पैसाको चलखेलले लम्बियो जुवाडेको मुद्दा, प्रहरी प्रमुखलाई ५ र १० लाखको अफर


पैसाको चलखेलले लम्बियो जुवाडेको मुद्दा, प्रहरी प्रमुखलाई ५ र १० लाखको अफर

जुवाखालबाट बरामद रकम र तास । तस्विर : जिप्रका बाँके

नेपालगन्ज : पैसाको चलखेल भएपछि जुवाडेको मुद्दा लम्बिएकोछ । गत कार्तिक १३ गते २९ लाख नगद सहित पक्राउ परेका १० जना जुवाडेको मुद्दा लम्बिएको हो ।

जुवाडेले ‘दूत’हरु पठाएर प्रहरी र प्रशासनका प्रमुखलाई रकमको अफर गरेपछि जुवाडेको मुद्दा लम्बिएको हो । पक्राउ पर्नेमा वर्षभरी जुवा खेलाउदै आएका बाँके कचनापुरका तरुण गौतम, मुस्लिम अगुवा रहमान मियाँ, मेघाश्री गुट्खाका मालिक सन्तोष ओली लगायत १० जना रहेकाछन् ।

नेपालगन्ज बसपार्क नजिकबाट पक्राउ परेका हाईप्रोफाईलका १० जना जुवाडे जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेकाछन् । उनीहरुलाई गत बुधबार फेरि ७ दिनको म्याद थप गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाले जानकारी दिए ।

जुवाडेले केही आफ्ना मान्छे पठाई लुम्बिनी प्रदेशका डिआइजीलाई १० लाख र बाँकेका एसपीलाई ५ लाख अफर गरेपछि सो कुरा थाहा पाएर मङ्गलबार छोड्ने भनिएका ती जुवाडेहरुलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले थप ७ दिनको म्याद थपि हिरासतमा राख्न लगाएको स्रोतले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जुवाडेहरुले अफर गरेको पैसा डिआइजी र एसपीले नलग्ने भनि फर्काइदिएको स्रोतले जनायो । ‘करिब–करिब छोड्ने भन्ने कुरा भइसकेको थियो । पैसा बोकेर जुवाडेहरुले प्रहरी प्रमुखहरुलाई अफर गरेको भन्ने कुरा सिडिओ साबले थाहा पाएपछि उहाँ रिसाउनु भयो । अझै केही दिन राख्ने भन्दै म्याद थप गरेर मुद्दा लम्ब्याइदिनु भयो ।’ स्रोतले भन्यो ।

यता बुधबार छुट्ने भनि जुवाडेहरु खुशी भएका थिए । सिडिओ कुरुम्वाङ्ग रिसाएर मुद्दा लम्ब्याइदिएपछि जुवाडेहरु चुपचाप बस्न बाध्य भएकाछन् ।

प्रजिअ कुरुम्वाङ्ग र एसपी रानाले जतिसुकै पावर सेन्टर धाएपनि अपराधीलाई मिलाएर छोड्ने आफ्नो डायरीमा नभएको बताइरहेकाछन् । जुवाडेहरुले गृहमन्त्री तथा नेकपाका पावरफुल नेताहरु सम्म पनि पैसाको अफर पठाउदै धाउने काम जारी रहेकोछ । एसपी राना र सिडिओ कुरुम्वाङ्ग दुवैको सहकार्यमा गरिएको जुवा अपरेसनमा संलग्नहरुलाई कुनैपनि हालतमा नछोडिने उनीहरुले बताएकाछन् ।

जुवाडेहरुले जति चलखेल गर्यो उती मुद्दा लम्बिने र उनीहरुलाई हदैसम्मको जरिवाना र कारबाही जिल्ला प्रशासन कार्यालय बाँकेले गर्न खोजेको स्रोतले जनाएकोछ ।

सिडिओ कुरुम्वाङ्गले आउँदो मङ्गलबारसम्म जुवाडेलाई छोडिने आश्वासन दिएपनि तिहारसम्म हिरासतमै राख्न म्याद थप गरि मुद्दा लम्ब्याउन खोजेको बताइएकोछ ।