए । उनका अनुसार बाँकेमा कात्तिक ५ गतेदेखि हालसम्म १३ वटा सहकारीले झण्डै ३० हजार क्विन्टल धान खरिद गरिसकेका छन् ।

सरकारले धान खरिद निर्देशिका जारी गरि सहकारीलाई किसानको धान खरिद गर्ने अनुमति दिएपछि समर्थन मूल्यमा धमाधम धान खरिद हुन थालेको हो ।

सरकारले पाँच हजार मेटिूक टन धान खरिद गर्ने सहकारीलाई प्रति क्विन्टल एक सय १२ रुपैँया अनुदान दिने र १८ प्रतिशत चिस्यान भएको धानमात्र खरिद गर्न निर्देशन दिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच, खाद्य संस्थान, नेपालगन्जले आगामी मंसिर ७ गतेबाट मात्र धान खरिद गर्ने जनाएकोछ । संस्थानका मुख्य शाखा प्रमुख निर्मल थापाका अनुसार यसवर्ष मोटा र मध्यम धान २०(२० हजार क्विन्टल खरिद गर्ने अनुमति पाएको जानकारी दिए ।

उनले बाँकेमा जिल्ला मूल्य निर्धारण समितिको सिफारिसमा मोटा धानको मूल्य प्रति क्विन्टल दुई हजार सात सय ३५ र मध्यम धान प्रति क्विन्टल दुई हजार आठ सय ८५ रुपैँया निर्धारण गरिएको जानकारी दिए ।

जिल्लामा सबै किसानले धान भित्र्याउन अझै बाँकी रहेकाले तिहार लगत्तै धान खरिद गर्ने निर्णय भएको खाद्य संस्थान बाँकेले जनाएकोछ ।

धान छिटो खरिद गर्दा धानमा चिसोपना हुने र धेरै समयसम्म भण्डारण गर्न समस्या हुने भएकोले ढिलोगरि धान खरिद गर्न लागेको संस्थानको दावी छ ।

‘छिटो धान खरिद(विक्रि गर्दा छिट्टै कोटा पूरा हुने र पछि गएर धानको मूल्य झनै घटेर किसान थप मर्कामा पर्ने समस्या आउन सक्छ,’ थापाले अगाडी थपे, ‘हामीले छिटोगरि समर्थन मूल्य निर्धारण गर्दा ब्यापारीलाई मूल्य बढाउन दवाव बढ्यो । यसलाई पनि सकारात्मक रुपमा लिनुपर्छ ।’