आठौँ राष्ट्रिय खेलकूद चैत्र २३ देखि


आठौँ राष्ट्रिय खेलकूद चैत्र २३ देखि

नेपालगन्ज : प्रदेश पाँचमा हुने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी चैत २३ देखि ३० गते गर्ने गरी तयारी शुरु भएको खुलेको छ ।
चैत २३ गते उद्घाटन गर्ने गरी तालिका बनेको छ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) स्रोतले भन्यो ‘प्रतियोगिताको समापन चैत ३० गते हुनेछ ।
केही दिनभित्रै बस्ने बोर्ड बैठकले सोही विषयमा निर्णय गर्नेछ ।’ तर, प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता उद्घाटन हुने नेपालगन्ज रङ्गशाला निर्माण सम्पन्न गर्न केही समय लाग्ने तथा अन्य पूर्वाधारको काम पनि पूरा गर्न केही समय लाग्ने भएकाले प्रतियोगिताको मिति तोक्न गाह्रो भइरहेको सदस्इ सचिव सदस्य–सचिव केशवकुमार बिष्टले बताए । अधिकांश प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा पुगिसकेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) कार्यकारी समितिको बैठक पटकपटक बसे पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेको छैन । अघिल्लो महीना बसेको कार्यकारी बैठकले जिल्ला छनोट पूरा भइसकेकाले प्रदेश छनोट शुरु गर्ने निर्णय गरे पनि प्रतियोगिताको मिति घोषणा गर्न सकेको थिएन ।

अधिकांश प्रदेशमा खेलाडी छनोट अन्तिम चरणमा पुगेको र एक साताभित्र सबै प्रदेशमा खेलाडी छनोट भइसक्ने राखेपले जनाएको छ । गत मङ्सिर ८ गतेदेखि नेपालगन्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय भएको खेलकूद प्रतियोगिता पूर्वाधार निर्माणमा ढिलाइ भएको भन्दै तीन पटक मिति सरिसकेको छ ।

गत असोज महिनामा नुवाकोटको ककनीमा बसेको राखेपको सञ्चालक समितिको बैठकले मङ्सिरमा प्रतियोगिता आयोजना गर्न पूर्वाधार नबनेकाले माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय भएको थियो । माघमा पनि पूर्वाधार नबनेको भन्दै मिति सारिएको थियो ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समयमै हुन नसक्नु तथा र दशरथ रङ्गशाला लगायतका ठूला पूर्वाधार समयमै नबन्दा नेपालमै हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)समेत प्रभावित भइसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

राखेप सदस्य–सचिव केशवकुमार बिष्टले प्रतियोगिताका लागि बन्दैगरेका भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताउँदै आठौँ राष्ट्रिय खेलकूद चैतभित्रै समापन हुने दाबी गरेका छन् । उनले भने, ‘आठौँ राष्ट्रिय खेलकूदका लागि जिल्ला छनोट भइसकेको छ । भौतिक पूर्वाधार निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । सरकार, खेलकूद मन्त्रालय र राखेप आठौँ राष्ट्रिय खेलकूद गर्नेमा प्रतिबद्ध छ ।’ उनले अघिल्ला प्रतियोगितामा समयमै बजेट नआउने र हतारमा जसरी पनि काम सिध्याउने मानसिकताले काम गरेको भए पनि यसपटक त्यसो नभएको बताए ।

देश सङ्घीय संरचनामा गइसकेकाले र पहिलो पटक गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एउटा टोली पनि समावेश गर्ने भएपछि राष्ट्रिय खेलकूद पनि त्यहीअनुसार गर्दा टोली संख्या बढेर ११ पुगेको छ । आठौंँ राष्ट्रिय खेलकूदका लागि प्रदेश २ र ३ बाट लनटेनिस र कबड्डी टोलीको छनोट पूरा भएको छ ।

राखेप प्रदेश नं ३ का अनुसार लनटेनिसमा पुरुषमा पाँच र महिलामा तीन खेलाडी छनोट भएका छन् । पुरुषमा भक्तपुरका कृष्णगोविन्द कासुला, काठमाडौँका शिवराम राना मगर, ललितपुरका निशान श्रेष्ठ र इभेक जोशी तथा मकवानपुरका कुमार जिसी छनोट भएका छन् । महिलामा ललितपुरकी प्रकृति श्रेष्ठ र रायना शाह र काठमाडौँकी अल्सा रेग्मी छानिएका छन् । त्यसैगरी आठौँ राष्ट्रिय खेलकूदमा प्रदेश नं २ बाट सहभागी हुने पुरुष–महिला कबड्डी टोली छनोट भएका छन् ।

राखेपका अनुसार पुरुषमा धनुषाका नवल राउत, कल्याण भुजेल, रोहित यादव, विजय यादव र धनवीर मण्डल, सप्तरीका वायु चौधरी र महेश मण्डल, महोत्तरीका आलम मन्सुर, रौतहटका दिलीप चौधरी, बाराका अमित पाठक र राम रुवरुप तथा पर्साका गोविन्द खड्का रहेका छन् । महिलामा धनुषाकी रेनु महतो, ऋचा सिंह र दिव्या साह, सप्तरीकी सरस्वती चौधरी, महोत्तरीकी अनु सुम्लिङ, सर्लाहरीकी सुस्मिता कार्की, रौतहटकी रुपा चौधरी, बाराका गङ्गा घिमिरे र प्रियङ्का यादव तथा पर्साकी श्रुती गौरे छनोट भएका छन् ।