सहकारीको धान खरिदमा लुट धन्दा

किसान ठगिदा सम्बन्धित निकाय मौन


किसान ठगिदा सम्बन्धित निकाय मौन

File Photo

बर्दिया : बर्दियामा सहकारीहरुले आफुखुसी धानको मूल्य निर्धारण गरी खरिद गर्दै आइरहेको खुलासा भएकोछ । सहकारीले आफूखुसी धानको मूल्य निर्धारण गरि खरिद गर्दा किसान ठगीएका छन् । यसरी सहकारीले मनोमानी रुपमा आफुखुसी मूल्य तोकेर धान खरिद गरिरहँदा बर्दियाका सम्बन्धित निकाय भने मौन देखिएको छ ।

अन्नको भण्डार भनेर पहिचान बनाएको बर्दियामा अन्न उत्पादनका अगुवानै ठगिएपछि यतिबेला बर्दियाका किसान सस्तोमा धान बेच्न बाध्य भएकाछन् । बर्दियाका सहकारी सस्थाहरुले आफुखुसी मूल्य कायम गरी धान खरिद गरेको खुलासा भएपछि उद्योग वाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समन्वय समितिको मधुवन नगरपालिकामा बसेको बैठकले किसानले उत्पादन गरेको धान बालिको सरकारको समर्थन मूल्य मोटाधान २ हजार ७ सय ३५ रुपैयाँ र मसिनो धान २ हजार ८ सय ८५ रुपैयाँ प्रति क्विन्टल खरिद गर्ने निति भएपनि बर्दियामा रहेका सहकारीले निर्धारण गरेको मूल्यमा धान खरिद गरिरहेकाछन् ।

धान खरिदका लागि सरकारले नियमावली बनाई खरिद गर्न निर्देशन गरे पनि बर्दियाका सहकारीहरुले धान खरिद नगरेको किसानको गुनासो छ । केहि सहकारीले आफ्नो मनोमानि तरिकाले छुट्टै दररेट कायम गरी सस्तोमा धान खरिद गरिरहेकोले किसान मर्कामा परेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

केहि सहकारीले २ हजार ४ सय ५० त केहिले २ हजार ५ सय २५ तथा २ हजार ४ सय ७० रुपैयाँमा प्रति क्विन्टल धान खरिद गरिरहेको पाइएपछि उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष एंव उद्योग वाणिज्य संघ जिल्ला समन्वय समितिका प्रवक्ता बालकृष्ण लामिछानेले बताए ।

बैठकले किसानालाई लुट्ने र विचौलियालाई पोस्ने काम नगर्न पनि आग्रह गरेको छ । सहकारीमार्फत धान खरिद गर्दा सरकारले प्रति क्विन्टल १ सय १२ रुपैयाँ अनुदान समेत उपलब्ध गराउँदा समेत सहकारीले समर्थन मूल्यमा धान खरिद नगरेको पाइएको संघले जनाएकोछ ।

सरकारद्वारा तोकिएको धानको समर्थन मूल्य यथाशिघ्र कार्यान्वयन गरि अनियमितता गर्ने सहकारीलाई कारबाही गर्न संघको माग रहेकोछ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने विदेशबाट आयत गर्ने खाद्य वस्तुमा आयत महसुल लागु गर्ने र राष्ट्रमा उत्पादित खाद्य वस्तुबाट अपुग हुने खाद्य वस्तु मात्र तथ्याङ्घको आधारमा कोटा निर्धारण गरेर मात्र आयत व्यवस्था मिलाउन समेत संघको बैठकले सम्वन्धित निकायलाई अनुरोध गरेको छ ।

किसानले समयमै मल नपाउनु र उत्पादनको पनि सहि मूल्य नपाएका कारण पीडित बनेका किसानहरुले स्थानीय तहदेखि जिल्ला प्रशासन कार्यालयसम्मको ढोका ढकढकाएका छन् । तर, उनीहरुले न्याय पाउन सकिरहेका छैनन् । बरु केहि स्थानीय तह र प्रशासनले धान अहिले नबेच्नु भन्दै किसानलाई रोकीराखेको राजापुरका किसान फिरुलाल थारुले बताए । किसानले अहिले धान नबेचेको खण्डमा तिहार कसरी मनाउने साथै घरमा राख्दा धानको वजन सुक्ने हुदाँ मर्कामा पर्ने उनले बताए ।

यता बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आफु समक्ष किसानको गुनासो आएपनि खाद्य संस्थानमै गएर धान बेच्न किसानलाई आग्रह गर्दै किसानको सुविधाको लागी संस्थानलाई केहि थप डिपो स्थापना गरी त्यहि धान खरिद गर्न आग्रह गरेको बताए ।