पप्पु सहित तीनवटा ठेकेदार कम्पनीमाथि कारवाही शुरु


पप्पु सहित तीनवटा ठेकेदार कम्पनीमाथि कारवाही शुरु

नेपालगन्ज : राष्ट्रिय गौरवको आयोजना मध्येको एक सिक्टा सिँचाइ आयोजनाका बिभिन्न काम प्याकेजमा ठेक्का लिएर सम्झौताअनुसार कार्य सम्पादन नगर्ने कम्पनी कारबाहीमा पर्ने भएका छन् ।

२५ अर्बको लागतमा २०६३ देखि निर्माणाधीन यो मुलुककै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । डेढ दशकमा निर्माण प्रगति करिब ७० प्रतिशत पुगेको छ ।

आयोजनाले शनिबार सूचना जारी गर्दै ठेक्का लिएका कम्पनीले आफ्नो व्यवसायिक ख्याति र सामाजिक प्रतिष्ठाको ख्याल नै नराखी लापरवाही गरेको उल्लेख गरेको छ ।

सात दिनभित्र सम्पर्कमा आउन आयोजनाले काठमाडौंका पप्पु कन्स्ट्रक्सन, बज्रगुरु कन्स्ट्रक्सन र वीरेन्द्रनगरको अमर–मजदूर जेभीलाई चेतावनी दिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

निर्माण कम्पनीहरूले सम्झौताको सर्तअनुसार काम नगरेको आयोजनाको सूचनामा जनाइएको छ । निर्धारित अवधिभित्र काम पूरा नगरे नेपाल सरकारको कारबाहीबाट हुने परिणामलाई ध्यानमा राख्न पनि कम्पनीहरूलाई भनिएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा पूरा गर्ने लक्ष्य रहेको आयोजना निर्माण कम्पनीहरूको ढिलासुस्तीकै कारण पूरा हुन नपाएको आरोप सरकारी अधिकारीहरूको छ ।

४५.२५ किमि लामो पश्चिमी र ५३ किमिको पूर्वी नहरले बाँकेका ४२ हजार हेक्टर जमिनमा सिंचाइका लागि आयोजना निर्माण अघि बढाइएको हो । अहिलेसम्म मूल नहरकै काम पूरा हुन सकेको छैन ।