राजालाई गद्दीमा बसालौं, धर्म र संस्कृती बचाऔं : डाक्टर राणा


राजालाई गद्दीमा बसालौं, धर्म र संस्कृती बचाऔं : डाक्टर राणा

नेपालगन्ज : राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एबम नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका डाक्टर धवलशम्सेर राणाले राजालाई गद्दीमा बसाए मात्र धर्म र संस्कृती बच्ने बताएकाछन् ।

वीर गोर्खाली र राष्ट्रवादीहरुको अभियानले राजसंस्थाको पुनःवहाली निश्चित भएको दावी गर्दै उनले देश र श्रीपेचको रक्षाकोे लागि राजसंस्था र हिन्दू राष्ट्र स्थापना अपरिहार्य रहेको बताए ।

हिन्दू राष्ट्र घोषणा र राजसंस्था पुनःस्थापनाको माग गर्दै शनिबार हिन्दू राष्ट्रबादीले नेपालगन्जमा गरेको मोटरसाइकल ¥यालीसहित प्रदर्शनको सभालाई सम्बोधन गर्दै डाक्टर राणाले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना भइछाड्ने दावी गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले वर्तमान सरकार र प्रतिपक्षका कारण राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने बताए ।

डाक्टर राणाले अगाडी भने, ‘नागरिकहरुको साथ र समर्थन बढेको छ । यसलाई शक्तिमा रुपान्तरण गरौं । नेपालमा राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना भएरै छाड्छ ।’ गणतन्त्र स्थापनापछि नेपालगन्जमा हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा भएको यो प्रदर्शन अहिलेसम्मकै ठूलो भएको नेपालगन्जबासीहरु बताउँछन् ।

केन्द्रीय कार्य सम्पादन समितिका सदस्य डाक्टर राणाले नेपाललाई हिन्दू राष्ट्र कायम भएरै छाड्ने दावी गर्दै त्यसको नेतृत्व राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । उनले भने– ‘नेपाललाई जसरी पनि हिन्दु धर्मसहितको राष्ट्र बनाउने पक्षमा म दृढ छु, यो मेरो संकल्प हो, सिंगो नेपाललाई हिन्दू राष्ट्रका पक्षमा जगाउने गरी राप्रपाले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्छ ।’

‘संसारमा ९७ वटा देश क्रिश्चियन छन्, ४७ वटा मुस्लिम देश र ११ वटा बुद्धिष्ट राष्ट्र तर हिन्दू राष्ट्र नेपाल किन नहुने’ डाक्टर राणाले यसो भन्दा प्रर्दशनमा उत्रिएका युवाहरुले हिन्दूराष्ट्रका पक्षमा नारा लगाएका थिए । उनले भने आज नेपालगन्जमा गरिएको प्रर्दशन सुरुवात हो यो अब कसैको शक्तिका अगाडी रुक्दैन राजालाई गद्दिमा बसाऔं, धर्म र संस्कृतीको रक्षा गरौं ।

डाक्टर राणाले नेपालमा मुस्लिम धर्मावलम्बि लामो समयदेखि बस्दै आएपनि वर्तमान सरकारको कार्यशैली र धर्मनिरपेक्षताका कारण हिन्दूसगैं मुस्लिमहरु पनि असुरक्षित भएको तर्क राखे । उनले हिन्दु र मुस्लिम एक भएर नेपाललाई हिन्दू राष्ट्र बनाउन मुस्लिमलाई आह्वान गरे । उनले नेपालगन्जको विरेन्द्र चोक र त्रिभुवन चोकमा राजाको मुर्ती छिट्टै राखिने भन्दै कसैले पनि रोक्न र छेक्न नसक्ने बताए ।

यस्तै समापन कार्यक्रमकमा बोल्दै शिव सेनाका किशोर लामाले संवैधानिक राजतन्त्र र हिन्दू राज्य हुँदा मात्रै मुलुकको विकास हुने बताए । उनले गणतन्त्रको नाममा नेताहरुले जनतालाई आश्वासनमात्रै दिएको आरोप लगाए । गणतन्त्रपछिका सरकारले भ्रष्टाचार र बेथिति बढाएको, संघीयता नेपालको लागि सुहाउँदो नभएकोे उनको भनाइ थियो । उनले मुलुकमा हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापना गराएरै छाड्ने उद्घोष गरे ।

विश्व हिन्दू महासंघ, शिव सेना लगायतको व्यवस्थापनमा हिन्दू राष्ट्रबादीको आयोजनामा भएको प्रदर्शनमा हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै नारा लगाइएको थियो । आयोजकले १० हजार नागरिकलाई प्रदर्शनमा उत्रार्ने दावी गरे पनि २५ हजार बढीको सहभागीता रहेको दावी गरेको छ । राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना स्थापनाका लागि देशव्यापी अभियानको तयारीस्वरुप आजको प्रदर्शन भएको जनाइएको छ ।

‘सोचेँभन्दा बढीको सहभागिता रह्यो, हामीले आह्वान मात्र गरेका हौँ, जनता स्वतस्फुर्त रूपमा सडकमा आए । अरू पार्टीका कार्यकर्ता पनि सहभागी भए,’ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले भने । यो सहभागिताले अहिलेको व्यवस्था फेल भएको पुष्टि गरेको उनको भनाइ छ । उनका अनुसार सरकार र राजनीतिक दलका गतिविधिप्रतिको वितृष्णाका कारण पनि जनसहभागिता सोँचेकोभन्दा बढी देखिन्थ्यो ।

‘गणतान्त्रिक व्यवस्था फेल भएको र जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढेको पुष्टि ¥यालीले गरेको छ,’ केन्द्रीय सदस्य देवकोटाले भने, ‘प्रदर्शनमा स्वतन्त्र नागरिक र अन्य पार्टीका साथीहरु पनि सहभागी हुनुभयो । भव्य र सभ्य तरिकाले कार्यक्रम सफल भयो । यसको आयोजक राष्ट्रवादी नागरिकहरु नै थिए । विश्व हिन्दू महासंघ र शिवसेना नेपालसहित राजतन्त्र र हिन्दू राज्य चाहने सबैको सद्भाव थियो । त्यसैले पनि प्रदर्शन भव्य र सभ्य भयो ।’

राजा, राजसंस्था र हिन्दू राज्य चाहने राष्ट्रवादी जनताको समर्थन र सद्भावको रूपमा हिन्दू राष्ट्र र राजसंस्थाप्रति आस्था राख्ने र अपरिहार्यता महसुस गर्ने सबै नागरिकहरुको सहभागीता रहेकाले हिन्दू राष्ट्र र राजसंस्था अबको आवश्यकता हो भन्ने सन्देश गएको देवकोटाले बताए । उनले प्रदर्शनमा सहभागी भई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेको भन्दै राष्ट्रवादी नागरिक, अन्य दलका नेता कार्यकर्ता, स्वतन्त्र नागरिक सबैलाई धन्यवादसमेत दिए ।

कोरोना भाइरस संक्रमणका बीच नेपालगन्जमा हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा निकालिएको प्रर्दशनले जनआन्दोलन २०६२/०६३ को झल्को दिएको थियो । हिन्दू राष्ट्रवादी समूहको आयोजनामा मोटरसाइकल ¥यालीसहितको प्रदर्शनमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थकको पनि सहभागी भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा हिन्दू राष्ट्र र राजसंस्थाप्रति आस्थावान्, हिन्दूवादी संघसंगठन, शुभेच्छुक र विभिन्न अन्य राजनीतिक दलमा आवद्ध नागरिकहरुको प्रदर्शनसहितको ¥याली बागेश्वरी मन्दिर पार्कबाट सुरु भई सुतेविक चोक, पुष्पलाल चोक, विरेन्द्र चोक, विपी चोक, गणेशमान चोक, चारबाहिनी, भेरी अस्पताल चोक, त्रिभूवन चोक, त्रिवेणी मोड, घरबारी टोल हुँदै विरेन्द्र चोकमा पुगेर समापन भएको थियो ।