शनिबार, माघ ३, २०७७   ०६:१७:३९

केरा खेतीमा जम्दै गुलरियाका ‘कमरेड’


बर्दिया : पैसा कमाउनका लागी विदेशमा गएर भन्दा स्वदेशमै रहेर आफ्नो रगत र पसिना बगाउदा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बर्दिया गुलरियाका युवाहरुले गरेको केरा खेतीबाट पुष्टि हुन्छ ।

गुलरियाका ६ जना युवाको समुहले बाँझो जमिनलाई भाडामा लगि केरा खेती गर्दै आइरहेका छन् । जहाँ यतिबेला अन्य स्थानीयले समेत रोजगारी पाएका छन् । पैसा कमाउनका लागी विदेशको भर पर्नु भन्दा आप्mनो बाँझो खेतवारीमा कृषिकर्म गरि आर्थिकरुपमा बलियो बनाउन सकिन्छ ।

प्रति विघा ४० हजार रुपैयाँमा १६ विघा जमिन भाडामा लिएर व्यवसायीक केरा खेती गर्दै आइरहेका युवाहरुले अहिले विदेश गएर फर्किएका युवालाई रोजगार समेत दिन सफल भएका छन् । केराको माग बजारमा बढ्दै गएका कारण पनि युवाहरु यतिबेला केरा खेतीप्रति आकर्षित हुदै गएका हुन् ।

गुलरिया नगरपालिका वडा नम्बर–३ को खैरीगाउँमा केराखेती गरिहेका युवाहरुले राम्रो आम्दानि समेत गरेका छन् । सिजनमा राम्रो आम्दानी हुने भएपनि उनीहरुले उत्पादन गरेको केरा सिजन नभएको अवस्थामा पनि बिक्री भइरहेकोछ ।

भारतसंग सीमा जोडिएको बर्दिया जिल्लामा लकडाउनपुर्व भारतबाटै केरा आयात हुने गरेका कारण नेपालमा उत्पादन भएको केराको मूल्य किसानको उत्पादनको लागतलाई सन्तुष्टि दिन सकिरहेको थिएन् । तर, लकडाउनका कारण भारतबाट केरा आयात हुने छाडेपछि अहिले नेपालमा उत्पादन भएका केराले राम्रो बजार पाइरहेको छ । खुल्ला सीमानाका कारण केहि केरा नेपाल आउने भएका कारण किसानलाई केहि हदसम्म अप्ठेरोमा पारेको थियो । जसका कारण स्वदेशमा युवाहरुले उत्पादन गरेका फलफुल तरकारी लगायतका वस्तुले बजार पाएपनि मूल्य भने पाइरहेका थिएनन् । अहिले भने किसानले उत्पादन गरेका फलफुल तथा तरकारीले राम्रो बजार पाएपछि केरा खेतीमा लागेका किसानको मनोवल पनि बृद्धि हुदै गएको छ ।

युवाहरुले गरिरहेको केरा खेतीलाई स्थानीय, प्रदेश तथा संघीय सरकारबाट कुनै सहयोग भने भएको छैन । ब्यक्तिगत लगानिमा सुरु गरिएको केरा खेती यतिबेला फस्टाउदै गएको किसान गेहेन्द्र ढकाल बताउँछन् ।

गुलरियाका गेहेन्द्र ढकाल यसअघिको स्थानीय निर्वाचनमा तत्कालिन नेकपा माओबादीबाट गुलरिया नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । राजनीति त छदै छ तर, केरा खेती गरेर बेरोजगार बसेका युवाहरुलाई थप प्रेरणा उत्पन्न गराउन जरुरी छ उनी बताउँछन् ।

केरा स्वास्थ्यका लागि लाभदायक हुन्छ । केरामा भिटामिन ए, बि र सी जस्ता हाम्रो शरीरलाई चाहिने प्रशस्त पौष्टिक तत्व पाइन्छ । नेपालमा धेरैजसो तराई तथा भित्रि मधेशमा केरा खेती हुने गर्दछ । पछिल्लो समय व्यवसायिक केरा खेती एउटा गतिलो आम्दानिको स्रोत बन्ने गरेको छ ।

कम लागतमा तथा छोटो समयमा नै राम्रो आम्दानी तथा उत्पादन लिन सकिने भएकोले पनि यसको खेती दिनानुदिन बढ्दै गएको छ । आफ्नै खेतवारीमा रहको बाँझो खेतमा केरा खेती गरे वार्षिक लाखौ रुपैया आम्दानी गर्न सकिनुका साथै यसबाट आर्थिक स्तरमा समेत बृद्धि भई समाजका लागी उदाहरणीय बन्न सकिने ढकाल बताँउछन् । अन्य खेतीबाट भन्दा केरा खेतीबाट तीन देखि चार गुणा बढि फाइदा हुने भएकाले पछिल्लो पटक बर्दियामा केरा खेतीतर्फ किसानहरु आकर्षित भएको पाइएको छ ।
एक सर्वेक्षण अनुसार नेपालको केराले कुल मागको झण्डै एक तिहाई पुरा गरेको केरा खेती व्यवसायीहरुको अनुमान रहेको छ ।

ढकालको केराबारी । तस्विर : दीपक शर्मा /सेतोखरी

नेपालमा फस्टाउदै गएको केरा खेतीका लागी टिस्यु कल्चर प्रविधिबाट केराको विरुवा उत्पादन गरिन्छ । बर्दियाका किसानका लागी केराको विरुवा लिन अन्य जिल्ला जानुपर्ने अवस्था छैन । २०७० सालदेखि बर्दियामै टिसु कल्चर प्रविधिबाट केराको विरुवा उत्पाद गर्दै आइरेका गुलरिया नगरपालिका वडा नम्बर–४ का टोपलाल बिकले टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरेको केराको विरुवा बर्दियामात्र होइन अन्य जिल्लाबाट पनि माग हुने गरेको उनी बताउँछन् । विकको नर्सरीबाट प्रत्येक वर्ष १ लाख ५० हजार भन्दा बढि केराको विरुबा बर्दिया लगायत अन्य जिल्लामा खपत हुने गरेकोछ ।

केरा खेती गर्मी तथा ओसीलो हावापानी भएको उष्ण तथा उपोष्ण प्रदेशीय हावापानीमा फस्टाउँछ । १० देखि ४० सेल्सियस सम्मको तापक्रममा केरा खेती गर्न सकिने भएपनि २० देखि ३० सेल्सियसको तापक्रम केराखेतिको लागी अति उत्तम मानिन्छ । शितलहर चलेमा भने केरा पुर्ण रुपमा नष्ट हुने गर्दछ , त्यस्तै तुषारो पर्ने ठाँउ केरा खेतीका लागी उपयुक्त हुदैन ।

प्रशस्त वर्षा हुने ठाउँमा केरा खेती राम्रो भएपनि वार्षिक २ सय देखि ५ सय सेमि वर्षा हुने ठाउँमा पनि सिँचाई दिएर केरा खेती गर्न सकिन्छ । नेपालको तराई भित्रि मधेश देखि १ हजार २ सय मिटरसम्मको उचाइमा रहेका खोच बेसी क्षेत्रमा पनि व्यवासायिक रुपमा केरा खेती गरिदै आइएको ब्यवसायी बताउँछन् । तराई तथा भित्रि मधेशमा केरा खेती बढि हुने भएका कारण पनि पछिल्लो पटक केरा खेतीतर्फ किसानको आकर्षण बढदै गएको हो ।

केरा खेती व्यवसायिक रुपमा गर्दा स्थानीय युवाहरुलाई पनि रोजगारको सृजना हुने गर्दछ । लामो समय खाडी मुलकमा काम गरेर फकिर्एका युवाले केरा खेतीको रेखदेख तथा स्याहार सुसारका लागी काम गरिरहँदा आफु सन्तुष्टि भएको ढकाल बताउँछन् । विदेशमा गएर काम गर्नु भन्दा स्वदेशमा नै काम गर्न पाउँदा खुसी लागेको अनुभव मजदूर दीपक विकले सुनाए । उनका अनुसार विदेशमा गएर काम गर्नु भन्दा स्वदेशमै काम पाउँदा सहज हुने गरेको बताए ।

जिल्लामै ब्यवसायीक केरा खेतीमा लागेका युवाका लागि स्वदेशी उत्पादनलाई प्राथमिकता र उत्पादनकर्तालाई प्रोत्साहन गर्ने खालको कुनै योजना स्थानीय तहले बनाएको देखिदैन । युवाहरुले खुल्ला सीमनाका कारण देखिएको समस्यालाई समेत सामना गर्दै आइरहेको कुनै पनि स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिन जरुरी छ । साथै नगदे वालीमा रुपमा रहेको केरा खेतीको विस्तारका लागी सरकारले विशेष योजना ल्याउन पर्ने ब्यवसायी ढकाल बताउँछन् ।