सरकार भ्रष्टाचारमा लिप्त हुदाँ जनताको स्वास्थ्य सुरक्षा भएन : नेता बस्नेत


सरकार भ्रष्टाचारमा लिप्त हुदाँ जनताको स्वास्थ्य सुरक्षा भएन :  नेता बस्नेत

नेपालगन्ज : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्व सञ्चारमन्त्री मोहन बस्नेतले विषम परिस्थितिमा सरकारले जनताको स्वास्थ्यको सुरक्षा नगरिभ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाली काँग्रेस खेलकुद विभागद्वारा शुक्रबार नेपालगन्जमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा बस्नेतले जनताको म्यान्डेट पाएको सरकार भ्रष्टचारमा लिप्त हुदाँ मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताए ।

उनले ‘जनतालाई विकास र सम्बृद्धिको आशा जगाएको सरकार अहिले भ्रष्टचारमा उन्मुक्त भएको छ’ उनले अगाडी थपे –‘अर्को चुनावले यसको हिसाब किताब दिने छ ।’
केन्द्रिय नेता बस्नेतले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारि भूमिका नखेलेको भन्दै आक्रोस पोखे । लकडाउनका कारण ठूलो संख्यामा भित्रिएका नेपाली अहिले बेरोजगार भएर पुनः विदेश पस्नु सरकारको नालायकीपन भएको टिप्पणी गरे । ‘ज्यानको जोखिम मोलेर अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाहरु जिविकोपार्जनकै लागि दिनहुँ हजारौंको संख्यामा भारत गइरहेका सुन्दा मुलुकमा सरकार नभएको अनुभुति भएको छ’ उनले भने ।

दुई तिहाइको दम्भ देखाएर जनतालाई दुःख नदिन पनि उनले चेतावनी दिए । ‘परिस्थिति एकै हुँदैन उनले अगाडी थपे–‘जन्म कुण्डली हेरेर बस्न नपरोस् ।’ नागरिकको जीवन रक्षाका लागि सरकार उदांगो बनेको उनको आरोप छ । दैनिक हिंसा, हत्या र बलात्कारका घटना भइरहँदा समेत सरकार मौनतामा उभिएको उनको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital

काँग्रेस सदैब नागरिकको दुःखमा साथ दिने पार्टी भएको भन्दै कोरोना भाइरस महामारीकाबीच काँग्रेसले अहिले रगत अभावमा नागरिकहरुले ज्यान गुमाउन नपरोस् भनेर देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताए । पुर्व सञ्चारमन्त्री बस्नेतले खेलकुद क्षेत्रले देशको नाम संसारमा उचो राख्ने भएकाले खेलकुदमा लागेका युवाहरुलाई सरकारले उचित ब्यवस्थापन गर्नुपर्ने कुरामा पनि जोड दिए ।

यस्तै रक्तदान कार्यक्रममा नेपाली काँग्रेस बाँके सभापति किरण कोईरालाले सरकार खेलकुद क्षेत्रप्रति अनुदार रहेको भन्दै खेलकुदमा लाग्ने युवाहरुमा निरासा बेढेको बताए । महामारीको अवस्थामा पार्टी जिम्मेवार भएर जनताको जीवन सहज बनाउने तर्फ लागेकाले विरामी मानिसहरुलाई सहयोग होस भन्ने उदेश्यले पार्टीले रक्तदान कार्यक्रमको आह्वान गरेको सभापति कोईरालले बताए ।

नेपाल लोकतान्त्रिक खेलकुदका केन्द्रीय सदस्य शान्ति सिंहको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति किरण कोइराला, क्षेत्रीय सभापति रमेश गुप्तालगायतले आफ्ना बिचार राखेका थिए । क्षेत्रीय खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष नरेन्द्र थापाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सहजिकरण काँग्रेस युवा नेता भुम भण्डारीले गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर, डुडुवा गाउँपालिकाकी उपप्रमुख साहिदा बानो, नेपालगन्ज उपमहानगरपालिका वडा १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाह लगायत काँग्रेस नेता कार्यक्रताहरुको उपस्थिती रहेको थियो ।